मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको हो ? अर्थतन्त्रका जानकारहरु यसो भन्छन्

Advertisement

काठमाडौँ । गत शनिबार यस्तो संयोग परेको थियो कि, अर्थमन्त्री, गर्भनर, डेपुटी गभर्नर र प्रतिष्ठित बैंकरले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको अभिव्यक्ति दिए । 

अर्को संयोग यस्तो पनि परेको थियो कि, यी व्यक्तित्वहरुले आर्थिक पत्रकारहरुले आयोजना गरेको कार्यक्रममा उक्त अभिव्यक्ति दिएका थिए । 

Advertisement

यता काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारण सभा थियो भने उता नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकको सहयोगमा नगरकोटमा आर्थिक पत्रकारहरुको लागि तालिम कार्यक्रम आयोजना गरेको थियो । 

सेजनको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी तथा उता नाफिजको कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्र तथा नबिल बैंकका अध्यक्ष बैंकर उपेन्द्र पौड्यालले सहभागिता जनाएका थिए । 

उक्त दिनको कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको दाबी गरिरहँदा गभर्नर अधिकारीले अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका थिए । 

अर्थमन्त्री शर्माले उक्त कार्यक्रममा भनेका थिए– नेपाल श्रीलंका नै हुन्छ, नेपालको अर्थतन्त्र समाप्तनै हुन्छ भनेर ठूला ठूला आवाज उठिरहेका बेला सरकारले आवश्यक नीति लिएर त्यसलाई बिग्रन दिएन ।’  

त्यसैगरी गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रमा थप सहजता महशुस गरिरहेको उल्लेख गरे । तर त्यो सहजतामा त्यत्तिकै सजकता अपनाउनु पर्नेमा उनको जोड थियो । 

उता डेपुटी गभर्नर मिश्रले बालेनले जसरी राष्ट्र बैंक एक्सनमा उत्रिन नसक्ने बताउँदै थिए । पोलिसी मेकर हुन गाह्रो छ, यसरी भन्दा केन्द्रीय बैंकले बढो सुझबुझका साथ अघि बढ्नु पर्ने हुन्छ । मुलुकको अर्थतन्त्रलाई सहज अवस्थामा लाने हो भने विदेशी मुद्रा बचाउनु र बढाउनु पर्दछ । यो कुरा जनतालाई समेत बुझाउनु पर्ने मिश्रको तर्क थियो । 

बैंकर पौड्याल पनि ढुक्कका साथ भनिरहेका थिए कि श्रीलंका र हाम्रो परिस्थिति धेरै फरक छ, नेपाल श्रीलंकाको अवस्थामा पुग्ने अवस्थामा छैन । 

यही अवस्थाका बीच तरलता अभावको समस्या झेलिरहेको बैंकिङ क्षेत्रमा निक्षेप बढेको तथ्याङ्क आएको छ । गत साता वाणिज्य बैंकहरुमा ११ अर्ब निक्षेप थपिएको छ भने १ अर्बले लगानी बढेको नेपाल बैंकर्स संघले तथ्याङ्क सार्वजनिक गरेको छ । 

विदेशी मुद्रा सञ्चितीलाई जोगाउन सरकारले महंगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धको समय असोज २८ गतेसम्म लम्ब्याएको छ । भदौ १४ गतेसम्म कायम गरेको प्रतिबन्धको समय लम्ब्याएको छ । 

राष्ट्र बैंकले साउन ३१ प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिबेदनमा विदेशी बिनिमय सञ्चिति बढेर ७.८ महिनाको वस्तु तथा आयात धान्न सक्ने अवस्था रहेको देखिन्छ ।  

फेरि पनि अलिकति सहज भयो भन्दैमा आयात बढाउन थाल्यौं भने त्यही प्रेसर दोहोरिंदैन भन्ने छैन । पर्यटकहरु गतवर्ष भन्दा दोब्बर आएका छन्, केही वस्तुहरुको निर्यात बढेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सकियो भने भोलिका दिनमा समेत अर्थतन्त्र अझ बढी सहज बन्दै जाने विश्वास लिन सकिन्छ । 
 

Advertisement

Advertisement