दिगो विकास गर्ने भए १९ अर्ब डलर चाहिन्छः देउवा

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य पूरा हुने दावी गरेका छन् । बुधवार लगानी बोर्डको कार्यक्रममा उनले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म नेपाललाई विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताए । 

देउवाले वर्तमान सरकारले १५ औं पञ्चवर्षीय योजना अनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै सन् २०४५ सम्म कार्बन उत्सर्जन शुन्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताए । 

Advertisement

उनले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने बताए । देउवाले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औंल्याए । उनले मुलुकमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै लगानी बढाउन आग्रह गरे । 

नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको बताउँदै देउवाले लगानी बोर्डले ३३ वटा आयोजनाको लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको, जसमध्ये २० वटा ठूला जलविद्युत परियोजना रहेको बताए । 

लगानी बोर्ड दिगो पूर्वाधार लगानी फोरममा नेपालले घरेलु तथा वाह्य निजी लगानी आकर्षण गर्न अत्यावश्यक मानिएको परियोजना बैंक स्थापना गर्न निर्देशिका जारी गरेको छ । तीन वर्षअघि सार्वजनिक निजी साझेदारी र लगानी ऐन (पीपीपीआईए)ले नै गुणस्तरीय लगानी आकर्षणका लागि परियोजना विकास बैंक स्थापनाको परिकल्पना गरेको थियो । 

तर तीन वर्षसम्म पनि निर्देशिका भने बन्नसकेको थिएन ।  बैंकयोग्य पूर्वाधारको सुनिश्चित पाइपलाइन परियोजनाको सिर्जना गर्ने, घरेलु प्रत्यक्ष लगानी (डीडीआई) तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि आन्तरिक आकर्षित गर्न परियोजना बैंकले सहयोग गर्नेछ । बोर्डले वैदेशिक लगानी भित्र्याउन सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरेको छ ।
 

Advertisement

Advertisement