विप्रेषणको व्यवस्थापनमा समस्या

Advertisement

कृष्णमणि पराजुली
रेमिटान्स अंग्रेजी शब्द भए पनि नेपाली भाषामा निकै सहज र सबैले बुझ्ने भएको छ । एक प्रकारले यो नेपालीकरण भइसकेको छ । विप्रेषणभन्दा त्यति सहज नहोला तर रेमिटान्सभन्दा सबैले बुझ्न सक्दछन् । विदेशमा बस्नेहरुले आर्जन गरेर कमाएको रकम स्वदेशमा पठाउने पैसा विप्रेषण हो । सोझो अर्थमा विदेशमा कमाएको रकमलाई बैधानिक रुपमा स्वदेशमा जुन रकम पठाइएको हुन्छ त्यो नै विप्रेषणको रकम हो । यसरी प्राप्त हुने रकम विदेशी मुद्रामा आउने हुँदा देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको हुन्छ । नेपाल जस्ता अल्पविकसित देशहरुका लागि त झनै यसले महत्व राखेको हुन्छ । किनकि यसले विदेशी मुद्रा संचितिमा टेवा पुर्याएको हुन्छ । 

नेपालको सन्दर्भमा लिने हो भने विप्रेषणको महत्व निकै ठूलो रहेको देखिन्छ । राष्ट्रिय बजेटकै हाराहारीमा विप्रेषणको रकम प्राप्त हुने गरेको छ । आर्थिक बर्ष २०७९–८० को बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडको छ भने आर्थिक बर्ष २०७८–७९ मा १० खर्बको हाराहारीमा विप्रेषण प्राप्त भएको थियो । यो रकम बैधानिक बाटोबाट मात्र भित्रिएको हो । यसमा एनजीओ, आईएनजीओमार्फत र अवैधानिक बाटोबाट भित्रिने रकमको भने राष्ट्रिय लेखा नै छैन् । यी सबैबाट प्राप्त हुने आयलाई समावेश गर्ने हो भने निश्चय नै देशको कुल बजेटको हाराहारीमा आउन सक्दछ । यसले के बुझाउँछ भने हाम्रो अर्थतन्त्रमा विप्रेषणले ठूलो योगदान गरेको छ । 

Advertisement

राष्ट्रिय अर्थतन्त्रमा यति ठूलो हिस्सा विप्रेषणले गरेको भए पनि यसको व्यवस्थापन राम्रो छैन् । मूलतः खाडी मुलुकहरुमा जाने श्रमशक्तिले पठाएको रकमले नै ठूलो हिस्सा ओगटेको देखिन्छ । भारतवाहेक खाडी मुलुक र अन्य मुलुकहरुमा जाने श्रमिकहरुको संख्या नै करिब ६० लाख रहेको अनुमान छ । यति ठूलो श्रमसंख्याले आर्जन गरेको रकम यति मात्र नहुन सक्दछ । देशबाट बिदेशिने श्रम शक्ति अदक्ष भएको हुँदा उनीहरुले आफ्नो श्रमको मूल्य नपाएको अबस्था पनि छ । जे भएपनि सानो रकम बचत गरेर भए पनि उनीहरुले आफ्नो देशमा पठाईरहेका छन् ।

विश्वब्यापी फैलिएको कोभिड –१९ महामारीले विश्व अर्थव्यवस्था नै पाँच प्रतिशतले खुम्चन गएको अबस्थामा नेपालको अर्थतन्त्रलाई असर नगर्ने त कुरै भएन । उद्योग धन्दा, कलकारखाना सबै बन्द भए । बाहिरबाट आउने पर्यटकहरु आउन छोडे । आन्तरिक उत्पादन हुन सकेन । आन्तरिक उत्पादन नभएपछि निर्यात हुनसक्ने अबस्था नै भएन । देशमा रोजगारी नभएर विदेश गएकाहरु पनि रोजगारी गुमेको कारणबाट स्वदेश फर्किने क्रम बढ्दै गयो । आन्तरिक अर्थतन्त्रको अवस्था डामाडोल हुन पुग्यो । दैनिकी सञ्चालन गर्न आवश्यक पर्ने धेरै वस्तुको अभाव हुन गयो । स्वदेशमा श्रम गर्नेहरु पनि रोजीरोटीबाट बन्चित हुनु पर्यो । रोजगारीका लागि विदेश गएकाहरुले पनि विप्रेषणबाट रकम पठाउन नसक्ने र स्वदेशमा पनि आय आर्जन गर्न सक्ने अवस्था नभएको हुँदा नेपालको अर्थतन्त्र निकै कमजोर हुन गयो । तर, अहिले भने परिस्थिति भिन्न भएको छ । कोभिड –१९ को असर विश्वमा नै कम हुँदै गएको हुँदा अब बिप्रेषणको रकममा सुधार आउन थालिसकेको छ र परिणामस्वरुप विप्रेषणको रकममा बृद्धि हुँदै पनि आइरहेको छ ।

