उधारो बीमा ९८ प्रतिशत समाधान भयो, बाँकी रोक्न सकिन्नः समिति, बुझाईमा समस्या छः कम्पनीहरु

Advertisement

काठमाडौं । बीमा समितिले उधारो बीमाको समस्या करिब ९८ प्रतिशत समाधान भएको दावी गरेको छ । तर, बाँकी दुई प्रतिशत समस्या भने आफ्नो नियन्त्रण बाहिर रहेको समितिको तर्क छ । 

बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले उधारो बीमाको समस्या समाधान गर्न आफूहरु लागिपरेको र अधिकांश समस्या समाधान भएको बताए । उनले भने, ‘उधारो बीमा अहिले पनि ठूलो समस्या बनिरहेको छ । हामीले यसलाई नियन्त्रण गर्न प्रयास गरिरहेका छौं । पहिलेको भन्दा निकै सुधार भएको छ । करिव ९८ प्रतिशत उधारो बीमा रोक्किएको छ । बाँकी रहेको दुई प्रतिशत हाम्रो नियन्त्रण बाहिर छ ।’

Advertisement

पौडेलले अहिले पनि प्रतिवेदनहरु तयार गरिरहेको र त्यस्ता प्रतिवेदनमा कैफियत देखिए समितिले कारबाही गर्ने बताए । उनले उधारो बीमाले बजारलाई सदैव नकारात्मक असर पुर्याउने बताए ।

नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खड्काले उधारो बीमा मात्रै अहिलेको समस्या नभई त्यससम्बन्धी बुझाईमा झन ठूलो समस्या रहेको सुनाए । उनले भने, ‘उधारो गर्नु हुन्न भन्ने पनि थाहा छ । यस्तो गर्नेलाई कारबाही हुन्छ भन्ने पनि थाहा छ । तर, फेरि पनि उधारो बीमा भएका खबर आउँछन् । शुक्रबार बैंक बन्द भएर आइतबार पैसा बुझाउँदा पनि उधारो बीमा भनेर शंका गरेको हो कि जस्तो लाग्छ ।’ 

उनले नेको इन्स्योरेन्समा उधारो बीमा सतप्रतिशत रोक्किएको दाबी गरे । निर्जीवन बीमा कम्पनीहरुको संस्था बीमक संघको महासचिव तथा प्रवक्तासमेत रहेका खड्काले ठूला आयोजनामा उधारो बीमा हुने सम्भावना न्यून रहेको स्पष्ट पारे । तर, केही हदसम्म अझै पनि देखिने गरेको उधारो बीमा खोजीको विषय बनेको उनको भनाई छ । 

यता बीमकहरुले भने उधारो बीमाको समस्या निकै जटिल समस्या रहेको र यसलाई रोक्न बीमा समितिले स्थलगत निरीक्षणमा गएर कडाई गर्नुपर्ने बताउँछन् । स्थलगत निरीक्षणबाट पाइएका कैफियत तत्काल समाधान गर्न पनि समिति सक्रिय हुनुपर्ने उनीहरुको माग छ ।

तर समितिले भने चोरी भइसकेपछि नै अनुसन्धान सुरु हुने भएकाले उधारो बीमा पनि कसैले गरेको खबर पाएपछि मात्र आफूहरुले कारबाही गर्ने बताएको छ । 

Advertisement

Advertisement