पुर्ख्यौली पेशामा छैन खासै चमक

Advertisement

टङ्कीसिनवारी । विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आउनुभएको छ । 

उहाँले बाबु बाजेले गरेकै पुर्ख्यौली काम सम्हालेको ३० वर्षभन्दा बढी भएको छ । तर आधुनिकताको प्रभाव बढेसँगै जाँतोवालाले सम्हालेको पेशामा ग्रहण लाग्दै गएको छ । कुनै बेला भान्साको शान भनेर चिनिने लोहोरो सिलौटो र जाँतोमा मसला र खाद्य सामग्री पिस्ने चलन विस्तारै छुट्दै गएको छ । 

Advertisement

परम्परागत लोहोरो सिलौटो र जाँतोको स्थान अब मिक्स्चर ग्राइन्डरले ओगटेको छ । श्रमको प्रयोग नगरी विद्युत्बाट सजिलै पिँधिने भएकोले सर्वसाधारण मिक्स्चर ग्राइन्डरमा आकर्षित भएका छन् । तर सजिलो र सुविधाका लागि सर्वसाधारणले आधुनिक उपकरणको प्रयोग गरिदिँदा परम्परागत र पुख्र्यौली पेशाको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । 

दस वर्ष अघिसम्म जाँतोवालालाई लोहोरो सिलौटो र जाँतोको माग धान्न भ्याइनभ्याइ हुने गरेको थियो । तर मिक्स्चर ग्राइन्डर र यस्तै अन्य आधुनिक उपकरणको बजारमा प्रवेशपछि उहाँ विस्तारै फुर्सदिलो बन्दै जानुभयो । कुनै बेला दिनको १० वटासम्म लोहोरो सिलौटो र चार वटा जाँतो बनाउने जाँतोवालाको उत्पादन तीन लोहोरो सिलौटो र एक जाँतोमा खुम्चिएको छ । तर थोरै सङ्ख्यामा बनाइएका लोहोरो र जाँतो पनि दुई–तीन दिनसम्म बिक्री हुँदैन । गधाको पिठिउँमा लादेर घर–घर डुलाउँदा समेत परम्परागत सामग्री बिक्री हुन गा¥हो छ । 

आफूले उत्पादन गरेको लोहोरो सिलौटो र जाँतो बिक्री हुन छाडेपछि जाँतोवाला र वहाँको परिवारको जीवन गुजारा कठिन बन्दै गएको छ । उहाँ भन्नुहुन्छ, “अब लोहोरो सिलौटो र जाँतो बनाउने पुर्ख्यौली पेशामा खासै चमक छैन ।’ बिजुलीबाट चल्ने आधुनिक उपकरणले परम्परागत एवं पुख्र्यौली पेशालाई ओझेलमा पारेको जाँतोवालाको ठम्याइ छ । कामले फुर्सद नभएको बेला उहाँलाई सघाउने जाँतोवालाकी श्रीमती हाल नातिनातिना खेलाउँदै व्यस्त हुनुहुन्छ । 

जाँतोवालाका दुई छोरा सोहित र सोहेलले पनि लोहोरो जाँतो बनाउने पुर्ख्यौली पेशा आफूहरूले नगर्ने बताउनुभयो । सोहित जागिरको खोजीमा हुनुहुन्छ भने सोहेलको मोह विदेश जानेमा छ । 

यस्तै विराटनगर–८ हाटखोला पुल छेउमा लोहोरो सिलौटो र जाँतोको पसल थाप्नुभएकी तुलसी जाँतोवालालाई के कमाउने के खाने भन्ने चिन्ता छ । अर्को काम नजानेकाले बाध्य भएर पुख्र्यौली पेशामा नै झुण्डिनुपरेको गुनासो तुलसीले गर्नुभयो । तुलसीका श्रीमान् अजय जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाए पनि बिक्रीमा भने कठिनाइ उत्पन्न हुँदै गएको बताउनुभयो । उहाँले यो पेशा समय कटाउने मेलो मात्र भएको बताउनुभयो । रासस

Advertisement

Advertisement