नेपालमा व्यवसायिक कृषिः अत्यावश्यक तर चुनौतीपूर्ण

Advertisement

पदम भण्डारी
वि.सं. २०४५ सालभन्दा पहिले नेपालको मूख्य आर्थिक गतिविधि कृषि थियो । २०४५ को मध्येदेखि र २०६० को दशकदेखि अधिकरुपमा जीविकोपार्जनका विकल्पहरू अप्रत्याशित रुपमा परिवर्तन भयो। अधिकांश शिक्षित यूवा नेपालमा कृषिमा लाग्नुभन्दा रोजगारीका लागि विदेश पलायन भए । प्रवासी मजदुरहरूले पठाएको रेमिट्यान्सले शहरी अर्थतन्त्रलाई थप रोजगारीका अवसर सिर्जना गरेको छ । फलस्वरूप, अधिकांश ग्रामीण जनता शहरी क्षेत्रमा बसाइँ सरेका छन् । तर नेपालमा कृषि जत्तिकै दिगो अरु विकल्प देखिँदैन । यस क्षेत्रको उद्यमशीलतातर्फ सरोकारवालाहरूले ध्यान दिनुपर्ने हो । स्पष्टरूपमा व्यवसायिक कृषिमा धेरै चुनौतीहरू छन् तर यसले केही अवसरहरू पनि प्रदान गर्दछ। तसर्थ, सरोकारवालाहरूले यी चुनौतीहरूलाई सम्बोधन गर्ने र नेपालमा व्यवसायिक कृषिलाई प्राथमिकता दिन अवसरहरूको सदुपयोग गर्ने समय आएको छ ।

खेतदेखि बजारसम्म
बढ्दो बसाइँसराइसँगै परम्परागत कृषि उत्पादन प्रणालीमा आश्रित खेती प्रणालीले ठूलो श्रम घाटाको सामना गर्न थाल्यो । अर्कोतर्फ निर्वाहमूखी उत्पादन प्रणालीमा स्वरोजगार भएका मानिसहरू ज्याला कमाउने र खेती बाहिरको क्षेत्रमा स्वरोजगारमा परिणत भए ।

Advertisement

यसको अर्थ जीविकोपार्जन प्रणाली वस्तुबाट बजारमा आधारित भइसकेको छ । त्यसैगरि, उपभोग संस्कृतिमा पनि तीब्र गतिमा जीविकोपार्जनको ढाँचामा आमूल परिवर्तन भएको छ । विगतमा उत्पादक र उपभोक्ताको संख्या लगभग उस्तै थियो । त्यसैले बजारको भूमिका कम महत्त्वपूर्ण थियो । तर बिस्तारै जनसङ्ख्याको अधिकांश हिस्सा शहर बजारतिर केन्द्रित हुन थालेपछि उपभोक्ताहरुलाई उत्पादन क्षेत्रबाट टाढा शहरहरुमा सार्दै परिदृश्य परिवर्तन गर्यो । यसैबीच बजार उत्पादक र उपभोक्तालाई जोड्ने माध्यम बनेको छ।

हालैका दशकहरूमा, उत्पादन प्रणाली स्थिर अवस्थामा रहँदा जीविकोपार्जन र उपभोग प्रणाली द्रुत रुपमा परिवर्तन भयो । यो न विगतको निरन्तरतामा रह्यो न यसले क्रमभङ्गता नै गर्यो । यसबाट विगत तीन दशकमा उत्पादन, उपभोग र जीविकोपार्जन प्रणालीमा महत्वपूर्ण अन्तर देखिएका छन् ।

नेपालमा धान उत्पादनले कृषिको झण्डै ५० प्रतिशत हिस्सा ओगटेको छ जुन विशेषगरि आकासे पानीमा निर्भर छ । धान खेती गरिने जमिनको एक तिहाइभन्दा कम खेतीयोग्य जमिनमा मात्र सिँचाइ सुविधा उलपब्ध छ । व्यवसायिक कृषि प्रणालीमा सन्तुलन ल्याउन, उत्पादन प्रणालीमा पूनर्विचार गर्नु अत्यावश्यक छ । विद्यमान निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेती प्रणालीमा रुपान्तरण गर्न आवश्यक छ ताकी थोरै संख्यामा उत्पादकहरुले जीविकोपार्जन गरी ठूलो संख्यामा कृषि पेशा बाहिर रहेका मानिसहरूलाई खुवाउन सकुन् । तसर्थ, नेपालमा व्यवसायिक कृषि नै हाम्रो कृषि क्षेत्र सुधार गर्ने र बढ्दो जनसंख्यालाई खुवाउने एक मात्र उपाय हो ।