विप्रेषणको यति ठूलो योगदान भए पनि अझै पनि यसरी प्राप्त हुने रकम बैंकिङ प्रणालीमा समेट्न सकिएको छैन् । अवैधानिक मार्गबाट ठूलो रकम आएको छ भन्ने अनुमान रहेको छ । खास गरेर हुण्डीबाट आउने रकम सरकारी ढुकुटीमा प्रवेश गरेको हुँदैन । यसले एकातिर व्यक्तिलाई आर्थिक जोखिम भएको हुन्छ भने राज्यले पनि बिदेशी मुद्रा गुमाएको हुन्छ । यो कुरा जान्दा जान्दै पनि सरकारले चोर बाटोबाट आउने बिदेशी मुद्रालाई नियन्त्रण गर्न सकिरहेको छैन् ।

यसरी पसिना बगाएर कमाएको विदेशी मुद्राको दुरुपयोग हुने गरिएको छ भन्ने पनि छ । खास गरेर क्रिप्टोकरेन्सीमा लगानी भएको कुरा पनि समाचारमा आइरहेका छन् । केही समय अघिमात्र क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरुलाई सरकारले कारबाहीमा पनि ल्याएको थियो । बिदेशी मुद्राको सदुपयोग हुन नसकेको कारणबाट गैरकानूनी गतिविधिहरु बढ्दै गएका छन् ।

निकै दुःख गरेर कमाएको पैसालाई उत्पादनशील क्षेत्रमा लगानी हुन सकेको छैन् । करिव ७० प्रतिशत भन्दा बढी विप्रेषणको रकम अनुत्पादक क्षेत्रमा खर्च भएको छ । घरजग्गा, भोजभतेर, विवाह, व्रतवन्ध, चाडपर्व जस्ता कार्यमा खर्च हुन गएकोले विप्रेषणबाट राज्यले जति फाइदा लिनुपर्ने हो, त्यति लिन सकिरहेको अवस्था देखिदैन् ।

कोभिड –१९ को कारणबाट देशको अर्थतन्त्रका सूचकहरु सबै खस्किँदै गएको अबस्थामा पनि देशको अर्थतन्त्र धान्ने काम केही हदसम्म विप्रेषणबाट भयोे । स्वदेशमा रहेका परिवारहरुको भरणपोषण गर्ने काम विदेशबाट पठाएको रकमले भरथेक गर्यो । अहिले देशको अर्थतन्त्रले लय लिंदै गरेको र विप्रेषणको रकममा पनि बृद्धि हुँदै गएकोले पछिका दिनहरुमा आशा राख्ने ठाउँ बन्दै गएको छ । मुख्य प्रश्न भनेको विप्रेषणबाट आएको रकमलाई कसरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने ? भन्ने नै हो ।

विप्रेषणबाट आएको रकम एकातिर आयआर्जन हुने कार्यमा लगानी हुन सकिरहेको छैन भने अर्कोतिर सरकारले पनि यसरी प्राप्त रकमलाई के कसरी लगानी गर्ने ? भन्नेबारे स्पष्ट योजना निर्माण गर्न सकिरहेको छैन् । यसको लागि सरकारले नीति निर्माण गरेर अधिकतम् फाइदा लिन सक्नु पर्दछ ।
अहिले प्रत्येक दिन २५०० देखि लिएर ३००० सम्म रोजगारीको लागि देशबाट बाहिरिने गरेको तथ्यांक छ । यस्तो उर्जाशील जनशक्ति बिदेशिनु भनेको राज्यको लागि राम्रो हुन सक्दैन् । यति ठूलो जनशक्तिलाई स्वदेशमा नै रोजगारी दिन सकेको भए देशले निकै राम्रो फाइदा लिन सक्ने थियो । प्रत्येक दिन कहाली लाग्दो गरेर बाहिरिने जनशक्तिलाई स्वदेशमा नै रोजगारी दिने व्यवस्था गरिनु पर्दछ । 

