डा. केसीको २०औं सत्याग्रह धनगढीमा सुरु, ‘देउवासहित शीर्ष नेता माफियाको जालोमा परे’

Advertisement

धनगढी । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो २०औं सत्याग्रह धनगढीको कृष्णमन्दिरस्थित धर्मशालामा सुरु गरेका छन् । 

सरकारले चिकित्सा क्षेत्र सुधारका मागप्रति बेवास्ता गरेर पटक–पटक धोका दिएको भन्दै उनले आमरण अनसन सुरु गरेका हुन् । केसीले भनेका छन्, ‘प्रधानमन्त्री देउवाले पटक–पटक आश्वासन मात्र दिए । तर मागप्रति ध्यान नदिएकाले सत्याग्रह सुरु गरेको छु ।’

Advertisement

अनसन सुरु गर्नुअघि उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए । केसीले सरकार र शीर्ष नेता सबै माफियाको जालोमा भएकाले मागप्रति बेवास्ता गर्दै आइरहेको आरोप लगाएका थिए । 

उनले गत भदौ १२ गतेदेखि नै सत्याग्रह सुरु गर्ने बताएका थिए । तर सरकारी पक्षले केसी समय मागेपछि केसीले तीन साताका लागि सत्याग्रह रोकेका थिए । यो तीन हप्तामा सरकारी पक्षबाट सामान्य संवादसमेत नगरेको भन्दै डा. केसीले प्रधानमन्त्रीको गृहजिल्ला नजिक अनशन बस्दा केही बढी दबाब पुग्छ भनेर धनगढी आएको बताएका छन् । 

प्रधानमन्त्री देउवाले पटक–पटक आश्वासन दिए पनि मागप्रति सामान्य चासोसमेत नदिएकाले सत्याग्रह सुरु गर्नु परेको भन्दै उनले सुदूरपश्चिममा नै स्वास्थ्य सेवाको दयनीय स्थिति रहेको तर देउवाले कुनै वास्ता नगरेको बताएका छन् । 

सत्याग्रह सुरु गर्नुअघि सार्वजनिक डा. केसीको विज्ञप्तिमा सबै पूर्वाधार तयार भइसकेको गेटा मेडिकल कलेज सञ्चालनप्रति उदासीन हुनु नै प्रधानमन्त्री देउवाले चासो नदिएको गतिलो उदाहरण भएको औंल्याएका छन् । उनले भनेका छन्, ‘संविधानले प्रत्याभूत गरेको शिक्षा स्वास्थ्यको अधिकार नपाएर जनता मर्ने स्थितिको आकलन समेत नगर्ने राजनैतिक नेतृत्व जिम्मेवार हो । 

केसीले आफूलाई राजनैतिक नाफा घाटासँग सरोकार नभएको बताउँदै सबै स्वास्थ्य संस्थामा सरकारले तोकेको निःशुल्क औषधिको सुनिश्चितता हुनुपर्ने, स्वास्थ्यसंस्थामा प्रयोगशाला परीक्षण र उपचार निःशुल्क हुनुपर्ने, अस्पतालमा बेड संख्याकै आधारमा दरबन्दी तोकिनुपर्ने, जनसंख्याअनुसार सबै स्वास्थ्य संस्थाको स्तरोन्नति र गुणस्तर वृद्धि गरिनुपर्ने बताएका छन् । 

साथै, केसीले स्थानीय निकायको आधा बजेट स्वास्थ्य र शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने, गैरकानुनी रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गरेर दोषीमाथि कारबाही गरिनुपर्ने, सबैखाले स्वास्थ्य संस्थाको नेतृत्व स्वास्थ्यकर्मीले गर्नुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरिनुपर्ने, यसअघि सरकारले गरेका सम्झौता अनुरूपका सबै काम तुरुन्त सुरु गरिनुपर्ने माग पनि गरेका छन् ।

‘जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य र चिकित्सा शिक्षामा लगानी नगर्ने तर माफियासँग मिलेर अर्बौंका भ्यूटावर निर्माण गर्ने प्रवृत्तिले राजनैतिक नेतृत्व जनताका समस्याप्रति गम्भीर नभएको पुष्टि हुन्छ भन्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘एक वर्षदेखि लगातार प्रधानमन्त्री देउवाले आश्वासन दिने तर काम नगर्ने प्रवृत्ति दोहऱ्याएका छन् ।’

डा. केसीले गत वर्ष जुम्लामा १९औं सत्याग्रह गरेका थिए । उनले सोमबार साँझ ५ बजेदेखि आमरण अनशन सुरु गरेका हुन् । केसीलाई भेट्न धनगढी उपमहानर प्रमुख गोपाल हमाललगायत पुगेका थिए ।

Advertisement

Advertisement