कृषि उद्यमीहरूको आवश्यकताहरुको विश्लेषण

Advertisement

पदम भण्डारी 
नेपालको आर्थिक उन्नती गर्न र गरिबी हटाउन कृषि उद्यमशीलता एक प्रमुख कारक तत्व हो। नेपाली अर्थतन्त्र मूलतः एक कृषि अर्थतन्त्र भएकोले यसले कृषि उद्यमशीलता, खाद्य प्रशोधन र अन्य सम्बद्ध गतिविधिहरुको लागि ध्यान दिनुपर्छ । कृषि उद्यमीहरूको आवश्यकताहरुको राम्ररी विश्लेषण गर्ने र सो अनुरुप गतिविधिहरु सञ्चालन गरेमात्र नतिजा प्राप्त हुन्छ । कृषि उद्यमीहरूको आवश्यकताहरुमध्ये पर्याप्त पूर्वाधार सुविधाहरू र आवश्यक सामग्रीहरु, कृषि उद्यममा लगानी वृद्धि, लागत घटाउन अनुदानको व्यवस्था र प्रतिस्पर्धाको रणनीतिक समाधान प्रमुख आवश्यकताहरु हुन । 

कृषि उद्यमीहरूको क्रमशः वित्तीय आवश्यकता र बजार एवं बजारिकरणको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण आवश्यकताहरु हुन् । सरकार र गैरसरकारी संस्था र सहयोगी निकायहरुले मूल्यमा निश्चितता, अनुदानको व्यवस्था र आधुनिक प्रविधिको बारेमा चेतना जगाउने र कृषि व्यवसायीहरूलाई आर्थिक र बजार तथा बजारिकरण सहायता जस्ता केही उपायहरू अपनाउनु पर्ने हुन्छ जसले उनीहरुलाई थप आय आर्जन गर्न मद्दत गर्दछ र प्रेरणा पनि दिन्छ। 

Advertisement

नेपाली अर्थतन्त्र मूलतः कृषि प्रधान छ। उल्लेखनीय आर्थिक विकास र औद्योगिकीकरणको बाबजुद कृषि नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा छ। देशको झण्डै दुई तिहाई जनसंख्या आफ्नो जीविकोपार्जनको लागि प्रत्यक्ष कृषिमा निर्भर छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आव २०७८–७९ मा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत छ । नेपालमा प्रशस्त मात्रामा खेति योग्य जमिन, उपयुक्त माटो, विभिन्न प्रकारका बालीका लागि उपयुक्त मौसमी भिन्नता हुँदाहुँदै कृषि क्षेत्रको योगदान कम हुनु भनेको खाद्यवस्तुको उत्पादन घट्नु हो । यसले अत्यावश्यक वस्तुको आयात बढाउँछ । व्यापार घाटा बढ्छ  । कृषिको उत्पादकत्व कम हुनुमा धेरै कारणहरू छन्, जस्तै सानो आकारको जमिन र आज पनि किसानहरुले खेतीमा धेरै पुराना विधि, औजार र उपकरणहरू प्रयोग गरिरहेका छन्। राम्रो गुणस्तरको बीउ, मल र वाली संरक्षणका उपायहरु अधिकांश किसानहरूले प्रयोग गर्दैनन् । कृषि क्षेत्रमा ऋण प्रवाह पनि न्यूनतम छ। जनताको जीविकोपार्जनको प्रमुख स्रोत कृषि भएकाले हाम्रो राष्ट्रिय समृद्धिको पूर्वशर्त कृषि विकास हो । देशको योजनाबद्ध सामाजिक–आर्थिक विकासका सबै रणनीतिहरूमा कृषिलाई केन्द्रविन्दु बनाइनुपर्छ । 

