नेपालको बिजुली निर्यात गर्नका लागि होइन्ः घिसिङ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् । मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा उनले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभई नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको बताएका हुन् । 

घिसिङले नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गरे । उनले विद्युत खपत बढाउनको लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताए । 

Advertisement

घिसिङले नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्याउने बताए । उनले विद्युत निर्यात गरेर भन्दा विद्युत खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने जिकिर गरे । घिसिङले विद्युत प्राधिकरणले पछिल्लो एकसय दिनमा सात अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेको बताए । 

उनले विश्वमा विद्युत संकट भएर युरोपमा १ युनिट विद्युतको करिव १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत निर्यात गर्नु मुलुकको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताए । 

घिसिङले भने, ‘विद्युत प्राधिकरणले करिव एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेका छौं । यो नेपालको लागि महत्वपूर्ण विषय हो । विगतमा १० मेगावाटको विद्युत कतैबाट ल्यान सकिन्छकी भनेर गुहार माग्नुपर्ने स्थिति थियो । अहिले विश्वमा विद्युतको जति संकट भइरहेको छ । युरोपमा १ युनिट विद्युतको करिव १ डलरपर्ने अवस्था छ । यस्तो बेलामा नेपालले भारतमा विद्युत निर्यात गरिरहेको छ । प्राधिकरणको मुख्य उद्देश्य विद्युत निर्यात गर्ने होइन । विद्युत खपत गर्ने हो । नेपालको विद्युत नेपालमा नै खपत गर्ने हो । नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरेर समृद्ध नेपाल बनाउँदै उज्ज्यालो नेपालको बनाउने उद्देश्य साकार पार्ने हो । विद्युत खपत बढाउनको लागि हाम्रो दैनिक जीवनलाई विद्युतमा कन्भर्ट गर्नुपर्छ । घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्नुपर्छ । त्यसपछि मात्रै विद्युतको माग बढ्छ र नेपालको विद्युत नेपालमा नै खपत हुन्छ । त्यो खपतले मुलुकको अर्थतन्त्रमा १० गुणा योगदान गर्छ । निर्यात गरेर भन्दा विद्युत खपत गरेर योगदान बढी गर्नसक्छौं । तर खपत नहुँदा विद्युत खेर फाल्नुभन्दा निर्यात नै गर्ने हो । अहिले नेपालमा विद्युत ५० प्रतिशत सस्तो रहेको छ ।­’

उनले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गरे । घिसिङले हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताए । घिसिङले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिव ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताए । घिसिङले विद्युत कम मूल्यको खपत भएपनि धेरै मूल्य बराबरको आयातलाई कम गराउनसक्ने बताए । 

उनले अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता रहेको बताए । उनले चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताए । घिसिङले निजी क्षेत्रले चाजिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले आफ्नै लागतमा विद्युत र ट्रान्सफर राखिदिने बताए ।

Advertisement

Advertisement