आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित फर्निचरसम्वन्धी मेला भृकुटीमण्डपमा सुरु

Advertisement

काठमाडौं । फर्निचर तथा फर्निसिङसम्बन्धी मेला ‘फर्नेक्स नेपाल २०२२’ राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आज बिहीबारदेखि सुरु भएको छ । फर्निचरसम्वन्धी मेलाको यो आठौं संस्करण हो । 

पाँच दिनसम्म चल्ने यो मेला नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भएको हो । मेलाले फर्निचर तथा फर्निसिङका सामानको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने आयोजकको आशा छ । 

Advertisement

यस पटकको मेला करिब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । एक सयभन्दा बढी प्रदर्शनीकक्ष (स्टल) रहेको मेलाको अवलोकनका लागि प्रवेश निःशुल्क गरिएको छ । 

मेलामा भान्सा, बिश्राम कक्ष, शौचालयका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्र्रेक्स, सजावटका सामग्री, अफिस फर्निचर राखिएको छ । आजको उदघाटन कार्यक्रममा आयोजकहरुले फर्निचर उद्योगले नेपालमा उत्पादित काठ कच्चा पदार्थकोरुपमा प्राप्त गर्न नसकेको गुनासो गरेका थिए । 

वन विभागले समय समयमा गर्ने काठको लिलामीमा फर्निचर उद्यमीहरुलाई पनि सहभागी गराउनुपर्ने बताउँदै उनीहरुले त्यसो नगर्दा आफूहरु बाध्य भएर विचौलियासँग महंगोमा काम किन्नुपर्ने बाध्यता रहेको गुनासो गरे । 

फर्निचर संघका वरिष्ठ उपाध्यक्ष दिनेश अग्रवालले वार्षिक ६० अर्ब रुपियाँको आर्थिक कारोबार गर्दै आएको फर्निचर तथा फर्निसिङ व्यवसायले डेढ लाख मानिसलाई रोजगारी दिएको बताउँदै सरकारले यस्तो व्यवसायलाई प्रोत्साहन नगरेको बताए । 

मेला संयोजक ओमबहादुर बस्नेतले स्वदेशी फर्निचर तथा फर्निसिङ उद्योगलाई प्रोत्साहित गर्ने किसिमको वन नीति ल्याउनुपर्ने बताए । संघका संस्थापक अध्यक्ष सुरेन्द्रकुमार शारदाले नेपालमा पनि अर्बौंको लगानीमा प्लास्टिकका फर्निचर उद्योग र कार्पेटका उद्योगहरु खुलेर गुणस्तरीय सामान उत्पादन भइराखेको बताए । 

उनले सरकारले नेपाली उद्योगलाई सहुलियत र सुविधा दिएको खण्डमा आत्मनिर्भर भई निर्यातलाई बढावा दिन सकिने बताए । 

Advertisement

Advertisement