सुरक्षण कोषको व्यवसायिक र वित्तीय अवस्था राम्रो भए पनि गर्न बाँकी काम धेरै छः घिमिरे

Advertisement

रमेश घिमिरे
म कोषले स्थापनाको ४८ बर्ष पूरा गरी ४९ औँ वर्ष प्रवेश गर्दासम्म हासिल गरेका मुख्य उपलब्धीहरुबारे संक्षेपमा चर्चा गर्न चाहन्छु । वि।सं। २०३१ साल असोज ४ गते यस कोषको स्थापना हुँदा रु ३० लाखको मात्र चुक्ता पूँजी थियो भने स्थापनाकालमा नेपाल राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त कर्जा मात्र सुरक्षण गर्ने गरेकोमा हाल विभिन्न नेपाल सरकारले लागू गरेका ५ वटा कर्जा कार्यक्रम सहित पशुधनको समेत सुरक्षण गर्दछ । बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०६३ ले गरेको नीतिगत व्यवस्था र राष्ट्र बैंकको अग्रसरतामा बैंक तथा वित्तिय संस्थाको निक्षेपको सुरक्षण वि।स २०६७ साल बाट समेत यसै कोषले गर्दै आएको छ । यस कोषको चुक्ता पूँजी हाल रु १० अर्ब पुगेको छ भने कोषको कूल पूँजी कोष करिब रु २० अर्ब पुगेको छ । 

२०७९ भदौ महिनाको अन्त्य सम्ममा कोषले झण्डै रु। ११ खर्ब बराबरको निक्षेप र ३ खर्ब भन्दा बढी कर्जा सुरक्षण गरेको छ । आ।व। २०७८–७९ मा कोषले कूल रु ४ अर्व ३७ करोड संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । 

Advertisement

एकाध कर्मचारीले नेपाल राष्ट्र बैंकको एउटा कोठाबाट शुरु भएको कोषका क्रियाकलापमा आज ८१ जना कर्मचारी क्रियाशील छन् । कोषले देशका ७ वटै प्रदेशमा आफ्ना शाखाहरु विस्तार गरी आफ्नै स्वामित्वको भवनबाट सेवा प्रवाह गरिरहेको छ । गत गत आवमा मात्र कोषले नेपाल सरकारलाई रु ९२ करोड आयकर भुक्तानी गरी रु २ अर्ब १५ करोड खुद मुनाफा आर्जन गरेको छ । पशुधन, निर्यात र शैक्षिक बेरोजगार कर्जाबाहेक कोषका समग्र क्रियाकलापहरुमा उत्साहजन वृद्दि हासिल भएको छ । 

समग्रमा ४९ आँै बर्षसम्म आइपुग्दा कोषको व्यवसायिक र वित्तीय अवस्था अत्यन्तै सन्तोषजनक छ । यद्यपी कोषको सुरक्षण एक्पोजरको तुलनामा पूँजी कोष अझै कायम हुन सकेको छैन् । कोषका मौजुदा व्यवसायिक गतिविधिहरुबाट मात्र आवश्यक पूँजी कोष कायम गर्न सम्भव नहुने भएकाले पूँजीगत क्षमता अभिबृद्धिका लागि हालको कार्यक्षेत्रलाई विस्तार गर्ने, कोषको जस्तै सुरक्षणको कार्य गर्ने समकक्षी विदेशी निकायहरुले प्रचलनमा ल्याएका सफल सुरक्षण योजनाहरुलाई नेपाली आवश्यकताका आधारमा क्रमशः प्रचलनमा ल्याउने र कोषको पूँजी बृद्धिका लागि अन्य उपयुक्त उपाय खोजी गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडी बढाउने कोष व्यवस्थापनको योजना छ ।  त्यसैगरी, कोषले हालसम्म सुरक्षण गरेका क्रेडिट पोर्टफोलियोले भविष्यमा सिर्जना गर्न सक्ने जोखिमको आँकलन र मुल्यांकनका लागि मौजुदा संयन्त्र र पद्दतीमा व्यापक सुधारको खाँचो रहेको छ । त्यसैले जोखिम मुल्यांकन, व्यवस्थापन र न्यूनीकरणतर्फ आगामी दिनमा ठोस कदम चाल्ने हाम्रो तयारी छ । कोषका अधिकांश काम, कारोबारलगायत व्यवस्थापन सुचना प्रणालीलाई पूर्ण सुचनामैत्री बनाई कोषका कार्यहरु पेपरलेस बनाउँदै लैजाने कार्य समेतलाई प्राथमिकता दिने हाम्रो तयारी छ । 

