गोवा, बाली, बैंककमा जस्तो सुविधा दिनेगरी गैंडाकोटमा ‘नारायणी विच एडभेन्चर रिसोर्ट’ सञ्चालन

Advertisement

काठमाडौं । नवलपरासीस्थित गैंडाकोटमा ‘नारायणी विच एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आएको छ । रिसोर्टका प्रबन्ध निर्देशक महेन्द्र सिंह थापाले २० करोड लगानी गर्ने योजनाअनुसार रिसोर्ट निर्माण सुरु भएको र अहिलेसम्म १२ करोड रुपियाँ लगानी भइसकेको जानकारी दिए । 

लामो समयदेखि पर्यटन क्षेत्रमा संलग्न उनी इक्वेटर ट्रेक एण्ड एक्सपेडिशन, सुकुटे विच एण्ड एडभेन्चर रिसोर्ट, गोर्खा विच एडभेन्चर रिसोर्टका समेत सञ्चालक हुन् । गैंडाकोटमा रिसोर्ट सञ्चालनमा ल्याउनुको उद्देश्य नेपालीसहित विदेशी पर्यटकहरुलाई गोवा, इन्डोनेसियाको बाली, थाइल्याण्डका विभिन्न पर्यटकीय स्थलमा जस्तो मनोरञ्जन र सुविधा दिनु भएको थापाको भनाई छ । 

Advertisement

नेपालमै नारायणी नदीमा मोटर बोट, पानी जहाज चढ्ने सुविधा दिन सके नेपाल पनि विदेशका पर्यटकीय स्थलभन्दा कम नहुने भन्दै उनले नारायणाी नदीमा पानी ठूलो रहेकाले विच एडभेन्चर रिसोर्ट सञ्चालन गरेको बताए । 

आफ्नो रिसोर्टले नयाँ पानी जहाज र जेट स्कीहरु ल्याइसकेको जानकारी पनि थापाले दिए । सञ्चालनमा आएको दुई महिना मात्रै भएको यस रिसोर्टमा १२ करोड लगानी भइसकेको र अझै आठ करोड लगानी हुने अनुमान गर्दै उनले थपे, ‘अब पर्यटकहरुले नेपालमै विचको अनुभव गर्नुहुन्छ । रमाउन, पानी जहाज चढ्न गोवा, इन्डोनेसिया, थाइल्याण्ड जानु पर्दैन् ।’ 

Advertisement

नारायणी विच रिसोर्टमा पौडी पोखरीहरु पनि सञ्चालनमा ल्याइसकिएको छ । आफूले सञ्चालनमा ल्याएका सुविधाहरु पर्यटकहरुले निकै मन पराएको दावी गर्दै थापाले आफूले सञ्चालन गर्दै आएका सबै व्यवसायमा २५० भन्दा बढी कामदार कार्यरत रहेको जानकारी दिए । 

उनले भने, ‘नारायणघाट मुलुकको सेन्टर पनि पर्यो । बुटवलदेखि लिएर काठमाडौं, नारायणघाट, सौराहा सबै नजिकै भएकोले नारायणी विच रिसोर्टले राम्रो मार्केट लिन्छ भने आशा छ । लगानी पनि ठूलो लागेको छ । अझै गर्दै पनि छु । अमेरिकाबाट पनि ठूलो नयाँ जहाज ल्याउँदै छु ।’ 

रिसोटमा बस्ने कोठाहरु तयार हुन् अझ् तीन महिना लाग्ने उनले जानकारी दिए । थापाले तीन वटा मोटर बोट, दुई वटा जेट स्कि आइसकेको र अझै दुई वटा विशेष मोटरबोट ल्याउने तयारी भइरहेको बताए । अमेरिकाबाट आउन लागेका विशेष मोटर बोट तीन महिनाभित्र नेपाल आइपुग्ने उनले बताए । 

थापाले अहिले पर्यटकहरु बिहान आउने, स्विमिङ खेल्ने, खाना खाएर मोटर बोट चढ्न जाने क्रम सुरु भइसकेको बताए । उनले भने, ‘अबको योजना भनेको पर्यटकहरु रिसोर्टमा राती बस्ने सुविधा दिने हो ।  पर्यटकलाई देवघाट जान मन लागे बिहान हामी लगिदिन्छौं । त्यहाँबाट फर्किएपछि खाना खाने, त्यसपछि जेट स्किमा घुम्ने कि मोटर बोटमा घुम्ने कि ? स्विमिङ गर्ने कि ? के गर्ने ? त्योअनुसारको सबै तालिका र व्यवस्थापन तीन महिनाभित्र मिलाइसक्छौं ।’

रिसोर्टमा बगैंचा, खेल्ने ठाउँहरु पनि निर्माण भइसकेको छ । थापाले रिसोर्टमा विश्वस्तरीय उपकरणहरु मात्रै राख्ने बताउँदै थपे, ‘मैले अहिले राखेको मोटर  बोटहरु चिनियाँ हो । अब आउने मोटर बोट अमेरिकी हो । केही महिनाअघि म आफै अमेरिका गएर अर्डर गरेर आएको । अहिले हामीसँग भएको मोटर बोटहरु हिंड्न चार फिट पानी चाँहिन्छ । तर अमेरिकाबाट आउने मोटर बोटलाई ६ इन्च पानी भए पनि पुग्छ । त्यसलाई त्यस्तो गहिरो पानी चाहिँदैन् । नेपालमा कहीं गहिरो छ, कहीं छैन् । त्यस्तो ठाउँमा अहिलेको मोटर बोट काम लाग्दैन् । अमेरिकाको मोटर बोट राखेपछि मुग्लिनसम्म पुग्न सकिन्छ ।’

Advertisement