बाढी पीडितका लागि त्रिपाल, खाद्यान्न र कम्बल लिएर पुगे मन्त्री बडू

Advertisement

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले दार्चुलाका बाढीपीडितका लागि तत्काल राहत उद्धार कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् । 

शनिवार गृहजिल्ला दार्चुला पुगेका मन्त्री बडूले शुक्रवार राति भएको बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पहिलो चरणमा राहतको कार्यक्रम ल्याइने बताए ।    
     
मन्त्री बडूले महाकाली नगरपालिका वडा नं ४ को बङ्गाबगड क्षेत्रको बाढी क्षेत्रको निरीक्षण गरेका थिए । उनले निरीक्षणका क्रममा अहिलेलाई अस्थायी बसोबास प्रबन्ध गरिने बताउँदै तत्कालै अन्य प्रक्रिया अघि बढाइने बताए । बडूसहितको टोली बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बललगायत राहत सामग्री लिएर दार्चुला पुगेको थियो ।          
     
अविरल वर्षापछिको बाढी र पहिरामा परेर पाँच जनाले ज्यान गुमाएका छन् भने १० जना बेपत्ता छन् । बाढीपहिरामा परी आठ जना घाइते भएका छन् । लास्कु खोला र महाकाली नदीमा आएको बाढी र नौगाडमा आएको पहिरामा परी मृत्यु भएकाको उद्धारमा कुनै कसुर बाँकी नराख्नसमेत मन्त्री बडूले निरीक्षणका क्रममा निर्देशन दिए ।     
     
लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीमा व्यवसाय गर्दै आएका धनसिंह कार्कीको सपरिवार बाढीमा परेको हो । गत वर्षसमेत बाढीले पसलमा क्षति गरेका कार्कीको परिवारलाई यो वर्ष पूरै सखाप गर्यो । अहिलेसम्म घटनामा परी धनसिंहकी श्रीमती मानमति कार्कीको शव महाकाली नगरपालिका–५ नजिकै मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए ।     
     
परिवारका धनसिंह, उनका छोराद्वय दीपक र दिनेश अझै बेपत्ता छन् । बाढीपहिरोमा परी महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहराको घरभित्रै पुरिएर मृत्यु भएको उनले बताए । घरपरिवारका अरु भागेर ज्यान जोगाए पनि बोहरा भने घरभित्रै पुरिएका हुन् ।     
     
पहिरोमा परी नौगाड गाउँपालिका–१ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नं २ का ६८ वर्षीय मोहनराम पार्कीको मृत्यु भएको छ । घटनामा परी महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, वडा नं ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नं २ का मानमति शाहु, वडा १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।     
     
यस्तै महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोबाट घाइते भएकाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको एयर एम्बुलेन्समार्फत पहिरोमा परी गम्भीर घाइते भएकाको जिल्ला अस्पताल दार्चुलामा उद्धार गरिएको हो ।     
     
सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका ४५ वर्षीय वीरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देवसिंह ठगुन्नालाई उद्धार जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए ।     
     
यस्तै महाकाली नगरपालिका–२ का हरकसिंह बाहु, वडा नं ४ का अभिषेक कामी र गीता कामीको उद्धार गरिएको छ । घाइते आठै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । नेपाली सेनाकै हेलिकप्टरले दुवै स्थानीय तहका बाढी र पहिरो प्रभावितका लागि राहत सामग्रीसमेत ढुवानी गरिएको छ । उनीहरुलाई स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राहत वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महाकाली नगरभित्र सबै सुरक्षाकर्मी परिचालन गरेर तत्कालै राहत उद्धारको कार्य भइरहेको बताए ।     
     
एक सय परिवार प्रभावित      
बाढी र पहिरोले दार्चुलाका दुई स्थानीय तहका झण्डै एक सय परिवार प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परी ४२ घर पूर्ण क्षति, नौ घर आंशिक क्षति र ४० घर जोखिममा रहेका छन् । प्रहरी परिचालन गरी सङ्कलन गरिएको तथ्याङ्कअनुसार महाकाली नगरपालिकामा धेरै क्षति पुगेको छ । नगरपालिकाको वडा नं १, २, ३ र ४ का बङ्गाबगडसम्मका घर क्षति पुर्याएको हो । नौगाड गाउँपालिकाको वडा नं १ मा पहिराले क्षति पुर्याएको छ ।     
     
“राति ११ बजेदेखि खोलामा पानी बढेको थियो”, स्थानीय मङ्गलसिंह ठगुन्नाले भने, “विस्तारै १ बजेदेखि कटान सुरु गरेको हो ।” उनले लास्कु खोलामा बाढी आएपछि नदीको दायाँबायाँका बस्ती बगाउन थालेको बताए । लास्कु खोला बढेसँगै महाकाली नदीमा समेत पानीको बहाव उच्च हुन पुगेको जनाइएको । महाकाली नदी थुनिने अवस्था आएपछि महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको तटबन्धमाथि महाकाली पसेको जनाइएको छ । सोही नदीले बङ्गाबगडका बस्ती बगाउन थालेको ठगुन्नाको भनाइ छ ।     
     
दुहुँ–खलङ्गा सम्बन्धविच्छेद     
महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्यास जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुला–तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभिरसम्म सडक अवरुद्ध भएको हो । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ ।     
     
लास्कु खोलामा निर्माण गरिएको मोटरेवल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन । महाकाली नगरपालिका–४ बङ्गाबगड हुँदै वडा नं १ छापरी जाने पुल बगाएको छ । बाढी, पहिरोमा दुई वटा विद्यालय भत्किएको छ । महाकाली नगरपालिकाभित्रका भुवनेश्वरी आधारभूत विद्यालय पण्डोरा र दशरथनगर आधारभूत विद्यालय बङ्गाबगडको विद्यालय भवन क्षति पु¥याएको छ । यस्तै डुङ्गरीस्थित दार्चुला बहुमुखी क्याम्पसको आवास गृह जोखिममा रहेको प्रहरीले जनाएको छ ।     
     
दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जीप महाकालीले बगाएको छ । जसमा छ वटा बोलेर जीप, एक ट्र्याक्टर, ग्वालेक निर्माण सेवाको क्रसर मेसिन एक र जेसेभी एक बगाएको छ । दुवै स्थानीय तहका गरी दुई सय ६३ वटा पशु चौपाया मरेका छन् ।  

Advertisement

Advertisement

Advertisement