कृषि उद्यमशील गतिविधिहरूको लागि अपार सम्भावनाहरू भएको एक मात्र ठूलो क्षेत्र हो । कृषि र सम्बद्ध क्षेत्रहरू उद्योगहरूका लागि कच्चा पदार्थको महत्त्वपूर्ण स्रोत हुन् र धेरै औद्योगिक उत्पादनहरू विशेष गरी मल, कीटनाशक विषादी, कृषि औजार र विभिन्न उपभोग्य वस्तुहरूको लागि तिनीहरूको माग छ। तसर्थ कृषि र सम्बद्ध क्षेत्रहरू नेपाली अर्थतन्त्रको मूख्य आधार मानिन्छ। विश्वमा बदलिँदै गएको सामाजिक, आर्थिक, राजनीतिक, वातावरणीय र सांस्कृतिक आयामका कारण किसानहरुको जिविकोपार्जन र राष्ट्रको समुन्नतिका लागि आ(आफ्नो आर्थिक परिवेशमा परिवर्तन गरि सफलता सुनिश्चित गर्ने विकल्पहरू झन्झटिलो र आलोचनात्मक बन्दै गएको छ । यो पनि ध्यान दिन जरुरी कि विश्वव्यापी रुपमा खुल्ला बजार अर्थतन्त्रको उदयले ‘कृषि उद्यमशिलता’को नयाँ भावनाको विकास गरेको छ र आफ्नै व्यवसाय सञ्चालन गर्न जिम्मेवारीको व्यक्तिगत आवश्यकता बढेको छ । कृषिमा उद्यमशीलतालाई कृषिमा जोखिम र अनिश्चितताको अवस्थामा वृद्धि वा लाभको उद्देश्यका लागि नवीन आर्थिक संगठनको निर्माणको रुपमा परिभाषित गर्दछ। ग्रामीण क्षेत्रमा बढ्दो बेरोजगारी र गरिबी र कृषिको सुस्त बृद्धिको अवस्थामा थप उत्पादकत्व र नाफाका लागि कृषिमा उद्यमशीलता आवश्यक छ ।

उद्यमशीलताको सोच र अभ्यासलाई कृषिको क्षेत्रमा लागू गर्नाले उत्पादकत्व वृद्धि, नयाँ व्यापार व्यवसायको सृजना, नयाँ रोजगारी, नवीन उत्पादन र सेवा, ग्रामीण क्षेत्रको विकास र सम्पत्ति वृद्धि जस्ता व्यापक आर्थिक लाभहरू सृजना हुन्छ। वैज्ञानिक कृषि र प्रभावकारी कृषि व्यवस्थापन प्रणालीबारे अनभिज्ञ परम्परागत कृषिमा भर पर्ने कृषकहरुले बाढी पहिरो, अतिवृष्टि, अनावृष्टि, कमसल बिउ र मलको अभावको सामना गर्न नसकेपछि कृषि पेशाबाटै पलायन हुने गरेका छन् । कृषिको क्षेत्रमा लागू गरिएको उद्यमशीलताको व्यवस्थापकीय, प्राविधिक र नवीन सीपहरूले सकारात्मक नतिजा ल्याउन सक्छ र राम्रो प्रशिक्षित कृषि व्यवसायीहरू त्यस्ता सबै निराश किसानहरु लागि रोल मोडेल बन्न सक्छन्। तर केही बाधाहरु वा कृषि व्यवसायीहरुको आवश्यकताहरुले उनीहरूलाई सफल हुनबाट रोक्छ । यस पृष्ठभूमिमा कृषि व्यवसायीहरूको प्राविधिक, वित्तीय र बजार एवं बजारिकरणका आवश्यकताहरुको लेखाजोखा र अध्ययन गर्ने उद्देश्य हुनुपर्छ । 

कृषि व्यवसायीहरुको आवश्यकताहरुः 
यहाँ कृषि व्यवसायीका प्रमुख आवश्यकताहरुलाई तीन प्रमुख वर्गहरुमा विभाजन गरिएको छ । प्राविधिक आवश्यकताहरु, वित्तीय आवश्यकताहरु र बजार एवं बजारिकरणका आवश्यकताहरुः 

