सैनिक बन्ने सपनाबाट मोडिएर सीईओ बनेका खत्रीको तिहार स्मरणः त्यो देउसी भैलो कहिल्यै बिर्सिन्न

Advertisement

काठमाडौं । बाल्यकालका क्रियाकलाप सबैको लागि स्मरणीय हुन्छ । रमाइलो लाग्छ । ‘त्यो बेलामा फेरि फर्किन पाए पनि हुन्थ्यो’ भन्ने लाग्छ । तर प्रकृतिले दिँदैन । दैनिक कार्यव्यस्ततामा रहने नेशनल लाइफ इन्स्योरेन्सका सीईओ सुरेश खत्री तिहार आएपछि केटाकेटी बेलाको देउसी भैलो सम्झिन्छन् । 

वास्तवमा खत्री सेनामा भर्ती हुन चाहान्थे । सैनिक अधिकृत भएर देशको सेवा गर्नु उनको सपना थियो । तर त्यो सपना मोडिएर खत्री बीमा क्षेत्रमा प्रवेश गरे अहिले बीमा कम्पनीको व्यवस्थापकीय नेतृत्वमा पुग्न सफल भएका छन् । 

Advertisement

राजधानी काठमाडौंवासी खत्री नेशनल लाइफमै काम गरेको तीन दशक बितेको छ । सोही संस्थामा निरन्तर सेवा गर्दागर्दै सीईओ बन्न सफल भएका उनी भन्छन्, ‘सानोमा सेनामा भर्ना हुने ठूलो इच्छा थियो । मेरो साइँलो दाई पनि सेनामै हुनुहुन्थ्यो । तर बुबाआमाले अर्को पेशामा लाग्न सुझाव दिनुभयो ।’

खत्रीको बुबाआमाको चाहना उनले जागिर खाएर पैसा कमाओस भन्ने उद्देश्यले थिएन् । घरमा बसेर समय खेर फाल्नुभन्दा कुनै एउटा जागिर खाए समयको सदपयोग हुने बाबुआमाको सोच थियो । जागिर नै गरे पनि बीमा कम्पनीमा गर्ने त्यति बेला खत्रीको चाहना थिएन् । समय परिस्थितिले उनलाई नेशनल लाइफमा प्रवेश गरायो । खत्रीले जुन संस्थामा पाइला टेके, अहिलेसम्म सो संस्था छोडेर अर्कोमा जानु परेको छैन् । मेहनत गर्नेलाई बीमा क्षेत्रमा स्थापित हुने ठाउँ रहेको सीईओ खत्रीको भनाई छ । 

नेपाली कला, संस्कृति र विविधताको संरक्षण गर्नुपर्ने मान्यता राख्ने उनी सानो हँदा तिहारमा साथीहरु मिलेर देउसी भैला खेल्न जाँदा, नाचगान निकै रमाइलो लाग्ने गरेको बताउँछन् । 

खत्री भन्छन्, ‘देउसी भैलो खेल्ने क्रममा कहिलेकाहीं निकै अबेरसम्म साथीहरुसँग घुमिन्थ्यो । त्यो खालको चलन अहिले कम हुँदै गएको छ । सानोमा खेल्न हिंड्ने रमाइलो लाग्थ्यो, अहिले अरुले देउसी भैलो खेलेको हेर्न अझ रमाइलो लाग्छ ।’

देउसी खेल्नुमा एक किसिमको मज्जा भए पनि हेर्नुमा पनि अर्को किसिमको मज्जा रहेको उनी बताउँछन् । खत्रीले आफूलाई राजधानी भित्रकै तिहार मन पर्ने बताए । आफू जहाँ हुर्कियो, बढ्यो, त्यहींको चालचलन रमाइलो लाग्नु स्वाभाविक भएको उनको भनाई छ । 

विशालनगरको वसन्त भवन दरवारमा खेलेको देउसी भैलो सबैभन्दा धेरै याद आउने बताउँदै उनले भने, ‘वसन्त भवन दरबारमा एउटा ठूलो पटांगीनी जस्तो ठाउँ थियो । मेरो लामो समय त्यहीं बित्यो । सोही ठाउँमा साईकल चलाइन्थ्यो । फुटबल खेलिन्थ्यो ।’ सानोमा आफू निकै चकचके रहेको र सोही स्वाभावका कारण बाबुआमाबाट निकै गाली खानुपरेको उनले सुनाए
 
अरुलाई देखाउन नभई आफ्नाृे क्षमताले भ्याउनेसम्म खर्च गर्दै चाडपर्व मनाउन खत्रीले सुझाव पनि दिए । उनले बीमा समिति, अभिकर्ता, बीमित, कर्मचारी र सबै नेपालीलाई तिहारको शुभकामना पनि दिए । 

दैनिक योग तथा व्यायाम गर्ने खत्रीले आफूलाई जाँगरीलो स्वाभाव मन पर्ने र सोही स्वभाव आफूले पनि अपनाउँने प्रयास गरेको बताए । 

Advertisement

Advertisement