पर्वतारोहण संघले मनायो डा. हर्क गुरुङको स्मृति दिवस

Advertisement

काठमाडौं । विभिन्न संस्थाले शनिबार श्री एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चर्चित भुगोलविद् स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृति दिवस मनाइएका छन् । 

‘वर्तमान सन्दर्भमा जनसंख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटनः एक सिंहवालोकन’ शीर्षकमा आयोजित कार्यक्रम नेपाल पर्वतारोहण संघ, गुरुङ पर्यटन व्यवसायी संघ, तमू बौद्ध सेवा समिति र न्यु एराले आयोजना गरेका हुन् । 

Advertisement

सो अवसरमा गुरुङका विद्यार्थी प्राध्यापक डा. भीमप्रसाद सुवेदी र डा. योगेन्द्र गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए । स्वर्गीय गुरुङले नेपालको भौगोलिक विभाजन, जनसंख्या, बसाई सराई, पर्वतीय पर्यटन र अन्य विभिन्न क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उनीहरुले उनी एक सर्वस्वीकार्य व्यक्ति भएको बताएका थिए । 

सुवेदीले भने, ‘उनको योगदानलाई कुनै एक विषयमा मात्रै सीमित गर्नु कठिन छ । नेपालको भविश्य पर्यटन हो भनेर चिनाउने व्यक्तित्व नै उनी हुन् । उनले गरेका अनुसन्धान र प्रकाशित पुस्तकहरुबाट पनि यो तथ्य प्रमाणित भएको छ ।’ 

नेपालको पहिलो पर्यटन मन्त्री, पर्वतारोहण संघका संस्थापक स्वर्गीय गुरुङसहित अन्य थुप्रै महत्वपूर्ण व्यक्तिहरु १६ वर्षअघि वन्यजन्तु संरक्षण सम्बन्धित कार्यक्रममा सहभागी भई फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । 

पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले स्वर्गीय गुरुङ नेपाली पर्वतीय पर्यटनका प्रणेता भएको बताए । उनले भने, ‘नेपालको पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउने मात्रै हैन उहाँ मन्त्री हुँदा एनएमएमार्फत प्राप्त कार्डलाई मान्यता प्रदान गरी यस क्षेत्रमा कार्यरत पर्वतीय पथ प्रदर्शक र अन्य कर्मचारीहरुको भविश्यलाई सुनिश्चित गर्ने काम उहाँले गर्नुभएको छ । उहाँ नहुनुभएको भए सम्भवतः हामी र नेपालको पर्वतीय पर्यटन अहिलेको अवस्थामा आइपुग्ने थिएन ।’

Advertisement

Advertisement