खाद्य कम्पनीको सुपथ मूल्य पसलबाट खसी बोका बिक्री सुरु भयो, च्याङ्ग्रा अती महंगो

Advertisement

काठमाडौं । बडा दशैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण शुरु भएको छ । 

कम्पनीको थापाथलीस्थित कार्यालयबाट बुधवारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण शुरु भएको हो । कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसो सम्ममा तीन सय वटा खसी बोका र सय वटा च्याङ्ग्रा बिक्री भइसकेको कम्पनीकी कर्मचारी ज्ञानु थापाले जानकारी दिइन् । 

Advertisement

उनले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले चेकजाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताइन् । थापाले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्यभन्दा सस्तो गरी बिक्री भइरहेको बताइन् । अहिले कम्पनीको थापाथलीस्थित कार्यालयमा उपभोक्ताको चहलपहल देखिन्छ । 

थापाले कम्पनीले असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बताइन् । बिक्री कक्षमा नपुगेका उपभोक्ताहरुका लागि सहकारी डिलर लगायतका माध्यमबाट उपभोक्ताका घर घरमा उपभोग्य सामग्री पुर्याएको उनको भनाई छ । थापाले थापाथली बिक्री कक्षमा दैनिक ४ सय देखि ५ सय जनासम्म उपभोक्ताले सेवा लिइरहेको बताइन् । 

ललितपुर सातदोबाटोबाट खसी किन्न आएका प्रदीपजंग कार्कीले खसी, बोकाको भाउ चित्तबुझ्दो भएपनि च्याङ्ग्राको भाउ धेरै महंगो भएको बताए । विभागले १० रुपियाँ छुटसहित जिउँदो खसी प्रतिकेजी ६७० रुपियाँ, जिउँदो बोका प्रतिकेजी ६७० रुपियाँ र जिउँदो च्याङ्ग्रा एक हजार २५० रुपियाँमा बिक्री वितरण गरिरहेको छ ।

Advertisement

Advertisement