नयाँ स्टक एक्सचेन्ज कम्पनीमा लगानी गर्न तीन वटा व्यवसायिक समूह इच्छुक

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्सका लागि प्रस्ताव आव्हान गरेसँगै तीन वटा व्यवसायीक समूह इच्छुक देखिएका छन् । 

आउँदो निर्वाचनसम्म लाइसेन्स प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चत अदालतले आदेश दिएसँगै सेबोनले यो प्रक्रिया रोके पनि प्रक्रिया सुरु भएपछि आदेश दिन तीन वटा व्यवसायिक समूह तयारी अवस्थामा देखिएका छन् । 

Advertisement

यस प्रक्रियामा सुलभ अग्रवाल नेतृत्वको नेपाल उद्योग  बाणिज्य महासंघसम्वद्ध व्यवसायिक समूह, उपेन्द्र महतो नेतृत्वको गैरआवासीय नेपालीहरु र केडिया अर्गनाइजेशन सम्वद्ध व्यवसायीहरुको समूह र चन्द्र ढकाल नेतृत्वको आईएमई र विशाल ग्रुपसम्वद्ध व्यवसायीहरुको समूह इच्छुक देखिएको हो ।  

सुलभ अग्रवाल नेतृत्वको समूहमा शंकर ग्रुप, खेतान ग्रुप, गोल्छा ग्रुप, गोल्याण ग्रुप, त्रिवेणी ग्रुप, दुगड ग्रुप, पशुपति मुरारका, भवानी राणालगायत महासंघको वर्तमान कार्यकारिणी समितिका मुख्य व्यवसायिक समूह तथा व्यक्तिलाई समेटेर स्टक एक्सचेन्जमा लगानी गर्न खोजेको हो ।  

महतो समूहमा एनआरएनको वर्तमान कार्यसमितिका धेरै पदाधिकारी र केडियाबाहेक रिलायन्स इक्विटि इन्भेष्टमेन्टसम्वद्ध व्यवसायी, अग्नि समूहका क्याविनेट श्रेष्ठलगायतका व्यवसायी, विक्रम पाण्डे  नेतृत्वको कालिका समूह देखिन्छन् । 

अरु समूहले सुरु नगर्दै कम्पनी स्थापना गरेर स्टक एक्सचेन्ज कम्पनीमा लगानी गर्न पूर्वाधार तयार गर्न थालेको आईएमई समूह पनि लाइसेन्स लिने प्रयासमा छ । चन्द्र ढकालले नेपालको सबैभन्दा ठूलो आयातकर्ता समूह विशाल ग्रुपलाई लिएर स्टक एक्सचेन्ज  कम्पनीमा लगानीको योजना बनाएका हुन् । सुलभ समूहले ढकाललाई पनि समेटेर जाने प्रयास गरे पनि सहमति भने हुन सकेको छैन् । 

मिडिया सञ्चालक रामेश्वर थापाले पनि स्टक एक्सचेन्ज कम्पनीमा लगानी गर्न खोजेको हल्ला चले पनि यति ठूलो लगानी गर्नसक्ने क्षमता त्यो समूहसँग देखिन्न । यसमा व्यक्तिले नभई संगठित संस्थाहरुले मात्रै लगानी गर्न सक्छन् । 

सेबानले नयाँ स्टक एक्सचेञ्ज कम्पनीसँगै ब्रोकर र कमोडिटी एक्सचेञ्ज कम्पनीको लाइसेन्सका लागि प्रस्ताव  आव्हान गरेको हो । यद्यपि यो प्रक्रिया यथास्थितिमा राख्ने उसले निर्णय गरेको छ । चुनावपछि यो प्रक्रिया अघि बढ्ने देखिन्छ । सेबोनले गत असोज २ गते सूूचना प्रकाशित गरी नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन माग गरेको थियो । 

ब्रोकरको लाइसेन्सका लागि ४५ वटा आवेदन परे पनि स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेञ्ज कम्पनीका लागि कुनै आवेदन परेको छैन् । 

Advertisement

Advertisement