बालेनले टुकुचा खोतल्दै जाँदा सिद्धार्थ र लक्ष्मी बैंक, ईसेवा, साखः कम्प्लेक्समा पनि असर पर्ने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिहीबार हात्तिसारस्थित जयनेपाल सिनेमा घर परिसरमा खनेर टुकुचा खोलाको उत्खनन् गरेका छन् । 

उक्त खोलामा भूमाफियादेखि मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अतिक्रमण गरी व्यक्तिको नाममा दर्ता गर्ने र अर्कोलाई बिक्री गर्ने काम भएको दशकौंपछि मेयर बालेन शाहले उक्त खोला उत्खनन गरेका हुन् । 

Advertisement

टुकुचा उत्खनन सुरु भइसकेकाले यस अभियानलाई यत्तिकै छोडेर फिर्ता हुने बालेनको योजना देखिन्न । उत्खनन अघि बढ्दै जाँदा खोलामाथि बनाइएका ठूला भवनहरुसमेत प्रभावित हुने देखिएको छ । हात्तिसारमै टुकुचा खोला छोडेर बनाइएका भवनमा सिद्धार्थ बैंक, लक्ष्मी बैंक, साखः कम्प्लेक्स, ई–सेवाको कार्यालयलगायतका थुप्रै कार्यालय रहेका भवन र निजी घरहरुसमेत प्रभावित हुने देखिएको छ । 

प्रभावित बनाइएका यी घर तथा भवन अधिकांश सुरुमा खोला अतिक्रमण गरी आफ्नो नाममा पास गरेर अरुलाई बिक्री गरेका जग्गामा निर्माण भएका हुन् । टुकुचा खोला छोएर निर्माण भएकामध्ये कति घर तथा भवन महानगरपालिकाको स्वीकृति विना निर्माण भएका हुन् ? अहिलेसम्म खुलेको छैन् । तर टुकुचा खोला सार्वजनिक स्थल भएकाले त्यसको उत्खनन गर्दै जाँदा निजी लगानीमा बनेका धेरै घर तथा भवनहरु प्रभावित हुने निश्चित जस्तै देखिएको छ । 

जयनेपाल सिनेमा घरमा मालिकले पनि आफूले अर्को व्यक्तिबाट जग्गा किनेको बताउँदै आफूले किनेको जग्गामा खोला भएनभएको जानकारी नरहेको बिहीबार बताएका थिए । यो हिसावले हेर्दा सुरुको व्यक्तिबाट जग्गा किन्ने तथा उक्त जग्गामा घर तथा भवन निर्माण गर्नेको कुनै दोष देखिन्न । टुकुचा खोला उत्खनन गर्दै जाँदा ठूलठूला भवन भत्काउनुपर्ने अवस्था आयो भने महानगरपालिकाले क्षतिपूर्ति दिने वा सुरुमा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई कारवाही हुने अहिलेसम्म कुनै आधार देखिएको छैन् ।  

Advertisement

Advertisement