‘ज्यूँदो शहीद’को दर्दनाक कथाः पिरोलिँदै बित्छन् कायस्थ परिवारको दशैं

Advertisement

काभ्रेपलाञ्चोक । आजदेखि नेपालीको महानपर्व दसैँ शुरु भएको छ । चाडपर्वले उल्लासमय बनिरहेका बेला वरपर, छरछिमेकी सबै हर्षित देखिएका छन् । बितेका १७ वर्षमा कस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का ‘ज्यूँदो शहीद’ मुकेश कायस्थलाई थाहा छैन । अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष भइसक्यो । बाबाआमा भनेर बोलाउला भन्ने आसमा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारमा अझै आशा मरेको छैन । 

दोस्रो जनआन्दोलनमा बायाँ कञ्चटमा गोली लागेर गम्भीर घाइते छोरा मुकेशको स्वास्थ्य अवस्था राम्रो होला भनेर कायस्थ परिवारले दिन गन्दै बसेको पनि १७ वर्षभन्दा धेरै भइसक्यो । मुकेशकी आमा मीरा भन्छिन्, “छोरालाई ठीक होला भन्ने आशा अझै मारेका छैनौँ ।” तर मुकेश चार वर्षदेखि दुब्लाउँदै गएको, पहिले जस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरुलाई ‘पीरमाथि पीर’ थपिएको छ ।

Advertisement

छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिनुहुन्छ । “दशैं–तिहारमा छिमेकका घर खुसियालीका साथ झिलिमिली गर्दै, परिवार र आफन्तसँग खुसियाली बाँडेको देख्दा मन निकै पोल्छ, कतै मेरो छोरोले आमा भन्देओस्”, आमा मीराले दुःखेसो पोख्नुभयो, “दशैं नजिकिएको बेला कहिलेकाहीँ त मुकेशले घरको छतमा चङ्गा उडाउँदै होला भन्ने झस्को पस्छ ।” 

मुकेश परिवारको एक्ला छोरा हुनुहुन्छ । “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, आफैँ मनन् गर्नस् त ?” बाबु कृष्णमान प्रतिप्रश्न गर्छन् । 

कसैले उहाँको नाम लिएर बोलाउँदा ‘हँ हँ, माँ’ भनेर बोल्नसक्ने मुकेश हाल बोल्न सक्नुभएको छैन । परिवारका अनुसार हाल मुकेश अहिले ३२ वर्षको हुनुभयो । लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । “मुकेशले मुखबाट नखाएको पनि चार वर्ष भइसक्यो”, बाबु कृष्णमानले भने । मुकेश हाल दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्छन् ।     

लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेश बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदखि उनको होस् अझै खुल्न सकेको छैन भने बाँया हात राम्रोसँग चल्दैन । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो छ । सत्र वर्षदेखि अर्धचेत अवस्थाका छोरा मुकेशलाई सुतिरहेको हेरेर उहाँकी आमा मीरा भविष्यबारे सधैँ चिन्तित हुनु त दैनिकी नै भयो । अझै पनि छोराले नयाँ लुगामा सजिएर आमाबाबुसँग हाँसखेल गरेको देख्न पाउने, नपाउनेमा मीरा सशङ्कित छिन् । “दशैं–तिहारमा मुकेशलाई ओछ्यानमै टीका लगाइदिनुपर्दाको क्षण कम्ती पीडादायक हुन्न”, मीराले भनिन् ।

उनका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुने गर्छन् । कायस्थ दम्पती मुकेशलाई हँसाउन खोज्छन् तर मुकेश बाबुआमाले खोजेको हाँसो दिन सक्दैनन् । “हातगोडा नचले पनि कुरा गर्छ कि भन्दै बेलाबेलामा बोलाउँछु, मुकेश हाँस्न खोज्छ अनि हँ मात्रै गर्छ”, कृष्णमान पनि आँसु झार्दै पीडा पोख्छन् । आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा आठमा पढ्दै थिए । 

मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा बसेको छ कायस्थ परिवार । दलका नेता तथा सरकारी उच्च तहका व्यक्तिले मुकेशलाई भेट्न आउँदा आश्वासन पनि नदिएका होइनन् तर, देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहत छ परिवार । हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे निगरानी गरिरहनुभएको परिवारले जनाएको छ । टाउकोमा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुने हुँदा समस्या भइरहेको चिकित्सकलाई उद्धृत गर्दै मीराले भनिन् ।

आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । कृष्णमानले भने, “आन्दोलनका घाइते र शहीदलाई सरकारले कहिल्यै भुल्नुहुन्न ।” मुकेशको नाममा बनेपामा पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने उहाँहरुले सरकारसँग माग गर्दै आउनुभएको छ । तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो । सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरूप मासिक रु १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ । मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ ।

दोस्रो जनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिएका थियो । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए । 

Advertisement

Advertisement