विश्वकै अग्लो स्थानमा होटल बनाएर कीर्तिमान कायम गरेका पासाङको  कष्टपूर्ण अनुभव

Advertisement

काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा होटल खोलेर एभरेष्ट इन प्राइभेट लिमिटेडले विश्व रेकर्ड कायम गरेको छ । पाँच हजार १८० मिटर उचाइमा सोलुखुम्बुको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिक यो होटल स्थापना भएको हो । ‘वर्ल्ड बुक अफ रेडर्क,  लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रूपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले हालै आधिकारिक प्रमाणपत्र समेत प्राप्त गरेको छ । सबैभन्दा धेरै उचाईमा होटल खोलेर विश्व रेकर्ड कायम गर्न सफल एभरेष्ट इन प्राइभेट लिमिटेडका संचालक पासाङ शेर्पासँग कपोरेट नेपालकी फुर्पा शेर्पाले गरेको छाटो कुराकानीः 

यति धेरै उचाइमा होटल बनाउने सोच कसरी आयो तपाईंलाई ?
म विश्वको ३० वटाभन्दा बढी देशहरु घुमिसकेको छु । नेपालमै केही गर्छु भनेर फकिए छु । म चाहिं आईटी (सुचना प्रविधि) क्षेत्रको हुँ । विभिन्न देशहरु घुमिरहँदा मलाई बेलायतमा डाटा इन्ट्रीको कामको लागि पनि प्रस्ताव आएको थियो । मासिक ४ लाख तलब दिन भनेको थियो । तर, मैले त्यो प्रस्तावलाई ठुक्राएर नेपाल आएँ । पेशाले म सफ्टवेयर इन्जिनियर थिएँ । तर छोडिसके । मैले सिक्किम मनिपाल विश्वविद्यालयबाट ब्याचलर गरेको हो । मैले डाटा इन्ट्रीको काम केही समय गरेपछि आफैले अफिस पनि खोलेको थिएँ । मेरो स्टाफहरु ७० जना थियो । तर काम गर्दै जाँदा बिचमा मान्छेहरु भ्रष्ट निस्कियो । जस्तै भारतीय मिडिएटरहरुले पैसा खाइदिए । मलाई पैसा नदिएपछि मैले स्टाफहरुलाई समयमा तलब दिएर धान्न सकन । ७–८ महिनासम्म धान्यो । त्यसपछि भारतीय मिडिएटरहरुले राम्रोसँग तलब नदिएनपछि संकटमा परियो । अफिस बन्द गर्नुपर्यो । त्यसपछि अब के गर्ने ? भन्दा एउटा विकल्प परिवारको सुझाव अनुसार सोलुुखुम्बुमा आफ्नै जग्गा पनि छ । ठाउँ पनि राम्रै छ । भनेर हेरेपछि मलाई मन पर्यो र होटल व्यवसाय गर्ने निर्णय गरें ।

Advertisement

कस्तो खालको होटल बनाउनुभयो ? 
अस्ट्रिया, स्विट्जरल्याण्डतिर काठको सानो–सानो घरहरु बनाउछन् । मैले सोलुुखुम्बुको आफ्नो परिवारिक जग्गामा पनि होटल निर्माणमा त्यही अवधारणाको प्रयोग गरेको छु । किनभने माथि ढुङ्गा असाध्यै चिसो हुन्छ । काठ अल्ली तातो हुन्छ भनेर १२ वटा कोठाबाट सुरु गरेको हो यो होटल ।ढुङ्गाको होटल पनि बनाउन सकिन्थ्यो । छेउछाउमा ढुङ्गा धेरै थियो । तर ढुङ्गाको होटल बनाउँदा तात्न निकै समय लाग्छ । त्यही भएर काठको प्रयोग गरेको हो । होटलको सबै डिजाइनहरु मैले आफैले नै गरेको हो । आफैले ठेकेदार भएर काम गरें । 

कहिले सुरु गर्नुभयो ? कति लगानी भयो होटल बनाउन ? 
सन् २००४ मा नै होटल निर्माण गर्न एक करोड रुपियाँभन्दा बढी लगानी लागेको थियो । सबैभन्दा बढी मेरो खर्च यातायातमै भयो । धेरै सामान क्षति भयो काठमाडौबाट लैजाने क्रममा । २० देखि ३० प्रतिशत सामानहरु क्षति भयो । त्यसले पनि खर्च बढ्यो । होटलको सबै सामान काठमाडौंबाट हेलिकप्टरमा ओसारेर लगेको । मलाई सामानहरु त्यहाँसम्म लैजानलाई पनि निकै गाह्रो भएको थियो । ८ देखि ९ महिना लाग्यो होटल निर्माण गर्न । किनभने हामीले निर्माण गरेको होटल एभेरेस्ट बेस क्याम्पको सबैभन्दा अन्तिम गन्तव्य हो । त्यही भएर धेरै गाह्रो भयो । 

