चलायमान अर्थतन्त्रका लागि बीमाः राजुरमण पौडेल

Advertisement

बीमा क्षेत्रले देशका गाउँगाउँमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा ल्याउने काम गरिरहेको छ । गाउँगाउँमा विभिन्न आयस्रोतबाट आर्जन हुने रकमलाई बीमाले एउटै डालोमा जम्मा पार्न सघाउँदै आएको छ । त्यसरी एउटै डालोमा आएको पैसा भनेको कम्पनीहरुद्वारा बीमाशुल्कवापत् संकलन भएको रकम हो । त्यस्तो अधिकांश रकम कम्पनीहरुले बैंकको मुद्धती निक्षेपमा राखिरहेको अवस्था छ । 

कम्पनीहरुलाई बीमा समितिले लगानी विविधीकरण गरेर विभिन्न क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ । अहिले बीमा कम्पनीहरुले ८० प्रतिशत रकम मुद्धती निक्षेपमा नै राख्ने गरेका छन् । अझै केलाएर हेर्ने हो भने ८० प्रतिशत भन्दा धेरै लगानी मुद्धती निक्षेपमै छ । 

Advertisement

बीमा समितिले बीमा कम्पनीहरुलाई लगानीको उपयुक्त बाटो (कन्सोर्टियम) तयार गर्न निर्देशन समेत दिएको छ । त्यस्तो गरेमा कम्पनीहरुले स्वास्थ, शिक्षा, उत्पादनमूलकलगायतका क्षेत्रमा पैसा लगानी गर्न पाउँछन् । अहिले सरकारले पनि उत्पादनमूलक क्षेत्रको विकासका लागि केही काम गरेको छ । यसपालिको बजेटमा उत्पादनमूलक क्षेत्रमा बीमाले जोड दिने भन्ने सन्दर्भ आएको छ ।

बीमा कम्पनीहरुले कुनै पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न चाहेमा त्यसलाई बीमा समितिले स्वीकृति प्रदान गर्छ । बीमा कम्पनीहरुले गर्ने लगानीको विषयलाई थप स्पष्ट पार्न गृहकार्य भैरहेको र केही समयभित्रै लगानी सम्बन्धी निर्देशन गर्ने तयारीसमेत भएको छ ।  

बैंकले राष्ट्रलाई योगदान गरेको छ भन्ने कुरा सधैं भनिन्छ, तर बैंकसँगै बीमा जोडिएको विषय गौण हुन पुग्छ । बीमा क्षेत्रले बैंकमा थुप्रै रकम राखेको हुन्छ, यो कुरा सबैले बुझ्न जरुरी छ । 

हामीले बीमा कम्पनीहरुलाई बारम्बार भनेका छौं– ठूलाठूला जलविद्युत् आयोजनामा लगानी गनु । जीवन बीमा कम्पनीको पैसा दीर्घकालको लगानी हो भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । आज लिएको पैसा जीवन बीमा कम्पनीले २० वर्षपछि दोब्बर बनाएर दिन्छ र बीमितलाई बोनस समेत दिने गर्छ । जीवन बीमाको रकम लगानी गर्दा धेरै विचार गर्नुपर्ने हुन्छ । निर्जीवन बीमा कम्पनीको हकमा त्यति धेरै समस्या देखिँदैन । निर्जीवन बीमा एक वर्षे अवधिको लागि गरिन्छ र उक्त अवधि सकिँदा बीमितले क्षति भएमा बीमांक पाउँछन् । क्षति भर्नु नपरेको पैसा मात्र लगानी गर्ने हो । यता जीवन बीमामा भने लगानी गर्नै पर्ने हुन्छ । जीवन बीमामा लगानीको आकर्षण राम्रो छ, बीमा कम्पनीहरु उत्साहित नै छन् । तर हामीले खोजेको चाहिँ राम्रो प्रतिफल हो । 

