काठमाडौं । लामो समयको विवादपछि विश्वका धनाड्य एलन मस्क ‘कर्पोरेट जायन्ट’ ट्विटरको मालिक बनेका छन् । खरीद सम्झौता भइसकेपछि ट्विटरका पूर्वअध्यक्ष ब्रेट टेलर र मस्कबीच लामो समय विवाद चलेको थियो ।
विवाद टुङ्ग्याउँदै मस्क उनी ट्विटरको मालिक बनेका हुन् । उनले ४४ अर्ब डलरमा लोकप्रिय सामाजिक सञ्जाल ट्विटर किन्ने गत बर्ष नै सम्झौता गरेका थिए । खरीद सम्झौता भइसकेपछि मस्कले ट्विटरमा रहेका नक्कली र स्प्याम खाताबारे प्रश्न उठाएका थिए ।
तर ट्विटरले भने मस्कले दाबी गरेजस्तो त्यस्तो खाता नरहेको र भएकाहरुलाई पनि मेटाउँदै गएको बताएको थियो । मस्कले भने कूल प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम त्यस्ता खाताहरू रहेको पुष्टि हुने प्रमाण दिन ट्विटरलाई आग्रह गरेका थिए । विवाद बढ्दै जाँदा मस्क खरीद सम्झौतापछि पछि हट्दै सम्झौता अस्थायी रूपमा यथास्थितिमा राखिएको बताएका थिए । त्यसपछि सम्झौता कार्यान्वयन गराउन भन्दै टेलरले मुद्दा हालेर मस्कसँग एक अर्ब डलर क्षतिपूर्ति माग गरेका थिए ।
मानिसहरूलाई सूचना फैलाउने लक्ष्य सहित खोलिएका नक्कली खाताहरू ठूलो सङ्ख्यामा रहेको र उनीहरूले सञ्जालमा हुने अन्तरक्रियालाई आफ्नो अनुकूल प्रभावित पार्ने काम गर्ने मस्कको तर्क थियो । ट्विटरले भने आफूले प्रत्येक दिन झन्डै १० लाख त्यस्ता खाता मेटाउने गरेको बताएको थियो ।
तर मस्कले स्वामित्व लिएसँगै ट्विटरका सीईओ पराग अग्रवाल र माथिल्लो तहका कर्मचारीहरुलाई बर्खास्त गरेको छन् ।