होटल निर्माण गर्नुअघि वर्ल्ड बुक अफ रेडर्कमा नाम लेखाउने सोच थियो कि त्यत्तिकै आफ्नो हिसावले निर्माण गर्नुभएको हो ? 
मैले होटलको निर्माण गर्ने बेला त्यस्तो रेकर्डमा नाम लेखाउने अथवा त्यस्तो अरु कुनै सोचाई राखेको थिइन । त्यस्तो चलन पनि थिएन् । होटल निर्माण गर्नुअघि त्यहाँ गएर पहिला मैले सर्वेक्षण गरें र ठाउँ राम्रो लाग्यो । त्यो ठाउँ रिमोट क्षेत्र भएर मान्छेहरुलाई खाना बस्न कठिन... । म आफू जाँदा पनि मैले त्यो कुरा महशुस गरें । तर होटलको लागि चाहिं महत्वपूर्ण ठाउँ रहेछ । व्यवसायभन्दा पनि सेवा दिने उद्देश्यले पहिलो सुरुवात नै १२ वटा कोठाबाट गरें । त्यो ठाउँमा ढुवानी यातायात एक्दमै महँगो छ । काठमाडौंबाट त्यहाँसम्म सामान लान पनि महंगो पर्छ । एक केजी सामानको ३५० रुपियाँ पथ्र्यो त्यो बेला । त्यो बेला विश्व कीर्तिमान कायम हुन्छ भनेर सोचेको पनि थिएन । तर अहिले गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकोमा निकै खुःसी छु । यसले नेपालको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने आशा गरेको छु ।

अरु होटल र तपाईंको होटलमा के फरक छ ?
अहिले मेरो होटलमा ५७ वटा कोठाहरु छ । होटल निर्माणकै क्रममा नै ग्राहकहरु आउन थालिसकेको थियो । त्यो ठाउँमा जम्म ४ वटा मात्र होटलहरु छ । त्यसले गर्दा विकल्प एक्दमै थोरै छ । त्यस कारण पनि सिर्जनको बेला दिनमै ४०० देखि ५०० जना ग्राहक आउँने गरेको छ । त्यति ४ वटा होटलले पुुग्दैन त्यो ठाउँमा । निर्माण कै क्रममा ग्राहकहरु हाम्रोमा बस्न खोज्दा मलाई हौसला पनि मिल्यो । अरु होटलमा नभएको सुविधा भएकाले पनि हो । हाम्रो होटलमा इलेक्ट्रिक बेड सिट छ । सबै कुरा सोलार (सौर्य ृउर्जा)बाटै चल्छ ।  माथी हाइड्रोपावर र पानी पनि छैन् । पानी लिन जानका लागि मात्र हामीले ३ देखि ४ जना स्टाफ राखेका छौं । ३५ लिटर पानीको ग्यालिन भर्न २ देखि ३ घण्टा हिंड्नुपर्छ । कालापत्थरको मुनी सानो एउटा कुवा छ । त्यसले पनि पुग्दैन । खानादेखि शौचालय सबैमा पानी चाहियो । हामीले सोलार पावर र ब्याट्रीको ब्याकअपलाई अलिकति बढाएका छौं । राति निकै चिसो हुनेगर्छ । पर्यटकलाई अल्ली सजिलो होस भनेर बिजुली कम्बल राखेका छौं । त्यो किसिमको अतिरिक्त सुविधा छ । कोठाको साइजहरु पनि अलिकति ठूलो छ । नयाँ थपेको घरहरु पनि भूकम्प आउँदा केही असर नहुने । त्यो ठाउँको अरु घरहरु क्षति भयो तर हाम्रो होटल भूकम्प आउँदा पनि केही भएन् । हाम्रो होटल कालापथर र एभेरस्ट बेस क्याम्प जाने बाटोमा पर्छ । त्यो भएर पनि धेरै पर्यटक हाम्रो होटलमा बस्न आउने गर्छन् । उद्घाटन गरेपछि १२–१३ पर्यटक बस्न आएको थियो । अहिले सिर्जनमा सयभन्दा बढी पर्यटक आउँछन् । 

