सामाजिक सुरक्षा कोषका योगदानकर्ताले १० घातक रोगको उपचारका लागि १० लाख पाउने

Advertisement

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई १० घातक रोगको उपचारका लागि रु १० लाख उपचार खर्च उपलब्ध गराउने भएको छ । 

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को संशोधन गर्दै कोषले योगदानकर्तालाई कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगको उपचार खर्च दिने भएको हो । 

Advertisement

कोषमा लगातार दुई वर्ष योगदान गरेका योगदानकर्ताले ती रोगको उपचारका लागि सेवा आवधिभर रु १० लाखसम्मको उपचार खर्च पाउनेछन् । कार्यविधिको तेस्रो संशोधन स्वीकृत भएको मितिले ९१औँ दिनबाट प्रारम्भ हुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज कार्यविधि स्वीकृत गरेको हो ।

घातक रोगको औषधोपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म लागू रहनेछ । कोषको वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताले निवृत्तिभरण प्रारम्भ भएको सात वर्षसम्म घातक रोगसम्बन्धी सुविधा उपयोग गर्न सकिने गरी विशेष व्यवस्था गरिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।  

योगदानकर्ताले प्राप्त गर्दै आइरहेको औषधोपचार सुविधा निजको पति वा पत्नीसमेतले पाउनेगरी व्यवस्था गरिएको कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको तीन वर्षको अवधिमा कोषले योगदानकर्ताको हितलाई ध्यान दिँदै विभिन्न योजनामा निरन्तररुपमा सुधार गर्दै आइरहेको छ । श्रम मन्त्रालयले योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको छ । 

कार्यविधिमा योगदानकर्ताका सन्ततिलाई चिकित्सा विज्ञान, इञ्जिनीयरिङ, नर्सिङ, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ । योगदानकर्ता सन्तति छात्रवृत्ति कार्यक्रम आगामी शैक्षिकसत्रदेखि लागू हुनेछ । प्रतिव्यक्ति बढीमा रु पाँच लाखका दरले छात्रवृत्ति प्रदान गरिनेछ ।

सामाजिक सुरक्षाका कार्यक्रम थप विस्तार गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्नेछ । आगामी दिनमा समेत यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइने कोषको प्रतिबद्धता छ । 

हालसम्म कोषमा १७ हजार चार सय १७ रोजगारदाता र तीन लाख ६४ हजार सात सय ४१ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा रु २३ अर्ब ४० करोड योगदान रकम सङ्कलन भएको छ । कोषले रु दुई अर्ब २६ करोड दाबी भुक्तानी गरेको छ । रासस

Advertisement

Advertisement