लाइसेन्स लिँदाको झन्झटदेखि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कहिले अन्त्य हुन्छ सरकार ?

Advertisement

काठमाडौं । सवारी साधनको चालक अनुमति पत्र (लाईसेन्स) निकाल्ने क्रममा प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदाका हरेक मानिसका आ–आफ्नै सास्ती र पीडा छन् । 
 
सवारी चालकहरुको साथमा लाइसेन्स हुने र नहुने कुराले ठूलो अन्तर राख्दछ । सवारी साधन चलाउन जतिसुकै सिपालु भए पनि दुर्घटनामा अर्कोले गल्ती नै गरे पनि लाइसेन्स नहुनेले सजाय भोग्नुपर्ने बाध्यता हुन्छ । अर्को कुरा आफूसँग साथमा लाइसेन्स हुनु भनेको कानुन र ट्राफिक अनुशासनमा बसेर सवारी साधन चलाएको प्रमाण पनि हो । 

सवारी साधन चलाउने कुरा आवश्यकता मात्रै नभएर सौखसँग पनि जोडिने कुरा हो । आधुनिकीकरण र शहरीकरणले मात्रै नभएर ग्रामीण समाजसमेत अहिले सवारी साधनबिना चल्न नसक्ने भइसकेको छ । 

Advertisement

मानिसले आफ्नो जीवनयापन सहज र गतिशील बनाउँदै लैजाने क्रममा सवारी साधनका नयाँ नयाँ प्रविधिहरु विकास गर्दै गएको छ । त्यही क्रममा अहिले हावाभन्दा छिटो दौड्ने रेलसम्मको विकास गरिसकेको छ । वास्प इन्जिनबाट सुरु भएको गाडीहरुको विकास अहिले रकेट इन्जिनबाट अर्को ग्रहसम्म पुग्ने चरणमा पुगेको छ । मानिस स्वभावैले सौखिन र सुविधाभागी प्राणी पनि हो । साइकल चढ्ने मानिस प्रतिस्पर्धा गर्दै मोटरसाइकल, त्यसपछि गाडी,  त्यसपछि जहाजसम्म चढ्ने महत्वाकांक्षा राख्छ । जुनसुकै सवारी साधन चढे पनि तपाईंको यात्रा कति सुरक्षित छ ? भन्ने कुराले ठूलो अर्थ राख्छ ? 

वास्तवमा सवारी दुर्घटना भवितव्य भनेर मात्रै राज्य र समाज पन्छिन मिल्ने कुरा होइन् । त्यो त्यसको सडक यातायातको विकास कति सुरक्षित  ढंगले निर्माण भएको छ ? ट्राफिक सचेतना कत्तिको प्रदान गरिन्छ । ट्राफिक व्यवस्थापन कसरी व्यवस्थित गरिएको छ ? लाइसेन्स वितरण कसरी गरिन्छ ? जनता सवारी कानुन पालनामा कति इमान्दार हुन्छन् ? जस्ता कुराहरुले त्यो देशका नागरिकहरुको जीवनको सुरक्षाको निर्धारण गर्दछ ? नेपालमा हेर्ने हो भने सवारी दुर्घटनामा बर्षेनी हजारौं) मानिसहरुको ज्यान जाने गर्दछ । हजारौं घाइते हुने गर्छन् । यसरी दुर्घटनामा ज्यान गुमाउने र अंगभंग हुँदा एउटा परिवारमा बहुपक्षीय क्षतिको मूल्य निकै धेरै हुन्छ । तर राज्यको कमजोरीका कारण हुने यस्तो मानवीय र भौतिक क्षतिलाई भवितव्य भनेर सरकार पन्छिने गरेको छ । 

सवारी साधनसँग प्रेम गर्ने मानिसहरुका लागि यो जीवनभरको साथी पनि हो । जसले सवारी साधनलाई प्रेम गरेर चलाउँछ, यसको दुर्घटना हुने संभावना पनि कम हुन्छ । यद्यपि नेपालको यातायात क्षेत्र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न समस्याबाट जकडिएको छ । गुणस्तरहीन सडक निर्माण, कमजोर यातायात पूर्वाधार, सवारी साधनको मर्मतमा हुने कमजोरी, लापर्वाही ढंगले गाडी चलाउने जमातका कारण पनि यात्राका क्रममा खोखिमहरु खेप्नु पर्ने गरेको छ । नेपाल जस्तो भौगोलिक विविधिता भएको मुलुकमा सडक यातायातलाई सुरक्षित गर्न विशेष सावधानी अपनाउनुपर्नेमा त्यस्तो सावधानी अपनाएको खासै देखिन्न ।  