बीमा कम्पनीहरुले संकलन गरेको पुँजी ठूलो हुन्छ । यसलाई अब कम्पनीहरुले विविध क्षेत्रमा लगानी गर्न आवश्यक छ । हाम्रो मुख्य ध्येय भनेको एकै ठाउँमा लगानी गर्नुहुन्न भन्ने हो । बीमा कम्पनीहरुले आफूले संकलन गरेको पैसालाई धेरैतिर लगानीको रुपमा छर्न सक्नुपर्छ अनि मात्र त्यसबाट राम्रो प्रतिफल आउँछ । 
बीमा कम्पनीहरुले बैंकमा मात्रै पैसा राख्दा केही गरी बैंक नै जोखिममा पर्ने अवस्था सिर्जना भयो भने भोलि बीमितलाई बोनस दिन समस्या पर्न सक्छ । हामीले बीमितलाई दिने बोनसमा पनि कुनै समस्या नपरोस् भनेर लगानीलाई विविधीकरण गर्नु भनेका हौं ।

बीमा गर्दा गरिबी कम हुन्छ 
गरिबलाई थप गरिब हुन नदिने पहिलो माध्यम नै बीमा हो । बीमा सुख–दुःखको साथी हो । बीमा गर्दा केही बीमाशुल्क बुझाउने हो, तर जोखिम पर्दा ठूलो सम्पत्तिको रक्षा हुन्छ । यसले पनि ठूलो गरिबी रोक्छ । सरकारले पनि बीमामा अझै अनुदान दिनु जरुरी छ । त्यस्तो सहयोगले गरिबले आफ्नो आर्थिकस्तर उकास्ने मौका पाउँछन् । घर बनाउन नसक्नेले घर बनाउन पाउँछन् । 
बीमामा रोजगारीको अवसर पछिल्लो समय धेरै बढेको छ । बीमाको पहुँच ४२ प्रतिशत जनताबीच पुगेको छ । अभिकर्ता, सर्भेयरका रुपमा पनि धेरैजनाले रोजगारी पाएका छन् । यसरी बीमाले ठूलो रोजगारीको अवसर र जोखिम पनि बहन गरेको छ । 

लगानी विविधीकरण आवश्यक 
बीमा कम्पनीका लागि लगानी विविधीकरण उत्तम उपाय हो । तर लगानी सुरक्षित ठाउँमा गरिनुपर्छ । अहिले बीमा कम्पनीहरुको गुनासो नै लगानी गर्न मन भए पनि सुरक्षित ठाउँको अभाव हुनु हो । सुरक्षित क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरुलाई गाह्रो परिरहेको छ ।  

लामो समयपछि प्रतिफल दिने ठाउँमा बीमा कम्पनीले लगानी गर्दा राम्रो हुन्छ । हामीले बीमा कम्पनीलाई होटल खोल्न पनि मार्गप्रशस्त गरिदिएका छौं । हामीले अब निर्देशिका ल्याउँदा केही ठाउँ खुल्ला राखेर नै लगानी गर्न निर्देशन दिन्छौं । बीमा कम्पनीहरुले डराएर मात्रै भएन । उनीहरुले अर्को कम्पनी बनाएर त्यसको विज्ञताको आधारमा आफ्नो पैसा लगाउनुप¥यो । ठूला संस्थाको संस्थापक भएर पनि बीमा कम्पनीले लगानी गर्न सक्छ । 

लगानीका निम्ति निर्जीवन बीमा कम्पनीसँग ठूलो पुँजी हुँदैन, तर जीवन बीमा कम्पनीले भने यसबारे सोच्नैपर्छ । जीवन बीमा कम्पनीले यहाँ मात्र होइन बाहिरका देशमा पनि आफ्नो लगानी विविध क्षेत्रमा गर्दै आएका छन् । 

अहिलेसम्म बीमा कम्पनीहरुले आफ्नो लगानीकै प्रतिफललाई मुख्य आम्दानी बनाएका छन् । अब त्यस्तो आम्दानी बढाउनुपर्ने बेला भएको छ । सधंै पहिले जे थियो त्यही आम्दानीको पछि लागेर बीमा कम्पनीहरु चल्न कठिन हुन्छ । फराकिलो हिसाबले अघि बढ्ने मौका खोज्नुपर्छ । कम्पनीले आफूले पनि कमाउने र बीमितको लगानी सुरक्षित गर्ने काम गर्नुपर्छ । 

