खरीद ऐन देखाएर ठूला विकास आयोजनामा विदेशी ठेकेदार हाल्दा आर्थिक विकृति बढ्योः भुसाल

Advertisement

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरुयोजना नभएको बताएकी छन् । 

बिहीवार नेपाल इन्जिनियर्स एशोसिएशन र नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकमबीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धि लगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उनले सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको खुलासा गरिन् । 

Advertisement

भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरु राखेर वृहत गुरु योजना बनाउनु आवश्यक रहेको बताउँदै अहिलेसम्म भएका भौतिक पूर्वाधार विकासले आर्थिक सामाजिक विकाससँग जोड्न नसकेको बताइन् । अहिलेसम्म भौतिक पूर्वाधार विकास अपभ्रममार्फत भइरहेको उनको तर्क छ । 

भुसालले सरकार, राजनीतिक दलहरुले संविधान बनाउँदा राष्ट्रिय सहमति गरेजस्तै भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय सहमति गरी समग्र मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक सामाजिक विकासलाई एकीकृत गरेर देशको गुरु योजना बनाउनु आवश्यक रहेको बताइन् । उनले विकास विज्ञहरुसहित नेपालको नक्शा राखेर पूर्वपश्चिम दु्रत मार्ग, रेलमार्ग ,अन्तर्राष्ट्रिय विमानस्थल कति बनाउने र त्यसमा राज्यको स्रोतले कति धान्छ भन्नेकुराको हेक्का राखेर गुरुयोजना बनाउनुपर्ने बताइन् । 

मन्त्री भुसालले त्यस्ता गुरुयोजनामा बस्ती विकासलाई कसरी जोड्ने ? भन्ने विषयमा वृहत छलफल गर्नु आवश्यक रहेको बताइन् । उनले नेपालको सार्वजनिक खरिद ऐन अनुसार ठूला विकास आयोजनाहरुमा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृति भएको बताइन् ।  त्यस्ता काम नेपाली इन्जिनियरहरुले गर्न सक्नुपर्ने उनको जोड थियो । 

भुसालले विभिन्न सरकारी निकायमा वा सरकारी निकाय भन्दा बाहिर रहेका इन्जिनिएरहरुले आफैँ योजना बनाउने काम नगरेको भन्दै गुनासो गर्दै कुनै डिजाइन, गर्नुपर्दा कन्सल्टटेन्ट, कन्स्ट्रक्सन गर्न कन्ट्याक्टर, अनुगमन र निर्माण सम्पन्नताको प्रमाण दिने कन्सल्ट्यान्टलाई दिनुपर्ने चित्त नबुझेको बताइन् । उनले धेरै खर्च गरेर अध्ययन गरेर इन्जिनियर बनेपनि आफैँले डिजाइन, योजना नबनाउने अवस्था रहेको बताइन् । 

धेरै रकम खर्च गरेर प्राप्त गरेको इन्जिनियरिङ सम्बन्धि ज्ञानको प्रयोग नभएको भुसालको भनाई थियो । उनले इन्जिनियरिङ स्टाप कलेज स्थापना तत्काल गर्नुपर्ने बताइन् । भुसालले देश विकासको मुख्य जनशक्ति इन्जिनियर भएको बताउँदै देशको भौतिक तथा आर्थिक विकासलाई एकीकृत गर्नको लागि प्राविधिक विषयको विभिन्न महत्त्वपूर्ण विधामा काम गर्ने संस्था बीचको सहकार्यले महत्तवपूर्ण योगदान पुग्ने बताइन् । 

Advertisement

Advertisement