४८ वर्ष पूरानो संस्था भएर पनि कोषका कर्मचारीहरुको औषत उमेर ३२ वर्षको छ । कोषको यो युवा जनशक्तिलाई कोषका सबल पक्षहरुमध्ये एउटा बलियो पक्षको रुपमा मैले लिएको छु । विश्वव्यापी प्रयोग हेर्ने हो भने कोषको सुरक्षण दायित्वको तुलनामा पूँजीगत अवस्था पर्याप्त नभएको भए तापनि कोषलाई सोभरेन अथोरिटि अफ ब्याकिङ प्राप्त छ । यसले बैंक तथा वित्तीय संस्थाहरुको विश्वास आर्जन गर्नमा कोषलाई ठूलो मद्दत गरेको छ । कोष मुलुकमा कर्जा र निक्षेपको सुरक्षण गर्ने एक मात्र संस्था हो । विधायिकी ऐनले  कोषलाई एउटा स्वायत्त संस्थाको रुपमा स्थापित गरिदिएको छ । राजस्व सचिव स्वयंको नेतृत्वमा विशिष्ट पदाधिकारी र विज्ञहरु सम्मिलित संचालक समितिले कोष व्यवस्थपनलाई मार्ग निर्देश गर्ने गरेको छ । यी पक्षहरुलाई मैले कोषका थप सबल पक्षको रुपमा लिएको छु ।   

मैले कोषको नेतृत्व सम्हालेको आज ७५ दिन पूरा भएको छ । अब म संक्षेपमा यस अवधीमा कोष टिमले हासिल गरेका महत्वपूर्ण उपलब्धी र क्रियाकलापहरुबारे निवेदन गर्न चाहान्छु । 

कोष स्थापनाको ४८ वर्ष पूरा भइसक्दा समेत कोषका ऐच्छिक कर्जा सुरक्षण कार्यक्रहरुमा जम्माजम्मी ४ वटा मात्र क वर्गका बैंकहरुको सहभागिता रहेकोमा यस अवधिमा थप ७ वटा क वर्गका बैंकहरुलाई सहभागी गराउन कोष व्यवस्थापन सफल भएको छ । हालै सहभागी गराइएका यी ७ वटा बैंकहरुले यस वर्ष राष्ट्र बैंकले तोकेको लक्ष्यबमोजिम प्रवाह गर्ने न्यूनतम रु। १ खर्ब बराबर कर्जाको कोषले सुरक्षण गर्ने र यी बैंकहरुबाट मात्र यस वर्ष झन्डै रु। ४० करोड थप सुरक्षण शुल्क प्राप्त हुने अपेक्षा छ ।

सुरक्षण योग्य निक्षेपको सीमा रु ५ लाख कायम गरी लागू गराउने कार्य सम्पन्न भइसकको छ । यसले सर्वसाधारणको बैंकिङ प्रणाली प्रतिको विश्वासलाई थप मजबुद बनाउने र कोषको निक्षेप सुरक्षण शुल्क आयमा उल्लेख्य सुधार हुने अपेक्षा छ । 

यस अवधीमा कोषका कार्यक्रमहरुमा बैंक तथा वित्तीय संस्थाहरुलाई आकर्षित गर्न परिमार्जन गरिनुपर्ने नीतिगत प्रावधानहरु पहिचान गरी सो को उपयुक्त तवरले सम्बोधन गर्न नेपाल राष्ट्र बैंकसँगको छलफल र सहकार्यलाई अगाडी बढाइएको छ । असोज मसान्तभित्रै केही नीतिगत बुँदाहरुमा नेपाल राष्ट्र बैंकबाट सम्बोधन हुने हाम्रो अपेक्षा रहेको छ । 

कोषका नियम, कानून, एवं नीतिगत व्यवस्थाहरुमा समयानुकूल परिमार्जन गर्न संचालक समिति र व्यवस्थापन दुवै तहमा कानून, नियम सुधार समति गठन गरी कार्य आरम्भ गरेका छौँ । 

शाखाहरुको व्यवसायको आकारमा वृद्धि गर्ने सम्भाव्य उपायहरुको खोजी गर्न बिराटनगर, भरतपुर, पोखरा र बुटवल क्षेत्रका ख, ग र घ वर्गका थप ७ वटा संस्थाहरुबाट यसै वर्षको दोस्रो त्रैमास भित्र कोषका कर्जा सुरक्षण कार्यक्रमहरुमा आवद्ध हुने प्रस्ताव प्राप्त भएकोछ ।  

सदस्य बैंक तथा वित्तीय संस्थाहरुको कोषसँगको कारोबारहरुलाई सहज बनाउन एनी ब्रान्च सर्भिसको व्यवस्था लागू गरियो ।

कोषका कार्यहरुमा कर्मचारीहरुको सामूहिक भावना जागृत गराई समग्र उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले चालु त्रैमासलाई कोल्याबरेशन क्वाटरको रुपमा मनाई कोषका बहालवाला सबै कर्मचारीलाई चरणबद्ध रुपमा टिम बिल्डिङ, लिडरसिप, इफेक्टिभ कम्युनिकेशन, मोटिभेशन जस्ता तालिम क्रियाकलाहरुमा समावेश गराइयो ।

