शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

Advertisement

भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । 

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उहाँको भनाइ छ । पाख्रिनले भन्नुभयो, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पु¥याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो ।” 

Advertisement

कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उहाँले बताउनुभयो । तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ । जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उहाँले बताउनुभयो । पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सयपत्री फूलको उत्पादन गर्दै आउनुभएको छ ।

चितवनमा यो पेसा गर्नुभएको पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उहाँले नौबिसेबाट पुष्प खेतीको सुरुआत गर्नुभएको थियो । यसका लागि उहाँले शिक्षण पेसासमेत छोड्नुभयो । बीस वर्ष अगाडि उहाँले काठमाडौँको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउनु हुन्थ्यो । मानविकी सङ्कायमा स्नातक गर्नुभएका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउनुहुन्थ्यो तर, उहाँलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन । 

Advertisement

उहाँ भन्नुहुन्छ, “फूलसँग रमाउने मेरो रुची हो । सानैदेखि फूल प्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ ।”

यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोच्नुभएको थिएन । उहाँले छ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौँमा फोटो सम्बन्धि पढानुभयो । यसले पनि उहाँको तिर्खा मेट्न सकेन । अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याउनुभयो । पुष्प किसान बन्ने निधो गर्नुभयो । त्यसयता उहाँ फूलसँग नाता गासेर रमाउँदै हुनुहुन्छ । यो व्यवसाय गर्नका लागि उहाँलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् । 

फूलको माग पु¥याउन धौधौ
पुष्प खेतीबाट पर्याप्त आम्दानी हँुदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बन्नुभएको छ । “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । १० हजार माला मात्र बेचे मुनाफा रु दुई लाख हुन्छ । चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पु¥याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन”, उहाँले भन्नुभयो ।

बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उहाँको भनाइ छ ।  

रोजगारीको राम्रो अवसर 
६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसक्नुभएको छ । जो अहिले व्यावसायिकरुपमा फूलखेती गरिरहेका छन् । पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन् । मौसमी रोजगारी धेरैले पाउने गरेको कामदार बताउँछन् । जसले खाली समय उपयोगसँगै आर्थिकरुपमा सबल बनाउन सहयोग पुगेको भीममाया रानामगर बताउनुहुन्छ । 

“विगत तीन वर्षदेखि फूल गोडमेल, फूल टिप्ने, माला उन्ने, औषधि राख्नेलगायतको काम गर्दै आएका छौँ । घर खर्च, छोराछोरीको टिफिन खर्च आफैँले पु¥याउन सक्दा खुसी लाग्छ”, उहाँले भन्नुभयो । भीममायासँगै सन्तमाया थापामगर, विसरा थापामगर, फूलमाया रानामगर, सीता सुवेदी, सुमित्रा भण्डारीलगायत पाख्रिनको फूलबारीमा काम गर्दै आउनुभएको छ । उहाँहरुलाई घरपरिवारको रोकटोक छैन । 

स्थानीय सीता सुवेदी भने उद्योग व्यवसाय धेरै भए मौसमी बेरोजगार बन्नुनपर्ने बताउनुहुन्छ । तीन महिनादेखि पाख्रिनको फूलबारीमा काम गर्दै आउनुभएकी सुवेदीले अन्यबेला खाली बस्नुपर्ने गुनासो गर्नुभयो । “आफ्नै लगानी गरेर केही गरुँ भने रकम छैन । केही व्यवसाय छन् तर बाह्रै महिना काम दिन सक्दैनन् । काम नपाएको समयमा खाली बस्नु पर्छ”, उहाँले भन्नुभयो । 

फ्लोरी कल्चर एशोसिएशन चितवनका अनुसार जिल्लामा अहिले ३५ देखि ४० बिघामा सयपत्री फूलको खेती गरिएको छ । यसले जिल्लाको ८० प्रतिशत माग पूरा गर्ने फ्लोरी कल्चर एशोसिएशनका कोषाध्यक्ष सुलभ श्रेष्ठले जानकारी दिनुभयो । मखमली फूल भने कमै लगाइएको छ । जिल्लामा १२ जना व्यावसायिकरुपमा फूल खेती गर्दै आएका छन् । तिहार लक्षित पुष्पखेती गर्ने किसान गरी एक सय बढी रहेको श्रेष्ठको भनाइ छ । रासस