अर्थतन्त्रमा बीमाको योगदान 
गरिबीको रेखामुनि रहेका जनतालाई बीमाले सघाउँदै आएको छ । बीमाकै कारण देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्दै आएको छ । बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाइएको छ, उनीहरुले वार्षिक रुपमा देशको ठूलो पुँजीलाई चलायमान बनाउन मद्दत पु¥याएका छन् । 

सरकारले आर्थिक अवस्था कमजोर भएका नागरिकको बीमा गर्न सघाउनुपर्छ । बीमाशुल्क तिर्न सक्ने र नसक्ने दुवै वर्गका नागरिकलाई बीमा अपरिहार्य भइसकेको छ । 

बीमाले सुरक्षा दिन्छ भन्ने कुरा नागरिकले बुझ्न जरुरी छ र बीमा कम्पनीले पनि दाबी भुक्तानीमा ढिलाइ गर्नु हुँदैन । एउटा मोटर साइकल हरायो भने अर्को मोटरसाइकल तुरुन्तै किन्न बीमाले पैसा दिन्छ, दिनुपर्छ । 

लघु बीमा गरिबको पनि बीमा हो
लघु बीमा ससाना बीमालाई लक्षित गरेर ल्याइएको हुन्छ । लघु बीमामा जीवन बीमा र निर्जीवन दुवै समावेश हुन्छ । यसले गरिबीको रेखामुनि रहेका नागरिकलाई सघाउँछ, त्यसका लागि सरकारले आर्थिक अवस्था कमजोर भएका नागरिकको सुरक्षा गर्ने अवधारणमा सहयोग गर्नुपर्छ । 

दैवी तथा प्राकृतिक विपत्तिमा सरकारले राहत दिने भन्दा पनि बीमा कम्पनीले दिने सहयोग नै वास्तवमा ठूलो कुरा हुन सक्छ । एउटा व्यक्तिले नै परिवार पाल्ने हाम्रो नेपाली समाजमा बीमा झनै आवश्यक छ । भैंसी म¥यो भने टाउकोमा हात लाएर रुन आवश्यक छैन । बीमाले सघाउँछ, किनकि दूध बेचेरै पनि भैंसीको बीमा गर्न सम्भव छ । प्राविधिकले सबै कुरा हेरेर बीमा गर्न सघाउँछन् । 

नागरिकलाई सन्देश 
अभिकर्ताको ठूलो योगदान हुने क्षेत्र हो, बीमा । बीमा कम्पनीले अभिकर्तालाई कहीँकतै राम्रो शिक्षा दिन सकेनन् होला, त्यो हामीले स्वीकार्नुपर्छ । अब एक घर एक परिवार बीमा गर्ने बजेटको अवधारणाअनुसार काम गर्न आवश्यक छ । आफ्नो सम्पत्तिको बीमा र आफ्नो जीवनको बीमा गरेर हरेक नागरिक ढुक्क भएर हिँड्न सक्ने अवस्था छ । त्यस्तो अवस्था बीमाले नै निर्माण गरेको हो ।
सबैभन्दा पहिला बीमा कम्पनी र बीमित मिलेर दाबी भुक्तानीको समस्या समाधान गर्नुपर्छ । त्यसबाट समस्या समाधान भएन भने बीमा क्षेत्रको पहिलो अदालत बीमा समितिमा आउनुपर्छ । हामीकहाँ आएपछि धेरै बीमितको समस्या समाधान हुन्छ ।  

बीमा भनेको आजलाई मात्र नभई भोलिको लागि गरिएको बचत हो । बीमासँग बचत र रक्षावरण दुवै जोडिने भएकाले यसको ठूलो महत्व छ । हामीले संसारमा खोज्ने हो भने बीमा मात्र एउटा यस्तो साथी हो जसले साँच्चै आपद् पर्दा साथ दिन्छ । 