यातायातको ट्राफिक व्यवस्थित गर्न ट्राफिक प्रहरीहरुले दिन रात धुलो, धुँवा नभनी काम गरेको देखिन्छ । तर, ट्राफिक प्रहरीहरुसँग सर्वसाधारण पूर्णरुपमा सन्तुष्ट भएको देखिन्नन् । अरु मुलुकमा जस्तो सडकहरुमा सीसीटीभी जस्ता प्रविधिहरुको प्रयोग भइनसक्दा र प्रहरीहरुको जनशक्ति पनि पर्याप्त नभएको हुनसक्छ, सडक अनुशासन कायम गर्न हालका ट्राफिक प्रहरीहरुलाई धौधौ हुने गरेको छ । उनीहरुबाट चाहेजस्तो व्यवस्थापन हुन नसक्ने भएकाले चालक र ट्राफिक प्रहरीबीच बारम्बार विवादहरु भइरहेको हामी देख्न सक्छौं । 

केही वर्षअघि मैले पनि दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्सका लागि उत्साहका साथ आवेदन दिएँ । त्यस समयमा ट्राफिक प्रहरीको चेकजाँच पनि बढी नै हुने गर्थ्यो । उनीहरुले बारम्बार रोकेर ‘साइड लाउनुस् साइड ।’ तब मलाई याद आउँथ्यो ‘सबलाई साइड लाइन्छ, फकिफर्कि आईन्छ ।’ लुट फिल्मको यो गीतमा जस्तै ट्राफिक प्रहरीले सबैलाई साइड लाउँदै लाइसेन्स र ब्ल्युबुक माग्थे । तर आफूसँग लाइसेन्स नहुँदा धेरै मानसिक दबाब र झन्झट व्यहोर्नुपथ्र्यो । पेट पाल्न काम गर्नैपर्ने, काम गर्न जान सवारी साधन चाहिने, तर लाइसेन्स निकाल्ने खोज्ने तत्कालै निकाल्न नसकिने । यस्तो विषम परिस्थितिका बीच लामो समय बिना लाइसेन्स गुजार्नुपर्दा आफूलाई कहिलेकाहीं दिक्क पनि लाग्थ्यो । 

लाइसेन्स निकाल्ने क्षमताले कि भाग्यले ?
नेपालमा सवारी साधनको लाइसेन्स कति झन्झटिलो र कति अव्यवस्थित छ ? त्यो अनुभवी सबैलाई थाहा छ । लामो समयसम्म पैसाको बलमा अवैधरुपमा लाइसेन्स लिने प्रक्रिया चल्यो । पछिल्लो समय यसमा केही कडाई गरिए पनि झन्झटिलो प्रक्रिया भने अझै कायमै छ । लाइसेन्सका लागि परीक्षा लिने प्रक्रिया परिस्कृत नहुँदा बर्षौंदेखि गाडी चलाउँदै आएका मानिस पनि परीक्षामा बारम्बार फेल हुने तर भित्र सेटिङ मिलाउन सक्किए नजान्ने पनि सजिलै पास भएर निस्किने परिस्थितिबाट जनता गुज्रिंदै आएका छन् । यो खालको बेथितिले लाइसेन्स निकाल्ने कुरा क्षमतामा हो कि भाग्यले हो ? भन्ने प्रश्न उठ्नु स्वाभाविक पनि हो । 

हातमा हेल्मेट बोकेर लाइसेन्स निकाल्न जानेको भीड
पछिल्लो समय ड्राईभिङ सेन्टरहरुमा ट्रायल परीक्षा सिक्नेहरुको भीड देख्ने गरिन्छ । हातमा हेल्मेट बोकेर आएका अधिकांश गाडी चलाउन जानेर पनि लाइसेन्स लिन नपाएर रन्थनिएकाहरु हुन्छन् । लाइसेन्सबिना गाडी चलाउँदा दुर्घटनामा व्यहेर्नुपर्ने सास्ती र खतीबाट धेरै त्रसित छन् । तर भन्ने बित्तिकै आजको भोलि लाइसेन्स लिन संभव पनि छैन् । लामो प्रक्रिया पार गरेपछि पनि लिखित र ट्रायल परीक्षा फेल भए फरि अर्को दस्तुर तिरेर अर्को प्रक्रियाका लागि पर्खनुपर्ने बाध्यताले छ । लाइसेन्स लिने प्रक्रियामा अनलाइन सेवाको प्रयोग गर्न खोजिए पनि पूर्ण छैन् । सबै अनलाइन चलाउन पनि जान्दैनन् । 

लाइसेन्स लिने प्रक्रियामै कोरोना महामारी सुरु भएपछि मेरो पखाई अझ लम्बियो । जति दुःख भए पनि र जति समय धैय गर्नुपर्ने भए पनि आफ्नो मुलुकमा लामो समयदेखि रहँदै आएको बेथिति यस्तो हो भन्ने सम्झिएर चित्त बुझाउनुबाहेक मसँग अरु उपाय थिएन् । हामी दिनभरीको समय खर्च गरेर यात्रा गर्ने दुरी अरु मुलुकका नागरिक बुलेट ट्रेनबाट १०–१५ मिनेटमा पार गर्छन् । हामी सास्तीले लिएको लाइसेन्स गोजीमा हालेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । 

Advertisement

Advertisement