छ वाणिज्य बैंकले घोषणा गरे लाभांशः बीओकेको सबैभन्दा बढी, कसको कति ?

Advertisement

काठमाडौँ । २६ वाणिज्य बैंक मध्ये हालसम्म ६ वटाले आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेका छन् । 

सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक), बैंक अफ काठमाण्डू (बीओके), सानिमा बैंक र ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेका छन् । 

Advertisement

सबैभन्दा बढी बीओकेले २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

लाभांश घोषणा गरेका मध्ये सिटिजन्स बैंकले साधारण सभाबाट प्रस्तावित लाभांश पारित गरिसकेको छ भने कुमारी बैंकले लाभांश पारित गर्न कात्तिक २१ गते र एनसीसी बैंकले मंसिर २ गते साधारण सभा बोलाएका छन् । 

Advertisement

कुन बैंकले कति लाभांश दिने ? 
यसैबीच सिटिजन्स बैंकको कात्तिक ४ गते सम्पन्न १६औँ वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपियाँको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६ सय ६१ रुपियाँ बराबरको नगद लाभांश अनुमोदन गरेको छ । २६ वाणिज्य बैंक सिटिजन्स लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ । 

यता, कुमारी बैंकको २२औँ वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । उक्त साधारण सभाले कर प्रयोजनसहित चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश पारित गर्नेछ । असोज १४ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको थियो । साधारण सभा प्रयोजनका लागि कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत भएको छ । 

त्यसैगरी नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) को २५औँ वार्षिक साधारण सभा मंसिर २ गते हुने भएको छ । साधारण सभाले सञ्चालन समितिले प्रस्ताव गरेको ७.६३३७ प्रतिशत नगद लाभांश र ३.३६६३ प्रतिशत बोनस शेयर पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कात्तिक १५ गते १ दिन बुक क्लोज गर्ने निर्णय समेत भएको छ । बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको थियो । बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपियाँ छ ।  

यसैबीच, बैंक अफ काठमाण्डू (बीओके) ले २०.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको असोज ३० गते बिहान बसेको बैठकले आव २०७८/७९ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र १४.९५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

यसैगरी सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको कात्तिक ४ गते शुक्रबार बसेको बैठकले आव २०७८/७९ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रुद्रप्रसाद बञ्जाराले जनाएका छन् । 

त्यसैगरी ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक संचालक समितिको कात्तिक ६ गते आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपियाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपियाँ बराबरको बोनश शेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपियाँ बराबरको नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने भएको हो ।