यो मुलुकले संघीयता धान्ने सक्दैन्ः मिश्र, ‘जात धर्मको नाममा राजनीति हुँदा यो देश कमजोर भयो’

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन् । 

बुधबार राप्रपामा प्रवेश गरेपछि बोल्दै उनले राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको बताए । मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति समेत जनाए । 

Advertisement

उनले मुलुकले संघीयता धान्नै नसक्ने बताउँदै राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रुपमा मुलुकले संघीयता धान्नै नसक्ने बताए । मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि मुलुक झनै कमजोर हुँदै गएको दावी गरे । 

उनले भने, ‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं । जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दामाथि उठनुपर्ने हो, त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन् । जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ सबै स्वार्थ केन्द्रित छन । जुन देश भूराजनीतिक रुपले संवेदनशील छ । कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने ?’ 

मिश्रले भने, ‘यदि राजनीति गर्ने हो भने एउटा स्पष्ट कुरा के हो भने यो देशकै निम्ति राजनीति गर्ने हो । देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुःख पायो । समाज विकृत भयो । देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो । संघीयता आर्थिक रुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि धान्न सकिदैन । भौगोलिक रुपमा त झन संघीयता धान्ने नसकिने गम्भिर विषय हो ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढि नेपाली काँग्रेसमा विचलन आएको आरोप समेत लगाए । पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने भन्दै उनले भने, ‘नाम र चुनाव चिह्नमा अल्झिएर केही हुन्न भनेर हलो बोक्ने निर्णय गरेँ ।’ मिश्रले हलोले ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने बताए । यसअघि उनको पार्टीको चुनाव चिन्ह तराजु थियो भने राप्रपाको हलो छ । 

मिश्रले भने, ‘६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने हलो बोक्न मलाई केही लाज छैन् ।’ पार्टी एकता गर्दा दुई अध्यक्ष प्रणाली उपयुक्त नहुने भन्ने नेकपा एकता हुँदा र अन्य दलको एकताका क्रममा देखिएको भन्दै आफूहरु नयाँ प्रणालीमा गएको उनले बताए ।

साथै, मिश्रले आफूमा भन्दा नेपाली कांग्रेसमा बढी विचलन आएको बताए । विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा ‘मार्ग परिवर्तन’ शीर्षकको दस्तावेज ल्याएपछि आफूमा विचलन आएको सार्वजनिक टिप्पणी भएको भन्दै उनले कांग्रेसमा धेरै विचलन आएको दावी गरे ।

मिश्रले भने, ‘मलाई पश्चगामी र प्रतिगामी के मात्र भनेनन् । नेपाली कांग्रेसका नेताहरुले ममा विचलन आएको भन्नुहुन्छ । २०४६ सालपछि कांग्रेसमा धेरै विचलन आयो कि ममा धेरै विचलन आयो ?’ 

नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध गर्दा कांग्रेसकै सरकार रहेको, लाउडा, धमिजाजस्ता विमान काण्ड पनि कांग्रेसकै पालामा भएको भन्दै कांग्रेसका नेता वीपी कोइरालाको आदर्श अहिले राप्रपाले बोकिरहेको बताए । उनले भने, ‘कांग्रेसको आदर्श हामीले बोकेका छौं । राष्ट्रिय मेलमिलापको नीति हामीले बोकेका छौं ।’

कांग्रेसले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराइलाई रुवाएर पार्टी छाड्न बाध्य बनाएको पनि मिश्रले स्मरण गरे । विगतमा आफ्नै कार्यकर्तामाथि आक्रमण गर्ने नेकपा माओवादी केन्द्रसँग घाँटी जोडेको भन्दै उनले भने, ‘तपाईहरुले कार्यकर्ताको घाँटी रेट्नेसँग बढी समय बिताइरहनुभएको छ कि जनतासँग ?’

Advertisement

Advertisement