दशैंको मुखमा उपासनाले दिईन युनाइटेडबाट राजीनामा, कारण बुझ्न सकिएन्ः समिति

Advertisement

काठमाडौं । युनायटेड इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिृकत (सीईओ) उपासना पौडेलले एक्कासी पदबाट राजीनामा दिएकी छन् ।  

उनले आफ्नो कार्यकाल पूरा नहुँदै युनाइटेड छोड्न खोज्नुको कारण आन्तरिक खटपट हुनसक्ने अडकल गरिएको छ । पौडेलले यसअघि आफू दबाबमा काम गर्दै आएको गुनासो गर्ने गरेकी थिइन् । 

Advertisement

बीमा समितिले पौडेलले राजीनामा दिएको कुरा सत्य रहेको र त्यसको कारण भने आफूहरुले बुझ्न नसकेको बताएको छ । कम्पनीले राम्रै प्रगति गरेको र सीईओले खाईपाई आएको सुविधा पाँच लाख रुपियाँभन्दा बढी रहेको अवस्थामा दशैंको मुखमा उनले राजीनामा किन दिईन ? भन्ने कुराले बीमा क्षेत्रमा चासो र चर्चा भइरहेको छ ।  

समितिका प्रवक्ता राजुरमण पौडेलले युनाइटेडकी सीईओ उपाषना पौडेलले अकारण राजीनामा दिएको बताए । उनले भने, ‘हामीले उहाँको राजीनामा किन हो ? बुझ्न सकेका छैनौं । पछिल्लो समयमा बीमा कम्पनीमा पूरा कार्यकाल काम गर्ने सीईओहरुको संख्या कम हुँदै गएको छ । यो खालको प्रवृत्तिले बीमा क्षेत्रमा अस्थिरता सिर्जना हुनसक्ने चिन्ता पनि बढ्न थालेको छ । उपाषना पौडेल पनि त्यही श्रृंखलाको एक पात्र बनेकी छन् । उनले सीईओ नियुक्त भएको डेढ बर्षमा नै युनाइटेड छोड्न खोजेकी हुन् । 

राजीनामाको कारण र आगामी योजनाबारे जानकारी लिन खोज्दा उनी फोन सम्पर्कमा आउन चाहिनन् । कतिपयले भने पौडेललाई हिमालयन पुनर्बीमा कम्पनीले राम्रो तलव सुविधा दिने आकर्षण दिएकाले युनाइटेडबाट राजीनामा दिएको अनुमान गरेका छन् । 

कुनै पनि कर्पोरेट हाउसमा सीईओलाई टिक्न मुख्यरुपमा तीन वटा विशेषताः आफूमा कार्यक्षमता, सञ्चालकहरुसँग हार्दिकतापूर्ण सम्वन्ध र आफ्ना कर्मचारीहरुको योग्यता र क्षमता बुझेर काम दिनसक्नुपर्छ । यीबाहेक अरु केही कारणले पनि सीईओहरु कति दिगो रहन्छन् ? भन्ने कुरा निर्धारण गर्दछ । सञ्चालकहरुदेखि अन्य स्वार्थ समूहले आफूले भनेका कुरा गर्न दबाब दिने, असहयोग गर्ने, भ्रम सिर्जना गर्ने, जस्ता कार्य हुने गरेको पनि देखिन्छ भने अर्कोतर्फ सीईओहरुको आफ्नै कार्यक्षमता कमजोर हुँदा कम्पनीको व्यवस्थापन र सुशासनमा समेत चुक्ने गरेको देखिएको छ । 

अर्कोतिर, दीर्घकालिन योजना देखाएर बीमा कम्पनीमा सीईओहरु नियुक्त हुने तर त्यो प्रतिवद्धता पूरा गर्नेभन्दा  सुविधा बढाउन मात्रै अन्य कम्पनीमा चाहर्ने प्रवृत्ति पनि कतिपयमा देखिने गरेको छ । यस्ता प्रवृत्तिमा भने कडाई गर्न समिति चुकेको देखिन्छ । 

यद्यपी एउटा बीमा कम्पनीमा काम गरिरहेको सीईओ अर्को कम्पनीमा जान छ महिनाको कुलिङ पिरियड पूरा गर्नुपर्ने व्यवस्था छ । समान पदमा जानका लागि कुलिङ लागे पनि त्योभन्दा तल्लो तहमा अर्को कम्पनीमा काम गर्न यस्तो कुलिङ लागू हुँदैन् । सीईओ भइसकेको व्यक्ति डेपुटी सीईओ भएर अर्को कम्पनी जाने र पछि सीईओ बन्ने खेल बीमा क्षेत्रमा पनि देखिन थालेको छ । 

Advertisement

Advertisement