युवा जनशक्ति बिदेशिनुमा मुख्यतः २०५२ सालमा भएको माओवादी द्धन्द्धले ठूलो समस्या ल्याइदियो । देशको साधन स्रोत यसैतर्फ केन्द्रित हुन पुग्यो । आर्थिक गतिबिधिहरु चलायमान हुनसक्ने अवस्था भएन् । उद्योग व्यवसायमा नकरात्मक असर पर्न गयो । कतिपय मानिसहरु आफ्नो थाकथलो छोडेर विस्थापित हुन पुगे । सबै क्षेत्रमा असर परेको हुँदा रोजीरोटीको लागि भने पनि उर्जाशील जनशक्ति खाडी मुलुकमा जानुपर्ने बाध्यता सिर्जना भयो । अहिले यिनीहरुले पठाएको पैसाले देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको छ । कुल गार्हस्थ उत्पादन ४८ खर्ब ५१ अर्ब ६६ करोड मा २३.३३ प्रतिशत त विप्रेषणको हिस्सा रहेको छ । यति ठूलो रकमलाई राज्यले उपयुक्त किसिमले प्रयोगमा ल्याउन सकेको छैन् । प्राप्त हुने रकमलाई उपयुक्त किसिमले व्यवस्थापन हुन नसकेको कारणबाट यसले विकृति पनि निम्त्याएको अवस्था छ ।

देशको अर्थतन्त्र जति नै खस्किँदै गए पनि यसलाई धान्ने काम भने विप्रेषणले नै गरेको छ । अहिलेको अबस्थामा विदेशी मुद्रा आर्जन गर्ने स्रोत भनेको पर्यटन क्षेत्र पनि हो । यो क्षेत्रले लय लिन सकेको देखिँदैन । कोभिडको कारणले गर्दा विश्व अर्थतन्त्र खस्किएको अवस्थामा पर्यटक आउने कुरा पनि त्यति आशा गर्न सकिँदैन् ।

अर्को कुरा हाम्रो निर्यात पनि निराशाजनक नै छ । बढ्दो आयात र घट्दो निर्यातले गर्दा विदेशी मुद्रामा चाप परिरहेको छ । ६–७ महिनाभन्दा बढी धान्न सक्ने संचिति देखिँदैन । खाद्यान्न लगायत औषधि, स्वास्थ्य सामग्री, निर्माण सामग्रीलगायत अन्य वस्तु आयात गर्नुपर्ने हुँदा यसको लागि बिदेशी मुद्रा आर्जन गर्ने एक मात्र भरपर्दो स्रोत भनेको विप्रेषण नै हो ।

विश्व बजारमा नै अहिले ब्याजदर बढ्नु, कोभिडको असर परिरहनु तथा रुस–युके्रन युद्ध जारी रहेको हुँदा कतिपय देशहरुको अर्थतन्त्रलाई धरासायी बनाएको छ । तर, नेपालको अर्थतन्त्रलाई भने विप्रेषणको योगदानले गर्दा श्रीलंकाको जस्तो जटिल अवस्थामा पुग्न पाएन । गाउँका अधिकांश घरहरुमा विप्रेषणको रकम गएको हुन्छ । करिब ५६ प्रतिशत घरपरिवारले विप्रेषणको पैसा पाउने गरेका छन् । यसरी विप्रेषणबाट पैसा नआउने भएको भए देशको अर्थतन्त्र कति जोखिमपूर्ण हुने थियो ? सामान्य भुईंमान्छेको जीवनस्तर पनि कति कष्टकर हुन्थ्यो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
बिर्सन नहुने कुरा के छ भने विप्रेषण आउँदा देश र व्यक्ति एवं आश्रित परिवारलाई राम्रो हुन गए पनि दीर्घकालमा भने राम्रो गरेको हुँदैन । किनकि यसले परनिर्भरता बढाएको हुन्छ । कुनै देशले कुनै समयमा श्रमिकलाई लिएन भने यसले व्यक्ति एवं राज्यलाई समेत असर पारेको हुन्छ । त्यसकारण दिगो रुपमा स्वदेशमा नै आय प्राप्त हुने स्रोतहरुको खोजी गरिनुपर्दछ । यसको लागि रोजगारमूलक शिक्षा, कृषिमा आधुनिकीकरण, आन्तरिक उत्पादन वृद्धिको लागि विभिन्न सुविधा र सहुलियत राज्यको तर्फबाट उपलब्ध गराउन सकेको अवस्थामा देशको अर्थतन्त्र परनिर्भर हुनबाट जोगाउन सकिने हुन्छ । यसतर्फ समयमा नै विप्रेषणको व्यवस्थापन गर्न सरकारले उपयुक्त नीति निर्माण गरी कार्यान्वयन गर्नु पर्दछ । कृषिप्रधान देश भनिए पनि देशको अर्थतन्त्र विप्रेषणले धानिनुलाई राम्रो मानिदैन् । त्यसकारण देशको अर्थतन्त्र आत्मनिर्भर बनाउनको लागि आन्तरिक उत्पादनमा नै बिशेष जोड दिनु पर्दछ ।

लेखक सरकारका पूर्वउपसचिव हुन् । 

Advertisement

Advertisement