नेपालको बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, बीमा कलेज खोल्नुपर्छः डा. घिमिरे

Advertisement

काठमाडौं । डा. रबिन्द्र घिमिरे बीमा विज्ञ हुन् ।  हाल नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष समेत रहेका उनले नेपालको बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको बताउँदै त्यो अभाव पूर्ति गर्न बीमा कलेज खोल्नुपर्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले त्यस्तो कलेज सरकार, बीमा समिति, पुनर्बीमा कम्पनी मिलेर खोल्न सकिने बताए । घिमिरेले बीमा कम्पनीको काम जनताको जोखिममा सुरक्षाको छाता ओढाउने हो भने पुनर्बीमा कम्पनीको काम बीमा कम्पनीलाई नै छाता ओढाउने रहेको बताए । 

Advertisement

उनले बीमा कम्पनीको छाता बलियो हुनुपर्छ भने पुनर्बीमा कम्पनीको छाता बलियो र ठूलो दुवै हुनु पर्ने तर्क गरेका छन् । घिमिरेसँगको कुराकानी जस्ताको तस्तैः 

बीमा उद्योगको काम जनताहरुलाई सुरक्षा दिने हो । त्यसैले बीमा कम्पनीले आम जनताको दुखमा, जोखिममा छाता ओढाउँछन् भने पुनर्बीमा कम्पनीले बीमा कम्पनीलाई नै छाता ओढाउछन् । सिद्धान्त यही नै हो । 

बीमा कम्पनीको छाता जति ठूलो हुन्छ, त्योभन्दा ठूलो छाता पुनर्बीमा कम्पनीको हुन जरुरी छ । यदी पुनर्बीमाको छाता ठूलो भएन भने त्यसले कम्पनीलाई ढाक्दैन । म त भन्छु पुनर्बीमाको छाता ठूलो मात्र नभई बलियो पनि हुन त्यतिकै जरुरी छ । अहिले हामीले हाम्रो क्षमता वृद्धि गर्नुपर्ने अवस्था छ । 

यसमा पुनर्बीमा कम्पनीले क्षमता बढाउँनु भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । जति बेला नेपालको बीमा उद्योगको आकार सानो थियो, त्यति बेलामा अहिले भइरहेका पुनर्बीमाको आकार पनि ठिक थियो । विगतमा बीमा बजारको आकार १५–१६ अर्ब रुपियाँको हाराहारीमा थियो । त्यति बेलाको बजारलाई लक्षित गरेर यो पुनर्बीमा कम्पनी स्थापना गरिएको हो । तर, अहिलेको बीमा बजारमा फेरिएको अवस्था छ । यहाँ भएका बीमा कम्पनीहरुले आफ्नो आकार बढाईसकेका छन् । 

बिस्तारै पुनर्बीमाले पनि आफ्नो छाता बलियो बनाउँदै गरेको अवस्था छ भने यसलाई अझै मजबुत बनाउन जरुरी छ । मैले एउटा यही कुरा राख्न चाहान्छु भने अर्को अन्तर्राष्ट्रियस्तरमा बीमाको विभिन्न आयामहरु हुन्छन् । त्यसले विश्वव्यापी बजार कसरी अघि बढ्ने ? भन्ने रणनीति तय गर्छ । अर्को क्षेत्रीय रणनीतिका पनि कुराहरु आउँछन् । यस्ता चारैतिर पुनर्बीमाले नजर लाउन जरुरी छ ।

बीमा कलेजको खाँचो
नेपालको बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । दक्ष जनशक्ति उत्पादन गर्न बीमा कलेजको आवश्यकता पर्छ । त्यसका लागि सरकार, बीमा क्षेत्रको नियामक निकाय बीमा समिति वा पुनर्बीमा कम्पनीले कलेज स्थापना गर्न मिल्छ । त्यस्तो अनुमति पाएमा पुनर्बीमा कम्पनीले पनि बीमा कलेज चलाउन सक्छन् । 

त्यस्तो कलेज स्थापना भए बजारको जनशक्ति अझ दक्ष बन्ने मौका पाउने थिए । जनशक्ति दक्ष हुने बित्तिकै हामीले अन्तर्राष्ट्रिय व्यापारमा पनि बीमाको पहुँच बढाउन सक्थ्यौं ।

Advertisement

Advertisement