काठमाडौं । देशकै राजधानी हो काठमाडौं । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? त्यो सरकारले बुझ्नुपर्ने हो । त्यसमाथि अहिले त तीन–तीन वटा सरकार छ । देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठमाडौं ।
स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ, चाहे त्यो शिक्षाका लागि होस वा रोजगारीका लागि होस वा व्यापार व्यवसायका लागि । तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ । कतै खाल्डाखुल्टी त कतै हिलाम्मे । कतै धुलाम्मे बाटो त कतै धराप र जोखिमपूर्ण ।
चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा, पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन् । जमानामा बनेका सडकहरुमा गरिएको कालोपत्रे उप्किएर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो भइसक्यो । ढलका पाइप बिच्छ्याउन महिनौँदिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै, साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको सहजै देख्न सकिन्छ ।
सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरु विकासको कुरामा सवालजवाफमा नै सिमित छन् । चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ । दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महशुस गर्न प्रतिनिधिहरुले सकिरहेका छैनन् । राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई वयवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौ प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन् ।
कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ । कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्५ । कथामा हामीले बोलिरहनु भन्दा पनि फोटोले नै काठमाडौं उपत्यकाका सडकको वास्तविक अवस्थालाई छर्लङ्ग बोल्छ । तस्वीर स्रोतः नान