पर्यटकहरुलाई समस्या पर्दा वा आउन जान कत्तिको कठिनाई छ ?
आरोहण र हाइकिङमा आएका पर्यटकहरुलाई हाइ लाग्ने (ल्याटिट्युड सिक्नेस) गरेकाले बिरामी हुन्थ्यो । सधैजसो यस्तो समस्या आइराख्ने । सय जना पर्यटकमा १० जनालाई यस्तो सिक्नेस हुने थियो । दिउजो त्यस्तो भए त हेलिकप्टरले लैजान्छ । राति समस्या आयो भने हेलिकप्टर पनि आउँदैन् । अर्को विल्कप भनेको घोडा हो । हामीले घोडाहरु राखेका छौं । रातिको समयमा हामीले धेरै त्यस्ता बिरामीहरुलाई घोडामा राखेर तल्लो स्वास्थ्य चौकीसम्म लगेका छौं । यसरी लगेर पार लाग्दैन् भनेर २०१९ मा होटलको नजिक नै स्वास्थ्य चौकी निर्माण गर्दा गर्दै कोरोना महामारी सुरु भयो । तर २०२१ देखि चाहिं नियमित रुपमा स्वास्थ्य चौकी सुरु भएको छ । डाक्टरदेखि लिएर सबै औषधिहरु छ । 

अग्लो र विकट ठाउँमा होटल बनाउँदा अरु चुनौतिहरु के के आए ?  
सबैभन्दा मौसमको समस्या भयो । मौसम परिवर्तन भइराख्दा समस्या धेरै हुन्थ्यो । काम गर्नेहरु पनि धेरै बिरामी परे । त्यस्तो चिसो ठाउँमा ठूलो ढुङगाहरु उचाल्नु पर्दा, ३५ प्रतिशत कामदारहरु बिरामी भएको थियो । उनीहरुको सट्टा अरु काम गर्ने राख्न पनि गाह्रो थियो । कहिले ३–४ दिन हिउँ पर्ने, चिसो हुने्, त्यो अवस्थामा काम गर्नु निकै गाह्रो काम थियो । अहिलेको जस्तो थिएन त्यो बेला । काठमाडौंमा हो भने तुरुन्तै फोन गरेर मगाउन सकिन्छ सामान । तर त्यहाँ कुनै सामान मगाउनुपर्यो भने ४–५ दिन काम रोकिन्थ्यो । सबैभन्दा ठूलो समस्या भनेको पानी र बाथरुमको हो । बाथरुम सफा राख्न पानी चाहियो । अब त्यहाँ पानी, लाइट छैन् । त्यो ठाउँमा बरफ जम्छ । सबै पाइपहरु जम्छ । हरेक वर्ष पाइपहरु हामीले मेन्टेन गर्नुपर्छ । नेपालको हाइ डेन्सिटि पाइपराख्दा पनि त्यसले काम नै गरेन । सो कारण बाथरुमलाई मेन्टेन गर्न गाह्रो । सबैभन्दा धेरै गुनासो आउने नै बाथरुमको हो पर्यटकहरुबाट । पानी खानालाई पनि गाह्रो छ । कहिले काहीं त आइस नै पगाल्नुपर्ने हुन्छ । 

होटलमा काम गर्ने कति जना स्टाफ छन् अहिले ? अबको योजना के छ ? 
हामीसँग १९ जना जति स्टाफ छन् । हाम्रो होटल दुई वटा भवन र तीन तल्ला छ । मलाई ढुक्का छ, मैले सबै आइरन स्ट्रक्चरले निर्माण गरेको छु । मैले यूरोपमा जाने बेला त्यहाँ पोर्टेवल शौचालयहरु देखेको थिएँ जसमा तल्लोपट्टि सेफ्टी ट्यांकी हुन्छ । त्यसले पानी एक्दमै कम खान्छ । जहाजमा हुने शौचालय जस्तो राख्ने सोचिरहेको छु । तर निकै महंगो पर्नेरहेछ । मैले दुई वटा जति पोर्टेबल शौचालय अर्डर गरिसकेको छु ।  यस सिर्जनको अन्त्यसम्म त्यो शौचालय राख्छु । त्यसपछि शौचालयमा गुनासो नआउला भने आशा गरेको छु । पहिला यो दुई वटा शौलालय राखेर हेरौं । राम्रो रहेछ भने अर्को ३–४ वटा मगाउने योजना गरेको छु । पोर्टेवल शौचालय बनाएपछि भविष्यमा अलिकति लग्जरियस कोठाहरु बनाउने सोच्दै छु ।  सरकारसँग हामीले पानीको लागि पहल पनि गरेका थियौं । तर उहाँहरुलाई पनि गर्न गाह्रो छ । पानीको लागि के गर्ने ? भन्ने कुरा आउँछ । विकल्प गाह्रो छ । र सरकार स्थिर नहुँदा समस्या भइरहेको छ हामी व्यवसायी, लगानीकताहरुलाई ।  

Advertisement

Advertisement