नकुहिने फोहोरबाट हस्तकलाका आकर्षक सामान बनाउँदै युरोप निर्यात गर्ने जोडी

Advertisement

काठमाडौं । कर्मालय फाउन्डेसनले कर्मालया ह्यान्डिक्राफ्ट (हस्तकला) सञ्चालनमा ल्याएको छ । संस्थाले नेपालका पिछडिएका महिलाहरूलाई जीविकोपार्जनमा सहयोग गर्न, आर्थिकरूपमा आत्मनिर्भर बनाउन र उद्यमशीलता विकास गर्न कर्मालया ह्यान्डिक्राफ्ट सञ्चालनमा ल्याएको हो । 

कर्मालया ह्यान्डिक्राफ्टले नन–बायोडिग्रेडेबल (नकुहिने फोहोर)बाट पेन्सिलको बक्स, झोला, ग्याजेट केश, म्याट, ल्यापटप केज, ट्राभल ब्याज, टोट ब्याग, मेकअप ब्याग,  आदि बनाउने र युरोपेली मुलुकहरुमा निर्यात गर्ने गर्दछ । कतिपय विदेशी पर्यटकहरु कर्मालयामा नै किन्न आउने कर्मालया फाउन्डेसनका संस्थापक भगवान कार्कीले बताए । 
 
चामलको बोरा, दालको बोरा, प्लाष्टिकजन्य वस्तुहरुको पुनः प्रशोधन गरी झण्डै डेढ दर्जन दैनिक प्रयोगका वस्तुहरु उत्पादन गरेर निर्यात गर्दै आएको कर्मालया ह्यान्डिक्राफ्टले आफूले उत्पादज गरेका वस्तुहरु विदेशी पर्यटक, विशेषगरी युरोपका मानिसहरुले निकै मन पराउने गरेको उनले बताए । 

Advertisement

पर्यटन व्यवसायीसमेत रहेका कार्कीले यी उत्पादनहरू बनाउन विपन्न महिलाहरूलाई प्राथमिकता दिने गरेको बताए । उनले आफूहरुको उत्पादन बढी युरोपका देशहरुमा बिक्री हुने गरेको बताउँदै यसको माग पनि बढ्र्दै गएको बताए । 

फाउन्डेसनले २०११ देखि सामाजिक उद्यमशीलता र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको कामलाई अझ ठोसरूपमा अगाडि बढाउन र विशेषगरी पिछडिएका महिलाहरूलाई बढीभन्दा बढी लाभान्वित गर्नको लागि कर्मालया ह्यान्डिक्राफ्टको स्थापना गरिएको कार्कीको भनाई छ । 

कार्कीकी जीवन संगिनी तथा कर्मालया ह्यान्डिक्राफ्टकी संस्थापक प्रज्ञा न्यौपानेले समाजशास्त्रमा स्नातक गरेकी छन् । धेरै जागिरहरूमा बारम्बार परिवर्तनपछि ्उनले महिला र बालबालिकाका लागि काम गर्ने संकल्प गरिन् । त्यस्तै, भगमान कार्कीले २०१० देखि नेपालको ग्रामीण जनताको जीविकोपार्जन सुधारका लागि काम गर्न सुरु गरे । काम गर्दै जाँदा दुवै संस्थापकको एकै खालको दृष्टिकोण र सपना बनेपछि कर्मालया ह्यान्डिक्राफ्ट स्थापना गरियो । 

उनीहरु दुवैले विगत ३ तीन वर्षभन्दा बढीदेखि यसलाई सञ्चालन गर्दै आएका छन् । सुरुवातमा कोरोना महामारीले पनि उनीहरु विचलित नभई कर्मालया ह्यान्डिक्राफ्टलाई निरन्तरता दिए । दुवै मिलेर सामानहरुको उत्पादन, डिजाइन र बिक्री तथा निर्यातका लागि काम गर्छन् । 

आफूहरुले कर्मालया ह्यान्डिक्राफ्टमार्फत महिलाहरूको दिगो आम्दानीको लागि आधार प्रदान गर्ने, सजिलै उपलब्ध हुने र वातावरण प्रदूषणको कारक बनेका वस्तुहरु प्रयोग गरेर विभिन्न सामानहरु उत्पादन गरी निर्यात गर्दा वातावरण स्वस्थ राख्न पनि सहयोग पुग्ने गरेको बताउँछन् । 

कर्मालया ह्यान्डिक्राफ्टमा स्थायीरुपमा काम गर्ने चार जना छन् भने ६ जना महिला घरमै बसेर हस्तकलाका सामान उत्पादन गर्ने काम गर्छन् । एक सामाजिक उद्यमको रूपमा महिलाहरूको ज्ञान, आत्मविश्वास निर्माण गर्नुका साथै उनीहरूको आर्थिक सबलीकरणका लागि काम गर्नु आफूहरुको उद्देश्य हो भन्दै कार्की दम्पत्तिले कर्मालय फाउन्डेसनले उत्पादित सामानको बजारीकरण र बिक्री गर्न मद्दत गर्ने, महिलाहरुलाई तालिम र सीप प्रदान गर्ने जस्ता काम गर्दछन् । 

नकुहिने प्लाष्टिक र प्लाष्टिकजन्य फोहरमैले जलथपका जीवहरूलाई गम्भीर असर गर्नुका साथै वातावरण प्रदूषित गर्ने भएकाले प्रकृति बचाउने कामका लागि पनि आफूहरुले काम गर्दै आएको कार्कीले बताए । उनले भने, ‘हामीले प्रकृति बचाउने प्रयास गरिरहेका छौं । कर्मालय भनेको कर्म र लय दुई शब्दले बनेको छ । तपाईंले जे गर्नु हुन्छ, त्यो कर्म हो । आलय भनेको घर हो । त्यो घरमा राम्रो काम गर्ने, घर बनाउ, थलो बनाउ भने हिसाबले कर्म प्लस आयल– कर्मालय स्थापना भएको हो ।’

आफूहरुले उत्पादन गर्ने सबै वस्तु हातले बनेका हुन भन्दै कार्कीले थपे, ‘गाहकहरुको डिजाइनका झोला बनाउछौं । उनीहरुकै इच्छाको ढाँचा र साइजमा बनाइन्छ । त्यसरी बनाएर बिक्री गरेर आएको पैसा पैसा सबै सीमान्तकृत महिला, एकल महिला र उनीहरूका परिवारलाई सहयोग गर्ने, तालिम दिने, महिला सशक्तिकरण परियोजनाहरूमा जान्छ ।’

कोरोना महामारीका बीच आफूहरुले करिब ४० लाख रुपियाँको उत्पादन बिक्री गरेको अनुभव सुनाउँदै कार्कीले भने, ‘पर्यटन क्षेत्रसँग हाम्रो राम्रो लिङक भएर होला, वर्षमा ४०–५० लाखको उत्पादन बिक्री गर्न गाह्रो भएन् । उनले कर्मालय हस्तकलाको भवन बनाउने, ग्रामीण क्षेत्रका महिलाहरूलाई सिलाई तालिम दिने र काठमाडौंमा सिलाई तालिम केन्द्र खोल्ने योजना रहेको बताए ।

Advertisement

Advertisement