भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

Advertisement

भोजपुर । यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो ।     
     
यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिए ।     
     
पशुको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । किसानका गोठमा पुगेर गर्नुपर्ने अवस्थामा भने सामान्य यातायात खर्च लाग्ने कृषि शाखाले जनाएको छ । जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै वर्षदेखि कृत्रिम गर्भाधान सेवा सञ्चालन गरिने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालयका प्रमुख सुन्दरलाल यादवले जानकारी दिए ।     
     
तरल नाइट्रोजन एक सय ९६ डिग्री सेल्सियसको चिसोपनमा राँगा र साँढेको शुक्राणुलाई लामो समयसम्म सुरक्षित राख्ने गरिन्छ । गाई–भैँसीमा कृत्रिम गर्भाधान गराउँदा उत्पादन वृद्धि तथा विकास हुने जनाइएको छ । यसबाट उन्नत जातका पशु उत्पादन हुने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा, भोजपुरका प्रमुख हिमालयन पोखरेलले बताए । 

Advertisement

Advertisement

Advertisement