तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा विराटनगरको एक निजी कम्पनीलाई

Advertisement

काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्नका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनलबीच सम्झौता भएको छ । 

बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्रान्स सिल्क कम्पनी छानिएको छ । 

Advertisement

ट्रान्स सिल्क कम्पनीले पाँच वर्षका लागि ११ करोड ७० लाख रुपियाँमा बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको हो । सिल्क कम्पनीले बन्दरगाह सञ्चालनको काम १० असोजदेखि थाल्नेछ । उक्त बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन भएपछि सो सुख्खा बन्दरगाहमार्फत हुने व्यापार छिटो छरितो र पारदर्शी हुने विश्वास समितिले लिएको छ । 

यसअघि सो बन्दरगाह नेपाल पारवहन तथा गोदाम व्यवस्थापनले सञ्चालन गर्दै आएको थियो । बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापनको लागि समितिले बोलपत्र आह्वान गरेको थियो । बोलपत्रबमोजिम फ्याल्स फ्रेट लजिष्टिक, भ्याली टर्मिनल जेभी काठमाडौं, ट्रान्स नेपाल जेभीको आवेदन परेको थियो । 

करिब ९० रोपनी क्षेत्रफलमा फैलिएको यो बन्दरगाह चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । मितेरी पुलदेखि छ किलोमिटर पश्चिम भोटेकोशी गाउँपालिकाको लार्चामा बनेको बन्दगाहका लागि आवश्यक क्वारेनटाइन, गोदाम घर, जाँचपास याड, चेकपोष्टलगायतका संरचना छन् ।

Advertisement

Advertisement