नेपालमा खेलकुद विश्वविद्यालय खोल्छुः देउवा

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्ने क्रममा उनले आफूले खेलकुद विश्वविद्यालय खोल्ने योजना बनाएको बताएका हुन् । 

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गरेपछि देउवाले यस्तो विश्वविद्यालय खोल्नका लागि शुरुवात गर्ने योजना आफूले बनाएको बताए । कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको उनको भनाई छ । 

Advertisement

देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरुको खेलप्रति आकर्षण बढ्ने बताए । उनले भने, ‘नेपाल खेलकुदप्रति धेरै नै अघि छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ । तर पनि आलेम्पिकलगायत धेरै विधाबाट भाग लिएका हाम्रा साथीहरु हुनुहुन्छ । हाम्रा युवाहरु पनि धेरै खेलकुदमा रमाउँछन् । हाम्रो मन्त्रीज्यूले त मलाई खेलकुद युनिभसिंटी खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ । तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन । तरपनि शुरुवात गर्ने हाम्रो सोचाइ छ । शुरुवात गर्नेछाँै । त्यसले पनि भोलि हाम्रो देशमा युवाहरुको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु ।’

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिव १० लाख रुपियाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ । 

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि तीन विभागीय टोलीमा पुर्याईनेछ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा ५ सदस्यीय ट्रफी टूर कार्यदल गठन गरेको छ । कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य छन् । 

ट्रफी आज सुदूरपश्चिम पठाइने र शनिवार बिहान ८ बजे धनगढी रंगशालामा सार्वजनिक गर्ने, असोज २ गते लुम्बिनीको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे, असोज ३ गते हेटौंडास्थित मानसचोकमा बिहानको ८ बजे, नेपाली सेनाको मुख्यालय जंगी अड्डामा असोज ७ गते बिहान १० बजे, विराटनगर रंगशालामा असोज ८ गते, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्स ालमा असोज ९ गते, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा असोज ९ गते,  सुर्खेत रंगशालास्थित सेमी कभर्डहलमा असोज ११ गते, रामजानकी मन्दिरको परिसरमा असोज १३ गते र पोखरामा असोज २३ गते सार्वजनिक गर्ने कार्यक्रम छ । पोखरा विमानस्थलबाट बाजागाजा र झाँकीसहित ट्रफी पोखरा पुर्याइनेछ । 
 

Advertisement

Advertisement