गुराँस लाइफमा भएको रु. २८ करोड गोलमालले मर्जर प्रक्रियामा बाधा, निगरानी गर्दैछौंः समिति

Advertisement

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा भएको २८ करोड रुपियाँ गोलमालले गर्दा मर्जर प्रक्रियामा बाधा पर्ने देखिएको छ । कम्पनीको हिसाव गोलमाल भएकैले मर्जर प्रक्रियामा समेत ढिलाई भएको छ । 

प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्ससँग एकै साथ मर्जरमा जान लागेको गुराँस लाइफले गत आर्थिक वर्षको वित्तीय विवरणमा २८ करोड रुपियाँ गडबढ भएको हिसाब किताब पेश गरेको बीमा समितिले फेला पारेको थियो । 

Advertisement

समितिले हतार हतारमा काम गर्न झुक्किएर उक्त कम्पनीको वित्तीय विवरण स्वीकार भएको स्वीकार गरे पनि हालसम्म कम्पनीलाई कुनै कारवाही भने गरेको छैन् । प्राइम र युनियनले सकारात्मक हिसावले गुराँसलाई समेटेर लैजाने प्रयास गरे पनि कम्पनीभित्र ठूलो आर्थिक अपचलन भएको देखेपछि उनीहरु झस्किएका छन् । 

तर मर्जर प्रक्रियामा रहेका तीन वटै कम्पनीका व्यवस्थापनका उच्च कर्मचारीहरु भने भोलि यसको छानविन भए कारवाहीमा परिने कुराले त्रसित देखिन्त्छन् । एक सीईओले भने, ‘युनियन र प्राइम दुवै कम्पनीका सञ्चालकहरुको सदासयता छ कि गुराँसलाई छोड्न हुन्न । समेटेर लानुपर्छ । तर पनि हिसाव गडबढ भएको कुरा बाहिर आएकाले केही साथीहरु डराउनु भएको हो । जहाँसम्म लाग्छ यति कुराले मर्जर रोक्किन्न ।’
 
यता बीमा समितिले गुराँसलाई कारवाही गर्दा अघि बढेको मर्जर प्रक्रिया अवरुद्ध हुने भएकाले मौन बसेको देखिन्छ । हिसाव गडबढ भए पनि कुल हिसाव मिलेको देखिएकाले त्यतिबेला कारवाही नगरेको बताउँदै समितिले यद्यपि निगरानी भने आफूहरुले गरिरहेको बताएको छ । 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘गुराँस लाइफको केही हिसाब बिग्रिएको खबर बाहिरीए पनि कुल हिसाब भने मिलेकाले बीमा समितिले त्यतिबेला स्वीकृति दिएको हो । तर पनि हामीहरुले निगरानी गरिरहेका छौं ।’ 

उनले गुराँस लाइफमा पैसाको कमी रहेको भनी बजारमा हल्ला चलेजस्तो समस्या आफूहरुले रिजर्भ चेक गर्दा नपाएको दावी गर्दै बीमितलाई बीमितलाई दावी भुक्तानी दिनै समस्या पर्ने खालको समस्या नदेखिएकोले वित्तीय विवरण स्वीकृत गरिदिएको तर्क गरे । 

बीमा कम्पनीको हिसाब बीमांकी र चार्टर्ड एकाउन्टेन्टले हेर्ने भएकाले उनीहरुले बदमासी नगर्ने पौडेलको विश्वास छ । उनले गुराँस लाइफ बिग मर्जरमा जाने लागेकाले आफूहरुले हिसावभन्दा पनि मर्जरलाई प्राथमिकता दिएको स्वीकार गरे । यस्तो बेलामा सबै बीमा कम्पनीहरुलाई बीमा समितिले पनि सहजीकरण गर्नुपर्ने उनले बताए । 

यस्तो थियो गुराँस लाइफ काण्ड
गुराँस लाइफले गत साउनमा बीमा समितिलाई नक्कली वित्तीय विवरण पेश गर्यो जसमा २८ करोड रुपियाँ गोलमाल थियो । बीमा समितिले हतार हतार काम गर्दा गलत वित्तीय विवरण स्वीकृत हुन पुगेको भन्दै सार्वजनिक प्रतिक्रिया दिए पनि स्वीकृति बदर गर्ने र कम्पनीलाई कारवाही गर्ने काम गरेन् । 

हिसाव नमिलेको वित्तीय विवरण पठाउन नहुने अडान राख्दै आएका गुराँस लाइफका एकाउन्टेन्ट बीके अग्रवालले जवरजस्ती नक्कली वित्तीय विवरण समितिमा पठाइएपछि राजीनामा दिए । नक्कली वित्तीय विवरण पेश गर्ने विषयमा कम्पनीका उच्च व्यवस्थापकहरुबीच नै विवाद भएपछि कम्पनीको काम नै केही दिन प्रभावितसमेत भयो । तर गुराँसका सञ्चालकहरुको निकै ठूलो दबाबपछि नक्कली प्रतिवेदन नै समितिमा पेश गरियो र समितिले पनि स्वीकृति गरिदियो । 

विवादकै क्रममा गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत बिपीनकुमार लाल आफू नक्कली वित्तीय विवरण समितिमा पठाउँदा बाहिर रहेको भन्दै पन्छिए । पछि कम्पनीले जीवन बीमा कोषमा गएको पैसा फेरि  निकालेर अर्को सूचकमा चढाएको थियो । 

Advertisement

Advertisement