प्रतिस्पर्धात्मक क्षमताको अभाव, भ्रष्टाचार, प्रविधिमैत्री नहुँदा साल्ट ट्रेडिङको नाफा घट्दो

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण रेग्मीले पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा गर्न नसकेकोमा प्रश्न गरेका छन्  । 

सोमवार कम्पनीको ६०औं वार्षिकोत्सवमा उनले साल्ट ट्रेडिङले लगानी गरेका कतीपय उद्योगहरु बन्द भएको स्मरण गराउँदै संस्थाको व्यवसायीको कमजोरीका कारण पनि आफ्नो व्यवसायलाई बिस्तार गर्न नसकेको कमजोरी औंल्याए । 

Advertisement

रेग्मीले कम्पनीको प्रतिस्पर्धात्मक क्षमतामाथि प्रश्न उठाउँदै व्यवसायलाई थप आधुनिकीकरण तथा सूचना प्रविधिसँग जोड्दै सकारात्मक चिन्तन बोकेर अगाडी बढ्न आवश्यक रहेको पनि बताए । उनले आगामी दिनमा संस्थागत लक्ष्य प्राप्तिका लागि जुट्न कर्मचारीहरुलाई निर्देशन पनि दिए ।

सहसचिव रेग्मीले संस्थालाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि भने सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले कर्मचारीको हकहीतको विषयमा उठाएका कतिपय आवश्यक मागहरु संस्थाको संस्थागत क्षमता विकास र बिस्तारको लागि सहयोग गर्न तयार रहेका पनि बताए । 

रेग्मीले भने, ‘केही वर्ष यता हेर्दा हामीले अपेक्षित रुपमा लाभांश लिन नसकेको स्थिति छ । विगत केही वर्षदेखि हाम्रो प्रोफिक्ट घट्दो छ । कतिपय हामीले लगानीहरु गरेको उद्योग बन्द अवस्थामा छन् । कतिपय हाम्रो आफ्नै व्यवहारहरुको कमजोरीका कारण पनि व्यवसायलाई बिस्तार गर्न सकेका छैनौँ । बजार प्रतिष्पर्धी बनेको छ । हामी जस्तै अन्य निजी क्षेत्रका संस्थाहरु हाम्रो स्वामित्वमा प्रतिष्पर्धात्मक प्रश्न चिन्ह खडा भएको छ । यो हिसावले पनि हामीले आफूलाई प्रतिष्पर्धी बनाउनुको विकल्प छैन । उच्च मनोबलयुक्त भएमात्रै हामी प्रतिष्पर्धी बन्नसक्छौँ ।’

वार्षिकोत्सवको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशनले एसटीसी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको जानकारी गराएको छ । दाल, चामल, नुन, चिनी, तेललगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरी तेल उत्पादन गर्ने बताएको हो । 

कम्पनीले हेटौँडामा रहेका नेपाल वनस्पति उद्योग सञ्चालन गरी एसटीसी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको हो । उपोभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन चितवनलगायत तराईका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको जनाएको हो ।

कम्पनीको व्यवसाय ठूलो भए पनि भित्र संगठितरुपमा ठूलो भ्रष्टाचार हुने, एउटै व्यक्ति बर्षौंसम्म सञ्चालक र सीईओ भएर भ्रष्टाचारमा लिप्त हुने, छानविन गर्ने निकायहरुलाई आर्थिक प्रलोभनमा प्रभावित पार्ने काम हुँदै आएको स्वयम कम्पनीका कर्मचारीहरुले बताउँदै आएका छन् । 

Advertisement

Advertisement