म्यादी प्रहरीका लागि दरखास्त आव्हान, एक लाख १५ हजारले ४० दिन काम गर्न पाउने
File Photo

Advertisement

काठमाडौं । सरकारले आउँदो मंसिर ४ गते हुने संसदीय निर्वाचनको सुरक्षाको लागि भन्दै एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आइतबार प्रकाशित गरेको सुचनाअनुसार आउँदो भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेकाले दरखास्त दिन सक्नेछन् । 

नेपाल प्रहरीले ४० दिन काम गर्न म्यादी प्रहरी भर्ना गर्न लागेको हो । तोकिएको दिनभित्र बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन सुचनामा आग्रह गरिएको छ । दरखास्त आवेदन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसर र देशभरका जिल्ला प्रहरी कार्यालयबाट दिन सकिने छ ।

Advertisement

म्यादी प्रहरी हुन चाहनेहरु नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको हुनुपर्ने, राजनीतिक दलको सदस्यता नलिएको हुनुपर्ने, शारीरिक तथा मानसिक रूपले स्वस्थ हुनुपर्ने, आतंककारी संगठनको सदस्य नरहेको हुनुपर्ने, आँखाको हेर्ने क्षमता माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको हुनुपर्ने, पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाई हुनुपर्ने, गर्भवती नभएका तथा नरहेकाले आवेदन दिन सक्ने शर्त रहेका छन् । 

यसअघिको स्थानीय निर्वाचन तथा त्यसअघिको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भई सन्तोषजनक काम गरेका, सेना, प्रहरी र सशस्त्र प्रहरीबाट अवकाश पाएर निस्किएका पूर्व सुरक्षाकर्मीहरू, पूर्ववन रक्षक, विदेशी सुरक्षा निकायमा काम गरेको अनुभव भएकालाई छनौटको प्राथमिकतामा राखिएको छ । 

Advertisement

Advertisement