दशैंले एनबीए र गभर्नरलाई सदबुद्धि दियोस्ः रौनियार, लगानीकर्तामा धैर्यता मिलोस्ः पोखरेल

Advertisement

काठमाडौं । शेयर लगानीकर्ताहरुका नेता तथा नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियाले आफू परिवारसँगै घरमा दशैं मनाइरहेको बताउँछन् । उनले दुर्गा पूजा घटस्थापनाबाट सुरु भएकोले सोही दिनबाट जमारा राखेपछि बाहिर घुम्न नगएको बताए । 

रौनियारले भने, ‘मलाई त बगैंचामा बस्न र प्रकृतिसँग रम्न औधी मन पर्छ । दशैंको बेलामा पनि मैले बगैंचामा बस्नेगर्छु । हाम्रो पाँच दाजुभाईमा म सबैभन्दा कान्छो हो । मेरो ससुराली काठमाडौंमै छ । म काकाको हातबाट टीका थाप्छु ।’
 
उनले दशैंपछि शेयर बजारमा राम्रो होस् र आम लगानीकर्ताको हित होस् भन्ने कामना पनि गरे । त्यसका लागि बैंकको ब्याजदरमा कमी गर्नुपर्ने रौनियारले बताए । उनले भने, ‘ब्याजदर घटाउनुपर्छ भन्ने  सदबुद्धि एनबीए (नेपाल बैंकर एशोसियशन)लाई पनि आओस् भन्ने मेरो शुभकामना छ । अझ राष्ट्र बैंकका गभर्नरलाई सद्बुद्धि आओस् । किनभने व्याजदर घट्दा शेयर बजार मात्र नभई सबै क्षेत्रका साना लगानीकर्तालाई ठूलो सकारात्मक असर पर्छ ।’

Advertisement

त्यस्तै, शेयर बजारकी नेतृ तथा नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले यस बर्षको दशैंमा आफू काठमाडौंमै रहेको बताइन् । तर दशैं मनाएपछि भने पुख्र्यौली थलो बर्दिबास जाने उनले बताइन् । 

दशैंको फुर्सदको समय राजधानीमा रहेका लगानीकर्ताहरुसँग भेटिरहेकी पोखरेलले शेयर लगानीकर्तालाई धैर्यता राख्ने क्षमता दुर्गा माताले प्रदान गरुन भनी कामना गरिन् । उनले भनिन्, ‘नवदुर्गा भवानीले सबैलाई सहनसक्ने क्षमता दिनुहोस् भन्न चाहान्छु । बजारमा आत्तिने र मात्तिने चलन कम होस्, आफ्नो क्षमता अनुसारको लगानी गर्ने बानी सबैले बसाल्नुहोस् भन्न चाहान्छु । घाँटी हेरेर हाड निल्नुपर्छ भने जस्तै शेयर बजारलाई साइड जबको रुपमा समेत हेर्ने बेला आएको छ ।’

पोखरेलले अहिले शेयर बजारमा हेर्ने हो भने अल्ली दुःख लाग्दो नै अवस्था रहेको र त्यस्तो प्यानिक अवस्था चाँडै नै हट्ने बताईन् । उनले शेयर बजारले चाँडै नयाँ मोड लिने आशा पनि व्यक्त गरिन् । दशैं मनाउँदा फजुल खर्च गर्नेभन्दा पनि आफ्नो आम्दानी अनुसारको ठिक्क खर्च गर्नुपर्ने पोखेरेलको सुझाव छ । 

Advertisement

Advertisement