नेपालमा व्यवसायिक कृषिमा चुनौतीहरूः
कुनै पनि क्षेत्रलाई उद्यमको रुपमा विकास गर्नका लागि केही आधारभूत शर्तहरू छन् । सबैभन्दा महत्त्वपूर्ण शर्तहरुमध्ये उत्पादन एउटा शर्त हो जुन ठूलो मात्रामा हुनुपर्छ । उत्पादन बिक्रीको लागि बजार जानुपर्छ । उत्पादन बिक्रीमा मुनाफा सुनिश्चित हुनुपर्छ र मुनाफाको केही अंश पुनः उत्पादनको लागि लगानी गर्नुपर्छ । के नेपालमा कृषिले यी आधारभूत शर्तहरू पूरा गर्छ ? निर्वाहमुखी खेती प्रणालीबाट उद्यमको रुपमा परिवर्तन हुनसक्छ ? विद्यमान कृषि प्रणालीमा केहि चुनौतिहरु छन् । विशेष गरी बजारको माग अनुरुप बजारकर्ताहरुको नेतृत्वमा ठूलो रुपमा उत्पादनका गतिविधि सञ्चालन भएका छैनन् । ठूलो मात्रामा उत्पादनको लागि, उत्पादकहरुको पहुँच ठूलो क्षेत्रफल भएको जग्गामा हुनुपर्छ । त्यस्ता क्षेत्रहरू उत्पादक परिवारहरूले कृषि प्रयोजनका लागि प्राप्त गर्न केही राजनीतिक र नीतिगत अवरोधहरु छन् । कृषियोग्य भूमी खण्डिकृत भएको छ । जमिनको स्वामित्वमा हदबन्दी लागू छ । खेतीयोग्य जमिन भए पनि नेपालमा व्यवसायिक कृषिको लागि यो प्रमुख चुनौती हो ।

कृषिको व्यवसायिकताका लागि अन्य आधारभूत शर्तहरुमध्ये उत्पादन क्षेत्रमा सिँचाइ सुविधा, उन्नत उत्पादन सामग्री, औजार र मेसिनरीको समयमै उपलब्धता, फसल भित्र्याएपछि क्षति हुनबाट बचाउने सुविधा र उत्पादन तथा उपभोगस्थलमा विकास भएको सहज बजार प्रणाली हो । यी आधारभूत अवस्थाहरुले समय, श्रम, सामग्री, उत्पादकतामा सुधार गर्छ जसले गर्दा नेपालमा व्यवसायिक कृषिलाई टेवा दिन्छ । 

सुस्त सरकारी प्रयासः
सरकारले हालै नेपालमा व्यवसायिक कृषितर्फ केही पहल गरे पनि द्रुतरुपमा परिवर्तन भइरहेको उपभोग र जीविकोपार्जनको ढाँचाको तुलनामा यो निकै सुस्त छ । विडम्बनाको कुरा के हो भने सरकारले नेपालमा कृषिको व्यवसायीकरणका लागि गरेको पहल गलत दिशामा गइरहेको देखिन्छ ।

कृषिमा व्यवसायीकरणको नाममा मेशनरी औजारहरु भित्राईएका छन् । तर स्थानीय सन्दर्भमा नमिल्ने वा नचल्ने अवस्थामा छन् । उत्पादन स्थलमा स्पेयर पार्टस र दक्ष जनशक्ति उपलब्ध छैन् । नेपालमा भएको एउटा मात्र कृषि औजार कारखाना लामो समयदेखि बन्द छ । उन्नत बिउबिजन उत्पादन र वितरण प्रणालीमा पनि पनि यस्तै अवस्था छ । विगतमा हामीसँग बलियो स्थानीय बीउ प्रणाली थियो । एउटै प्रणालीलाई व्यवसायीकरणतर्फ अघि बढाउनुको सट्टा हाम्रा कार्यक्रमहरू आयातित बीउ र सम्बन्धित उत्पादन सामग्रीहरुमा केन्द्रित भए । विगतमा विकसित हाम्रो व्यवहारिक बीउ प्रणाली लगभग हराएको छ । तितो यथार्थ के हो भने आयातमा निर्भर उत्पादन प्रणालीले स्थानीय आवश्यकता अनुसार समयमै उचित उत्पादन सामग्री नपाउँदा समस्याको सामना गर्नु परेको छ । समग्रमा नेपालको कृषिको वास्तविकता यो हो कि बजार प्रणालीद्वारा निर्देशित कृषि व्यवसायिकरणको अभावमा जीविकोपार्जनमा आधारित कृषिमा रुपान्तरण हुन सकेको छैन् । 