क) कृषि व्यवसायीहरुको प्राविधिक आवश्यकताहरुः 
नयाँ उद्यम स्थापना गर्न र यसको व्यवस्थापनका लागि कृषि व्यवसायीहरुको प्राविधिक आवश्यकताहरु राम्ररी पहिचान गर्ने र त्यसको समाधान गर्नुपर्छ । यस अन्तर्गत पर्याप्त पूर्वाधार सुविधाहरू र आवश्यक कृषि सामग्रीहरु, नवीनतम प्रविधिहरू र बजार प्रवृत्तिहरूमा व्यावसायिक विशेषज्ञता, समयमा दक्ष श्रमको उपलब्धता, व्यवसायसँग सम्बन्धित ज्ञान अद्यावधिक गर्न आवधिक सीप उन्मुख प्रशिक्षण, कृषि व्यवसायसँग सम्बन्धित सरकारी योजना र कार्यक्रमहरूको बारेमा पर्याप्त जानकारी, पर्याप्त संगठनात्मक समर्थन र मार्गदर्शन, कष्टम हायरिङ सेन्टर मार्फत यान्त्रीकरण, समयमा दक्ष श्रमको उपलब्धता, व्यवसायसँग सम्बन्धित ज्ञान अद्यावधिक गर्न आवधिक सीप उन्मुख प्रशिक्षण, ग्राहकहरुको समर्थन र मार्गदर्शन जरुरी छ । सेवा क्षेत्रको सन्दर्भमा कृषि व्यवसायीहरुले विशेष गरि आधुनिक प्रविधिहरू, समयमा दक्ष श्रमको उपलब्धता र व्यवसायसँग सम्बन्धित ज्ञान अद्यावधिक गर्न आवधिक सीप उन्मुख तालिमहरू समावेश गर्दा केही विशेष कामहरु गर्न उपयुक्त दक्ष जनशक्ति पाउन सकेका छैनन् ।  

ख) कृषि व्यवसायीहरुको आर्थिक आवश्यकताहरुः 
नयाँ उद्यम स्थापना गर्न र यसको ब्यवस्थापनका लागि कृषि व्यवसायीहरुको वित्तीय आवश्यकताहरु सम्बोधन गर्न जरुरी छ । धेरै अध्ययनहरुको निष्कर्षले देखाएको छ कि कृषि उद्योग स्थापना गर्न अवरोध सृजना गर्ने प्रमुख कारक तत्व प्रारम्भिक लगानीको उच्च लागत हो कृषि व्यवसायीहरुलाई वित्तीय संस्थाबाट समयमै कर्जा उपलब्ध नहुनाले वित्तिय अभाव प्रमुख समस्याको रुपमा रहेको छ । यसका साथसाथै कृषि व्यवसायीका अन्य प्रमुख आर्थिक आवश्यकताहरुमा पर्याप्त आर्थिक मार्गदर्शन र सहायता, न्यून ब्याजदरमा ऋणको आवश्यकता, विभिन्न कोष योजना र तिनका कार्यविधिहरूबारे चेतनाको आवश्यकता, ऋणको जमानत र परिवार र साथीभाइबाट आर्थिक सहयोगको आवश्यकता हुन् । अनुदान र प्रोत्साहनको नीति, वित्तीय सहायताका लागि विशेष योजना र वित्तीय संस्थासम्बन्धी चेतना उद्यमीहरुको प्रमुख आवश्यकता रहेको देखिएको छ । त्यसैले लगानीको प्रारम्भिक लागत घटाउन अनुदानको प्रावधान हुनुपर्छ ।

ग) कृषि व्यवसायीहरुको बजार र बजारिकरणका आवश्यकताहरुः 
नयाँ कृषि उद्यम स्थापना गर्नका लागि कृषि व्यवसायीहरुको बजार एवं बजारिकरण आवश्यकता र त्यसको समाधानका उपायहरुको कार्यान्वयन हुनु जरुरी छ । उत्पादनमूलक क्षेत्रमा नयाँ उद्यम शुरु गरेका कृषि व्यवसायीहरूले भोग्नुपरेको प्रमुख समस्या भनेको ठूला संगठन वा पहिले नै स्थापित उद्यमबाट विशेष गरि मानकीकरण, बजारिकरण, नियमित ग्राहकहरुको निरन्तरता आदिको सन्दर्भमा कडा प्रतिस्पर्धा आदि हुन् । त्यसैले मूल्यको प्रतिस्पर्धाको लागि रणनीतिक समाधान बजारका विभिन्न  पक्षहरुसँग सम्बन्धित कृषि व्यवसायीहरुको प्रमुख आवश्यकता हो । उत्पादनको पर्याप्त माग, बजार जानकारीको पर्याप्त र समयमै उपलब्धता, कच्चा पदार्थको मूल्यमा निश्चितता, कृषि व्यवसायीले सामना गर्ने बहुआयामिक समस्या, सुधारिएको भण्डारण सुविधा बजार एवं बजारिकरणमा कृषि उद्यमीको प्रमुख आवश्यकताहरु हुन् । 

