काठमाडौं महानगरपालिकाले नक्सा पासबिना बनाइएका पर्खालहरु पनि अब भत्काउने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्डविपरीत बनाइएका पर्खालहरु पनि भत्काउने तयारी गरेको छ । 

महानगरपालिकाले बिहीबार यस्ता अनधिकृत पर्खालहरु हटाउन ३५ दिने सूचना निकालेको छ । सुचनाअनुसार नगर क्षेत्रभित्र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डले तोकेबमोजिम घरजग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा पास भएपछि सो नक्साबमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्नेमा नभएको पाइएको छ । 

Advertisement

नयाँ मेयर बालेन शाह आएपछि नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने कामलाई तीब्रता दिएको काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भवन निर्माणसम्बन्धी प्रचलित मापदण्डअनुकूल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित गर्ने प्रयोजनार्थ नक्सा पेस गर्न तथा ३५ दिनभित्र प्रचलित भवन निर्माण मापदण्ड विपरीत बनाइएका सीमा पर्खाल हटाउन सूचित गरिन्छ ।’

दिएको समयभित्र सीमा पर्खाल व्यवस्थित नगरे मापदण्ड विपरीतका पर्खाल महानगर आफैंले हटाउने र हटाउन लाग्‍ने सम्पूर्ण खर्च घर जग्गा धनीबाटै असुल उपर गर्ने बताएको छ । 
 

Advertisement

Advertisement