अर्थले निकासा नै नगरेको कोरोना बीमाको पैसा निकासा भएको हल्ला, बीमितहरु फेरि जिल्लिए

Advertisement

काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको रकम तत्काल भुक्तानी गर्ने पटक पटक प्रतिवद्धता जनाउँदै आयो । सोही प्रतिवद्धताका क्रममा केही दिनअघि कोरोना बीमावापत पहिलो  एक अर्ब रुपियाँ निकासासमेत भएको हल्ला चल्यो । तर त्यो हल्ला मात्रै भएको पुष्टि भएको छ । 

प्रतिवद्धताअनुसार दिनुपर्ने कोरोना बीमाको रकम दिन्छु भनेर पनि नदिएपछि यतिबेला निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु सरकारसँग पुनः आक्रोशित बनेका छन् । कोरोना बीमावापत एक अर्ब रुपियाँ मन्त्रालयले निकासा गरेको समाचारबाट केही उत्साहित भएका उनीहरु उक्त समाचार असत्य सावित भएपछि निरास र आक्रोसित भएका हुन् । 

Advertisement

रकम निकासा भएको खबर बीमा क्षेत्रको नियामक निकाय बीमा समितिबाट आएको थियो । पहिलो चरणमा एक अर्ब रुपियाँ भुक्तानी गर्ने र बाँकी रकम बिस्तारै दिने भने पनि अर्थ मन्त्रालय भने रकम दिन आनाकानी गर्दै आएको छ । अर्थ मन्त्रालयले रकम नदिँदा महिनौंदेखि दावी भुक्तानीको प्रतिक्षामा रहेको कोरोना बीमितहरु पनि निरास र आक्रोसित छन् । 

यसअघि समितिका अध्यक्ष सूर्य सिलवालले निकै पटक अनुरोध गर्दा सचिव र मन्त्रीहरु सकारात्मक हुने तर पैसा निकासा नहुने गरेको गुनासो पोखेका थिए । उक्त गुनासो गरेको केही दिनमा कोरोना बीमावापतको एक अर्ब निकासा भएको भन्ने खबर आएको थियो । तर अहिलेसम्म मन्त्रालयबाट त्यस्तो कुनै रकम निकासा नभएको देखिएको छ । 

निर्जीवन बीमा कम्पनीहरुको साझा संस्था बीमक संघ नेपालले रकम निकासा भएको कुरा झुट्टो रहेको बताएको छ । संघका एक पदाधिकारीले कर्पोरेट नेपालसँगको कुराकानीमा भने, ‘कोरोना बीमाको पैसाको सम्बन्धमा धेरै पटक कुरा भएको हो । रकम निकासा भएको हल्ला पनि चल्यो । तर हालसम्म एक रुपियाँ पनि पाएका छैनौं ।’ 

उनले अर्थ मन्त्रालयबाट प्रतिवद्धताअनुसारको रकम आए कम्पनीहरु बीमितलाई भुक्तानी गर्न तयार भएर बसेको बताउँदै तर सरकारले नै रकम दिन आनकानी गरेको बताए । ती पदाधिकारीले रकम निकासा भएको हल्ला चलेपछि धेरै कोरोना बीमितहरु कम्पनी धाउने, फोन गर्ने क्रम बढेको बताउँदै तर आफूहरुले उनीहरुलाइ खाली हात फर्काउनुपर्दा दुःख लागेका बताए । 

उनले भने, ‘यसरी बीमितलाई झुक्याएको झुक्याई गर्दा बीमाप्रतिको विश्वसनीयतामा ठूलो प्रश्न उठने छ । वास्तमा हामीले झुक्याउने वा दुःख दिने काम गरेको होइन् । सरकारबाट भएको हो । यो बीमितहरुले पनि अब बुझिसक्नु भएको छ ।’ 

समितिका अध्यक्ष सिलवाल पनि सरकारले कोरोना बीमाको पैसा रोक्नुपर्ने खास कारण नभएको बताउँछन् । उनले बिक्री भइसकेको बीमा योजनाको सरकार आफैले जिम्मा लिएको अवस्थामा उनीहरुलाई भुक्तानी गर्नुपर्ने पैसा निकासा नगरी उपाय नरहेको बताउँछन् । 

बीमा कम्पनीहरुले भने सरकारले समयमा कोरोना बीमाको पैसा दिएर अभिभाकत्वको निर्वाह गर्नुपर्नेमा उल्टै बीमाको महत्व नबुझेको जस्तो व्यवहार गरेको गुनासो गरेका छन् । कोरोना बीमाको पैसा निकासा गर्ने कुरामा राजनीतिकरण भएको धेरैको अनुमान छ । 

कुल १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गराएकोमा एक लाख ६५ हजार ५९ जना बीमितबाट १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दावी परेको थियो । दावी भुक्तानी गर्नुपर्नेमध्ये समिति र कम्पनीको भागमा परेको हिस्सा उनीहरुले भुक्तानी गरिसके पनि सरकारले प्रतिवद्धता जनाएअनुसारको रकम भने प्राप्त नहुँदा महिनौंदेखि एक लाख १२ हजार बीमितहरु रकमको प्रतिक्षामा छन् । 

Advertisement

Advertisement