गर्नुपर्ने कामः
नेपालको कृषिमा साना सुधारभन्दा पनि आमूल परिवर्तनकारी कार्यहरू आवश्यक छ । उत्पादन प्रणालीलाई निर्वाहमूखी प्रणालीबाट व्यवसायीकरणमा परिवर्तन गर्न सरकारले रुपान्तरणकारी कदम नचालेसम्म सम्भव छैन् । श्रम, समय र सामग्री उत्पादकत्व वृद्धि गर्न वस्तुमा आधारित उत्पादन पकेटहरू पहिचान गरेर, उत्पादन ब्लक अनुसार भूमि एकीकरण र यान्त्रिक उत्पादन ब्लकबाट यो परिवर्तनकारी कार्य शुरु गर्नुपर्छ । यसो गर्दा विद्यमान निर्वाहमूखी खेती प्रणालीमा उब्जाउने कतिपय बालीहरू आकर्षक नहुन सक्छन् । हामीले ती वस्तुहरूको लागि अन्य देशहरूमा निर्भर रहन हिचकिचाउनु हुँदैन् । जबकी हामी अन्य वस्तुहरूको निर्यातकर्ता हुन सक्छौं । हामीले उत्पादन क्षेत्र निर्धारणमा हाम्रो भौगोलिक विशिष्टताको अन्वेषण र उपयोग गर्न सक्छौं र बजारको नेतृत्वमा उत्पादनमा तुलनात्मक लाभको फाइदा लिन सक्छौं।

उत्पादकहरु उत्पादन कार्यमा विशेषज्ञता नभएका कारणले अहिले कृषि व्यवसायीले छरिएका उत्पादन सङ्कलनमा बढी लगानी गर्नुपर्छ । यसबाहेक बजारको नेतृत्वमा उत्पादनको लागि कुनै सडक र अन्य भौतिक पूर्वाधारहरू विकास गरिएको छैन् जसका कारण कृषि व्यवसायीहरू नजिकैको ग्रामीण इलाकाबाट संकलन गर्नुभन्दा भारत, चीन वा अन्य विकसित बजारबाट वस्तु आयात गर्न सहज महसुस गर्छन् । यो परिवर्तन हुनुपर्छ ।

नेपालमा राजनीतिक संरचना समेत परिवर्तन भएको छ । राजनीतिक संरचनासँगै विगतमा थोरै संख्यामा प्राविधिकहरुद्वारा ठूलो संख्यामा साना किसानलाई कृषि प्रसार सेवा उपलब्ध गराउने गरि विकास गरिएको विद्यमान सरकारी कृषि प्रसार प्रणाली समेत परिवर्तन भएको छ । तर, न पुरानो बाँकी छ न नयाँ संरचनाले काम गरेको छ । अहिलेको अवस्थामा कृषि प्रसार सेवा प्रणाली झन अस्तव्यस्त छ । 

त्यसैले, निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक कृषि उद्यममा परिणत गर्नुपर्छ । कृषि प्रसार सेवालाई सरकारी संरचनाले हैन कि कृषि बजार प्रणालीमार्फत प्रदान गरिनुपर्छ । प्रशिक्षित प्राविधिकहरू व्यवसायिक उत्पादनको लागि उपयुक्त हुँदैनन् जबसम्म उनीहरूलाई नयाँ अन्तर्दृष्टि सीपहरू, अवसरहरू र प्रविधिहरू प्रदान गरिँदैन।

कृषि व्यवसायका विज्ञहरूले संघ र प्रदेश तहमा रमाइलो गर्नुभन्दा आफ्नो समय उत्पादन क्षेत्रमा बिताउनु पर्छ, प्रशासनिक काममा बढी समय बिताउनु हुँदैन । त्यसैगरी विश्वविद्यालयको शिक्षण प्रणालीले नेपालमा कृषिमा उपयुक्त जनशक्ति उत्पादन गर्नुपर्छ ।

लेखक भण्डारी कृषि बजार प्रणालीका जानकार तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसरको रुपमा आवद्ध छन् । 

Advertisement

Advertisement