क्रिकेट खेल्न विदेश गएका सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

Advertisement

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीले अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको छ । 

जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । क्रिकेट खेल्न विदेश गएका उनीविरुद्ध मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । 

Advertisement

त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेकोमा आज अदालतबाट पक्राउ पुर्जी लिइएको हो । लामिछानेले भने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लसँगको टेलिफोन कुराकानीमा आफू निर्दोष भएको र सीपीएल सकिनेबित्तिकै वेस्ट इन्डिजबाट फर्किने बताएको समाचार छ । 

लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते केन्या गएका थिए । क्रिकेट टोलीका अरु नेपाल फर्किए पनि उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गएको क्यानले जनाएको छ । 

प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । 

Advertisement

Advertisement