नेपालका निजी क्षेत्रको अवस्था आईएफसीले अध्ययन गर्ने

Advertisement

काठमाडौं । नेपालका निजी क्षेत्रको अवस्था बारे प्रतिवेदन तयार गर्न नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच समझदारी भएको छ । 

नेपाली निजी क्षेत्रको अवस्थाको मूल्याङ्कन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान प्रकाश पार्दै यस क्षेत्रको विकासमा नीति निर्माताहरूलाई जानकारी गराउन आईएफसीसँग हातेमालो गर्ने सहमति गरेको महासंघले जानकारी दिएको हो । 

Advertisement

यो सहकार्यबाट संयुक्त प्रतिवेदन तयार हुने र प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्याङ्क, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्ने महासंघको भनाई छ । 

यस कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ । 

महासंघले नेपालमा ९९ प्रतिशतभन्दा बढी औपचारिक व्यवसायहरू निजी क्षेत्रको स्वामित्वमा रहेको दावी गर्दै यसमा शिक्षा तथा स्वास्थ्यजस्ता सामाजिक क्षेत्रहरूमा गरिएका उल्लेख्य लगानी समावेश रहेको बताएको छ । 

महासंघले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘पूँजी निर्माण तथा रोजगारीका अवसरको सिर्जनामा निजी क्षेत्रको बढ्दो उपस्थिति छ । मुलुकभित्र लाखौं जनशक्ति निजी क्षेत्रमा, विशेषगरी कृषिमा आबद्ध छन् । यति हुँदाहुँदै पनि, दक्षिण एशियाली मुलुकहरूमध्ये औद्योगिक क्षेत्रमा नेपालको औसत श्रम उत्पादकत्व हालसम्म पनि न्यून रहेको छ ।’ 

उदयीमान बजारहरूका निजी क्षेत्रमा केन्द्रित रहेको विश्वको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा आईएफसी नेपालमा बजार तथा अवसरहरूको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै महासंघले यसका लागि घरेलु तथा विदेशी लगानीकर्ताहरूका लागि लगानी गर्ने वातावरणमा थप सुधार गर्न आवश्यक रहेको बताएको छ । 

Advertisement

Advertisement