बीमाको महत्व नेपालमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा समेत बढ्दो छ । दैनिक बढिरहेका जोखिमबाट बीमाले नै जोगाउन सक्छ । अहिले जोखिम नभएको ठाउँ हामीले कल्पना गर्न मुस्किल छ । जोखिम भएको ठाउँमा काम गर्न मानिसलाई सधैं डर हुन्छ । अझ भनौं, जोखिमकै कारण मानिसलाई बाँच्न समेत समस्या पर्ने गर्छ र जनजीवन कष्टकर बन्न पुग्छ । यसरी जोखिम बढिरहेको अवस्थामा सबैलाई सुरक्षाको ठूलो खाँचो पर्छ । सुरक्षा दिने एउटा विश्वासिलो अस्त्र भनेको बीमा नै हो । बीमाको इतिहासलाई पल्टाएर हेर्ने हो भने, यसको थालनी गुठी, सामूहिक कार्य, आर्थिक सहयोगबाटै भएको देखिन्छ । जुनसुकै बीमाको काम भनेको व्यक्तिलाई आर्थिक सहायता दिने नै हो । 

नियमनकारी निकाय बीमा समितिको कुरा गर्ने हो भने, अहिलेको बीमा समिति पहिलेको भन्दा भिन्न छ । यसको मतलब बीमा समितिले काम गर्ने तरिका फेरिएको छ । पहिले प्रविधिको पहुँच नै कम थियो, तर अहिले विगतको तुलनामा यो निकै बढेको छ । त्यस्तै, बीमाको पहुँच पनि प्रविधिको पहुँचसँगै तुलना गरेर हेर्न सक्छौं । प्रविधिको पहुँच बढेकैले पनि विद्युतीय बीमाको अवधारणा अहिलेको समयको माग बनेको छ । प्रविधि दैनिक नयाँनयाँ मोडेलबाट अघि बढिरहेको छ भने बीमा क्षेत्र पनि प्रविधिसँग अभ्यस्त हुन थालेको छ ।

सानो देश भएर पनि नेपालको बीमाको अवस्था अन्य देशको तुलनामा राम्रो छ । बीमाको विकासका कुरा गर्दा विकसित सहरलाई नै उदाहरण मान्न सक्छौं । आजको गाउँ भोलि सहर बन्छ, हामीले यही कुरा मनन गर्दै बीमाको पहुँच बढाउँदै लैजानुपर्छ । बीमा समितिले सधैं बीमा क्षेत्रको विकासका लागि काम गर्दै आएको छ । हामी आफै नियमनकारी निकाय भएकाले बीमा कम्पनीहरुले ल्याएका नयाँनयाँ योजनालाई बजार सुहाउँदो बनाएर बिक्री–वितरण गर्न प्रोत्साहन गरिरहेका छौं ।
 
बीमा समितिको मुख्य भूमिका भनेको सहजीकरण गर्ने हो । त्यसपछि कम्पनीहरुलाई पत्र काट्ने तथा निर्देशन दिने हो । हामीले दिएको निर्देशन भन्दा बाहिर कम्पनीहरु गएमा मात्रै हामीले कारबाहीको प्रक्रिया अघि बढाउने हो । यसरी हेर्दा बीमा कम्पनीहरु सुध्रिनुपर्छ भन्ने नै नियमनकारी निकायको हिसाबले हामीले सोच्ने कुरा हो । यो नेपालमा मात्रै नभएर संसारका सबै नियमनकारी निकायले सोच्ने कुरा हो । नियामकले अविभावकको भूमिका निर्वाह गर्नुपर्छ भन्ने हामीले बुझेका छौं । 

बीमा कम्पनीले बजार सुहाउँदो र आवश्यकता अनुसारको प्रतिस्पर्धा गर्नुपर्छ । सरकारले पनि बीमा क्षेत्रको महत्व बुझेर जनतालाई बीमाको अपरिहार्यताबारे चेतना जगाउनुपर्छ । 

पछिल्लो समय बजेटमा बीमा क्षेत्र समेटिएको हेर्दा विगतको भन्दा अहिले सरकारले बीमालाई हेर्ने नजर नै फरक बनेको देखिन्छ । सरकारले स्थानीय तहबाटै बीमाबारे चेतना जगाउन र बीमाको पहुँच बढ्दा रक्षावरण समेत धेरै जनताको हुने कुरा बुझेको छ । आगामी दिनमा बीमाको पहुँच थप बढ्दै जानेछ । बीमा क्षेत्रलाई थप फराकिलो बनाउन सबैको साथ र सहयोग अपरिहार्य छ । 
(बीमा समितिका कार्यकारी निर्देशन पौडलको विचार नाफिजको प्रकाशन अर्थचित्रबाट साभार ।)

Advertisement

Advertisement