बर्षाले नारायणगढ–मुग्लिनसहित विभिन्न राजमार्गका सडक खण्ड अवरुद्ध, धेरैको दशैं खल्लो

Advertisement

काठमाडौं । अविरल भारी वर्षाका कारण पृथ्वी राजमार्गको नारायणढ–मुग्लिनसहित विभिन्न राजमार्गका सडक खण्डहरु अवरुद्ध भएका छन् । 

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा बिहीबार बिहानबाट यातायात अवरुद्ध भएको छ । त्यस्तै, मकवानपुरको बागझोर खोलामा बाढी आउँदा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–पालुङ–काठमाडौं सडकखण्ड र भिमफेंदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ ।

Advertisement

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड पनि पहिरोले सडक यातायात अवरुद्ध भएको प्रहरीको भनाई छ । ललितपुरको टुकुचेमा पहिरो गएपछि कान्तिलोकपथ, स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा सिद्धार्थ राजमार्ग, बेनी–जोमसोम सडक, बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत थुप्रै राजमाग, सडक र ग्रामीण सडकहरु पहिलो खसेर तथा सडक भासिएर अवरुद्ध हुन पुगेका छन् । भारी वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको समाचार छ । 

नारायणी नदी र राप्ती नदिको जलसतह बढेर जोखिमपूर्ण अवस्थामा पुगेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आव्हान गरेको छ । म्याग्दी र कालीगण्डकी नदीको सतह पनि बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । 

बर्षा जारी रहँदा र बाढी पहिरोका कारण धेरै ठाउँमा सडक यातायात अवरुद्ध हुँदा दशैंको टीका लगाउन रआशीर्वाद थाप्नका लागि हिंडेका तथा हिंड्ने योजनामा रहेकाहरु प्रभावित भएका छन् । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा नेपालमा पनि निरन्तर वर्षा भइरहेको मौसमविदले बताएका छन् । बर्षा अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Advertisement

Advertisement