कृषि उद्योग स्थापना गर्दा उद्यमीहरुलाई दर्ता र इजाजतपत्रलाई सरल बनाउनु जरुरी छ । साना तथा घरेलु उद्योगहरुले ठूला उद्योगहरुबाट कडा प्रतिस्पर्धा गर्नुपर्ने, बजार मागको आधारमा उत्पादन नहुनु र उत्पादित वस्तु बजारमा माग नहुनु, बजारिकरणको ज्ञानको अभाव प्रायःजसो उद्यमीहरूले सामना गर्ने प्रमुख बाधाहरु हुन् । 

त्यस्तै उत्पादनको लागि पर्याप्त माग, बजार जानकारीको पर्याप्त र समयमै उपलब्धता,  कच्चा पदार्थको मूल्यमा सुनिश्चितता, सुधारिएको भण्डारण सुविधाहरु, प्रशोधन र अन्य मूल्य अभिवृद्धि गतिविधिहरू तर्फ अभिमुखीकरण, बिक्रीको समयमै भुक्तानी, दर्ता र इजाजतपत्र प्रक्रियालाई सरल बनाउने, न्यूनतम बजारिकरण शुल्क, समयमै भुक्तानी आदि उपायहरु अपनाउनु पर्छ । 

गरिबी हटाउन र नेपालको आर्थिक प्रगति गर्न कृषि उद्यमशीलता एक प्रमुख कारक हो। कृषिको क्षेत्रमा लागू गरिएको उद्यमशीलताको व्यवस्थापकीय, प्राविधिक र नवीन सीपहरूले सकारात्मक नतिजा ल्याउन सक्छ र राम्रो प्रशिक्षित कृषि व्यवसायीहरू त्यस्ता सबै निर्वाहमुखी खेती प्रणालीमा अल्झिरहेका किसानहरूका लागि रोल मोडेल बन्न सक्छन् । पर्याप्त पूर्वाधार सुविधाहरू र आवश्यक कृषि सामग्रीहरु, नवीनतम प्रविधिहरूमा व्यावसायिक विशेषज्ञताको आवश्यकता र दक्ष श्रमिकको उपलब्धता कृषि व्यवसायीहरूको प्रमुख प्राविधिक आवश्यकताहरु हुन । लगानीको प्रारम्भिक लागत घटाउन अनुदानको व्यवस्था, पर्याप्त वित्तीय निर्देशन र सहयोग र वित्तीय संस्थाहरूबाट समयमै ऋण प्रमुख वित्तीय आवश्यकताहरु हुन भने प्रतिस्पर्धाको रणनीतिक समाधान, उत्पादनको पर्याप्त माग र ग्राहकहरूबाट समयमै भुक्तानी प्रमुख विषयहरु हुन् । कृषि व्यवसायीको बजारिकरणको आवश्यकता, सरकारले मूल्यमा निश्चितता, अनुदानको व्यवस्था र कृषि व्यवसायीहरूलाई आर्थिक सहयोग जस्ता उपायहरू अपनाउनु पर्छ । आधुनिक प्रविधिको बारेमा चेतना जगाउन सहयोगी निकायहरु अगाडि आउनु पर्छ  र कृषि व्यवसायीहरुलाई आर्थिक र बजारिकरणमा सहयोग गर्नुपर्छ जसले उनीहरूलाई थप आय आर्जन गर्न र उद्यमको वृद्धि गर्न मद्दत गर्नेछ । यसले अरुलाई पनि नयाँ कृषि उद्यम शुरु गर्न प्रेरित गर्नेछ।

०००

(कृषि बजार प्रणालीम चासो राख्ने र कलम चलाउने लेखक भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसरको रुपमा समेत आवद्ध छन्)  

Advertisement

Advertisement