अर्थले दिएको कोरोना बीमाको एक अर्ब ८१ करोड लिन तँछाडमछाड, नआत्तिनुः सिलवाल

Advertisement

काठमाडौं । चुनावको मुखमा सरकारले कोरोना बीमाको रकम भुक्तानीका लागि एक अर्ब ८१ करोड निकासा गरेपछि उक्त रकम लिन बीमा कम्पनीहरु तँछाडमछाड गरेका छन् । 
 
लामो समयदेखि प्रतिवद्धताअनुसारको रकम लिन आनाकानी गर्दै आएको अर्थ मन्त्रालयले आम चुनावको अगाडि रकम भुक्तानी दिनु अर्थपूर्ण देखिन्छ । उक्त रकम नपाउँदा झण्डै एक लाख बीमित सरकारदेखि रुष्ट रहँदै आएका थिए । 

अर्थले रकम निकासा गर्न आलटाल गर्दा निरास भएका बीमा कम्पनीका सीईओहरु एक अर्ब ८१ करोड बीमा समितिमा आइपुगेको खबरले उत्साहित भएका छन् । खबर थाहा पाउनासाथै बढीभन्दा बढी रकम हात पारेर बीमितहरुलाई भुक्तानी गर्न उनीहरुले अहिले समितिमा धाइरहेका छन् । 
 
अर्थ मन्त्रालयले प्रतिवद्धताअनुसार कोरोना संक्रमित बीमितहरुलाई दिनुपर्ने रकम छ अर्ब रुपियाँ भए पनि एक अर्ब ८१ करोड मात्रै निकासा गरिएको हो । रकम लिन सीईओहरु दौडधुपमा लागेपछि समितिका अध्यक्ष सूर्य सिलवालले नआत्तिन सल्लाह आग्रह गर्दै बाँकी रकम निकासा गराउन पनि आफूहरुले पहल गर्ने आश्वासन दिएका छन् । 

Advertisement

उनले कर्पोरेट नेपालसँग भने, ‘हामीले पहिलेदेखि नै कोरोना बीमाको रकम निकासा गराउन धेरै पहल गरेको हो । अहिले सरकारले केही अंश निकासा गरेको सुनेको छ । यति पैसा आएपछि बाँकी पनि छिट्टै आउनुपर्छ भनेर हामीले थप पहल गरिरहेका छौं । सबै कम्पनीहरुले नआत्तिकन क्रमसः रकम लिएर बीमितलाई भुक्तानी गर्दा हुन्छ ।’ 

लामो समयदेखि अर्थ मन्त्रालयले आनाकानी गर्दै अहिले एउटा अंश मात्रै निकासा गरेको अवस्थामा उक्त रकम कसरी बीमितहरुलाई वितरण गर्ने ? भन्नेमा अन्योलता र विवाद देखिएको छ । कोरोना बीमा गर्ने कम्पनीहरु सकेसम्म धेरै रकम हात पारेर दावी भुक्तानी गर्न हतारमा देखिन्छन् । लामो समयदेखि दावी भुक्तानी नपाएका बीमितहरुले बीमा कम्पनीका कर्मचारीहरुमाथि आक्रोस पोख्दै आएका छन् । 

आफूहरुविरुद्धको आक्रोस कम गर्न पनि बीमकहरु धेरै रकम हात पार्ने प्रयासमा छन् । रकम निकासा भएको थाहा पाउनासाथै कोरोना बीमितहरुको फोन आउन सुरु भएको कम्पनीहरुले बताएका छन् । 

यता समितका अध्यक्ष सिलवलले सबैभन्दा पहिले जसले बीमाको दाबी गरेको छ, उसलाई भुक्तानी दिनु उचित हुने सुझाव दिएका छन् । उनले भने, ‘अर्थ मन्त्रालयबाट पैसा खातामा आउन थालिसक्यो । अब बाँड्न मात्रै के समस्या हुन्छ र ? सबैभन्दा पहिला जसले कोरोना भयो, पैसा देउ भनेको छ, उसैलाई भुक्तानी दियो भने अरुले प्रश्न गर्ने ठाउँ पनि रहँदैन् ।’

बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले आगामी हप्ता बीमक संघको बैठक बस्ने र जतिसक्दो चाडो कोरोना बीमा गर्ने बीमितहरुलाई दाबी भुक्तानी दिन सुरु गर्ने बताए । सरकारले कोरोना बीमाको रकम दिन ढिलाई गरेर राजनीति गरेको भन्दै आलोचना हुँदै आएको थियो । 
 
कुल १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गराएकोमा एक लाख ६५ हजार ५९ जना बीमितबाट १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दावी परेको थियो । दावी भुक्तानी गर्नुपर्नेमध्ये समिति र कम्पनीको भागमा परेको हिस्सा उनीहरुले भुक्तानी गरिसके पनि सरकारले प्रतिवद्धता जनाएअनुसारको रकम भने प्राप्त नहुँदा महिनौंदेखि एक लाख १२ हजार बीमितहरु रकमको प्रतिक्षामा छन् । 

Advertisement

Advertisement