स्रोतमै फोहर वर्गीकरणः भएन कार्यान्वयन

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन ।

फोहर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले गत साउन १ गतेदेखि स्रोतमै कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।

Advertisement

जुनसुकै बार पनि नागरिकले सबै किसिमको फोहर एकै भाँडोमा राखेर महानगरको गाडीसम्म लाने गरेको भेटिएको छ । उता फोहरको दीर्घ व्यवस्थापन गर्ने वञ्चरेडाँडामा पनि कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि स्थान तयमै पनि अलमल देखिएको छ ।

महानगरपालिकाले फोहर नछुट्याएर रु पाँच सय जरिवाना गर्ने भनी सूचना जारी गरेको थियो । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र विसं २०७७ मा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ । 

Advertisement

ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले घरमै जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।

विकसित मुलुकले सहरबाट निस्कने फोहरलाई व्यवस्थित रूपमा विसर्जन गरी आन्दानीको स्रोतका रुपमा उपयोग गरिरहेका छन् तर काठमाडौँको फोहर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ । त्यसो हुनु दीर्घकालीन योजनाको अभाव हो  ।

विज्ञका अनुसार फोहरलाई  प्रारम्भमैै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा जुटको झोलाको प्रयोग बढाउने, शून्य फोहर (जिरो वेस्ट) अवधारणा प्रवद्र्धन गर्ने र आधुनिक प्रविधि प्रयोग गर्नसके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु जरुरी छ ।

कामपाको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर जान्छ । नजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा २०० गाडीले फोहर ओसार्छन् ।

जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १६ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ । सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो। बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी जमिन छुट्याइएको छ ।

सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिकटनसम्म फोहर फाल्ने गरिएको छ । उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा सिसडोलमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिँदै आएको छ । 

जारी छ, स्थान पहिचानको काम 
कामपाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम जारी रहेको जनाएको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटकपटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरुपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानको काममा लागिएको कामपाले जनाएको छ । 

बञ्चरेडाँडामा हानिकारक  फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । त्यसका लागि उपत्यकामा तीन स्थानमा पहिचान गरिएको छ । बीचमा केही अवरोध नआए आगामी मङ्सिरदेखि उक्त स्थानमा कुहिने फोहर व्यवस्थापनको कामको थालनी हुनेछ । त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयवासीसँग छलफल भइरहेको बताइएको छ । फोहर व्यवस्थापनको काम भएकाले स्थानीयवासीलाई त्यस विषयमा बुझाउन भने कठिन भएको कामपाको भनाइ छ ।  

Advertisement