रिलिज हुन लागेको ‘ऐना झ्यालको पुतली’लाई सिनेमा हलहरुले शो नदिएकोमा आपत्ति

Advertisement

काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ टिमले फिल्मलाई सिनेमा हलहरुले शो नदिएको भन्दै आपत्ति जनाइएको छ । 

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म टिमले आपत्ति जनाएको हो । कार्यक्रममा फिल्म निर्देशक तथा निर्माता सुजित बिडारीले भोलिदेखि रिलिज हुने आफ्नो फिल्मको प्रदर्शन समय नै थाहा नभएको बताए । फिल्म क्षेत्रमा भइरहेको पछिल्लो अवस्थाबारे आफूले केही पत्ता नपाएको उनले बताए । 

Advertisement

बिडारीले भने, ‘मैले फिल्म बनाए पनि फिल्म देशाउनेहरुले हेलचक्राई गर्दा हाम्रो औचित्यमाथि प्रश्नचिन्ह खडा भयो कि । हामीले समाज र परिवारको कुरा गर्छौ । त्यो कुराप्रति संवेदनशीलहिनता हो यो । यो त अति नै चित्त दुख्ने कुरा हो । यहाँ सबैको अधिकार छ ।’

फिल्म प्रदर्शन व्यापार हो भन्दै उनले सित्तैमा शो देखाउन सिनेमा हललाई नभनेको स्पष्ट पारे । बिडारीले आफ्नो फिल्मको शो कुन–कुन हलमा छ भनेर दर्शकले हेर्न चाहे त्यसबारे आफूले जवाफ दिन नसकेको गुनासो पोखे ।  

फिल्म शोको समयबारे प्रश्न सोध्ने ठाउँ कहाँ हो ? त्यसबारे पनि आफूलाई केही थाहा नभएको भन्दै बिडारीले भने, ‘चलचित्र विकास बोर्डमा गएर सोध्दा एउटा निवेदन लिएर आउनुस्, निवेदन आएपछि रिलिज हुन्छ भनेर जवाफ दिनुभयो । क्विक एक्सन केही हुनुपथ्र्यो होला ।’ 

निर्माता आकाश पौडेलले फिल्म भोलि रिलिज हुने भने पनि प्रदर्शनको समय अहिलेसम्म थाहा नभएको बताए । उनले भने, ‘साथीभाईहरुले शोको समय सोधे पनि हामीसँग कुनै जवाफ छैन् ।’ ६० वर्षअघि नेपाली फिल्मको सुरुवात भए पनि उद्योगको अवस्था जहाँको त्यही रहेको पौडेलको भनाइ थियो । फिल्म धेरै दुःख गरेर निर्माण गरेको उल्लेख गर्दै उनले यस्तै समस्याले चलचित्र उद्योगको अवस्था झन् खस्कने टिप्पणी गरे । 

फिल्म निर्माता प्रविन स्याङ्बोले फिल्म उद्योगले क्षेत्रका सबै व्यक्तिहरुलाई राखेर खुल्ला छलफल गर्नुपर्ने बेला आएको बताए । उनले भने, ‘हामी निर्माताहरुले लिने रोडम्याप के हो ? त्यसबारेमा स्पष्ट हुनुपर्यो, यसबारे अहिल्यै जानकारी पाए अर्को फिल्म निर्माणमा सहयोग हन्छ ।’ 

कास्टिङ निर्देशक केदार श्रेष्ठले फिल्मलाई कम्तिमा पनि एक सिनेमा हलमा एक शो मात्र भए पनि दिनुपर्ने बताए । अहिले आफूहरुले भोगेको समस्या एउटा फिल्मको मात्र नभएर समग्र फिल्म क्षेत्रको हिसाबले बुझ्न पर्ने उनको भनाई थियो । श्रेष्ठले ‘ऐना झ्यालको पुतली’ नेपाली चलचित्र क्षेत्रले गर्व गर्न सक्ने बनाएको समेत दाबी गरे । 

यसैगरी, अर्का निर्माता रामकृष्ण पोखरेलले सबै फिल्मलाई हलहरुले प्रदर्शन गर्ने मौका दिनुपर्ने बताए । उनले सिनेमा हलहरुले राम्रो फिल्मलाई सहयोग नै नगर्ने आरोप लगाए । पोखरेलले भने, ‘यो फिल्ममा कलाकार नै ठूलो छैनन् भन्ने, कहिले के भन्ने गर्छन् । नयाँ निर्माताहरुलाई स्पेश नै दिँदैनन् ।’
 

Advertisement

Advertisement