सुपरीवेक्षकीय तहको मातहतमा रही कार्य गर्ने कर्मचारीलाई कोल्याबरेशनबारे प्रभावकारी ज्ञान प्रदान गर्ने उद्देश्यले हप्ताको १ दिन कार्यालय समयपछि मेन्टर–मेन्टी प्रोग्राममा समावेश गराउने कार्यक्रम लागू गरियो । 

कर्मचारीहरुलाई हौसला प्रदान गर्न प्रत्येक कर्मचारीको जन्मदिनका दिन कार्यालय समयपछि कार्य स्थलमा जन्मदिन मनाउने कल्चर शुरु गरियो । 

कोषको व्यवसायसँग सम्बन्धित विषयहरुमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँगको सहकार्य र साझेदारीको सम्भावनाका क्षेत्र पहिचान गरी विश्व बैंक, एडीबी, आईएफसीसँग पहिलो चरणको वार्ता गरी सहकार्य हुनसक्ने क्षेत्रहरुमा सहकार्य र साझेदारीका लागि प्रक्रिया आरम्भ गरियो ।

आगामी ३ महिनाभित्र कोषका मुख्य व्यवसायिक कार्य र व्यवस्थापन सुचना प्रणालीलाई पूर्ण स्वचालित बनाउन आवश्यक कार्य आरम्भ गराइयो । 

कोषको जस्तै कार्य गर्ने विदेशी संस्थाहरुले प्रचलनमा ल्याएका सेवाहरुको अध्ययन गरी नेपाली परिवेश अनुरुप कर्जा सुरक्षणसम्बन्धी नयाँ कार्यक्रम शुरुवात गर्न र कोषको आगमी ५ वर्षको रणनीति तर्जुम गर्न अध्ययन टोली बनाई अध्ययन शुरु गराइयो ।

कोषको कार्यबोझ, तत्कालिन र दुरगामी रणनीतिअनुरुप जनशक्ति तथा सांगठनिक संरचना तयार गर्न बाह्य परामर्शदातामार्फत ओएण्डएम सर्भे शुरु गराइयो । आगामी कार्तिकभित्र यसको प्रतिवेदन प्राप्त हुनेछ ।

कोषले निर्धारण गरेको लक्ष्य अनुरुपका कार्यहरुको प्रगतिबारे विभागीय प्रमुख र शाखा प्रमुखहरुको उपस्थितिमा प्रत्येक महिनाको दोस्रो शुक्रबार समीक्षा बैठक गर्ने परिपाटी शुरु गरियो । 
यो ७५ दिने छोटो अवधीमा यतिका उपलब्धी हासिल गर्न सफल भएबाट कोष टिमलाई ठूलो हौसला मिलेको मैले महसुस गरेको छु । र, आगामी दिनमा कोषको व्यवसाय र उत्पादकत्व अभिबृद्धिसँग सम्बन्धित क्रियाकलाप र खासगरी ऐच्छिक कर्जा सुरक्षणका कार्यक्रमहरुको विस्तारले थप तीब्रता पाउने मेरो विश्वास छ । यो अवधीमा हासिल उपलब्धीहरु कोषको संचालक समितिले स्वीकृत गरेका नीति तथा कार्यक्रमहरुकै अंश रहेको र सो हासिल गर्नमा कोषको संचालक समिति र समितिबाट गठित उपसमितिहरु, अर्थमन्त्रालय, नेपाल राष्ट बैंक लगायत सम्बद्ध सबै पक्षबाट प्राप्त सहयोग, समर्थन र मार्गदर्शनका लागि म हार्दिक आभार प्रकट गर्दछु र आगमी दिनमा समेत निरन्तर सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछु । साथै कोषका डेपुटी सिईओ, विभागीय प्रमुखहरु र सिंगो कोष टिमले मेरो नेतृत्वमा रही हालसम्म प्रदर्शन गरेको कार्यको म उच्च प्रसंशा गर्दछु । 

अन्त्यमा, बैंकिङ व्यवसाय आफैँमा जोखिमपूर्ण व्यवसाय रहेको र त्यस्तो जोखिम व्यवसायको उत्थान र संरक्षणका लागि सुरक्षा जालोको भूमिका निर्वाह गर्ने जिम्मेवारी यस कोषको रहेको हुँदा बैंकिङ र वित्तीय क्षेत्रको जोखिम र चुनौतिको सामना गर्दै सिंगो वित्तीय प्रणाली कै एउटा दरिलो संस्थाको रुपमा स्थापित हुन कोषलाई नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत सम्बद्ध सम्पूर्ण सरोकारवालाहरुबाट पूर्ण सहयोग र समर्थन प्राप्त हुने कुरामा म विश्वस्छु । 
निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत घिमिरेले कोषको ४९औं बार्षिकोत्वमा मंगलबार व्यक्ति विचार
 

Advertisement

Advertisement