गुराँसको २८ करोड गडबडीबारे युनियनका सीईओ भन्छन्– बीमांकीले हिसाब मिलाइसके

Advertisement

काठमाडौं । गएकोआर्थिक वर्षको खोटपूर्ण वित्तीय विवरण पेश गरेको गुराँस लाइफ इस्योरेन्स युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने तयारीमा छ । 

वित्तीय विवरणमा २८ करोड रुपियाँ रकम गडबढी देखिए पनि छानविन र कारवाही बिना मर्जरमा जाने तयारी गर्दा धेरै खालका आशंकाहरु उत्पन्न भएको छ । यस गडबढीले युनियन र प्राइमका सञ्चालक र व्यवस्थापकहरुलाई समेत झस्काउने गरे पनि नेपाल बीमा प्राधिकरण मौन बस्दा मर्जर प्रक्रिया अघि बढेको हो ।   

Advertisement

गुराँसको २८ करोड रुपियाँ गडबढी रहेको वित्तीय विवरण तत्कालिन बीमा समितिबाट स्वीकृत भएपछि गडबढी फेला परेको थियो । यस विषयमा सोध्दा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले हतारमा काम गर्दा झुक्किएर वित्तीय विवरण स्वीकृत हुन पुगेको भन्दै गुराँसको हिसावकिताब नमिलेको स्वीकार गरेका थिए । 
  
प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिका लागि शेयरधनीहरुलाई लगानी थप्न कठिन रहेको अवस्थामा मर्जर नै उपयुक्त विधि भएको ठहर गर्दै मर्जर प्रक्रियालाई सहजीकरण गर्दै आएको छ । यसका लागि उसले कम्पनीहरुलाई सुविधा पनि दिएको छ । सोही कारण प्राधिकरणले गुराँस लाइफमाथि कुनै कारवाही नगरी उसको नमिलेको २८ करोड रुपियाँको हिसावबारे मौन बसेको हुनसक्ने देखिन्छ ।

गुराँसको नमिलेको उक्त हिसाव प्राधिकरणको बीमांकी (एक्चुरी)मार्फत मिलाउने काम भएको खुलासा भएको छ । प्राधिकरणले आफ्नो बीमांकीलाई लगाएर गलत वित्तीय विवरण सच्याउने कुरा कानुनीरुपमा कति उचित नभएको अरु बीमा कम्पनीका सीईओहरुको भनाई छ । 
   
युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले प्राधिकरणको एक्चुरीले उक्त हिसाव मिलाइसकेकोले मर्जर प्रक्रिया अघि बढाउन आफूहरु तयार भएको स्वीकार गरे । एउटा कम्पनीको दबाब र स्वार्थमा नियामकले आफ्नो एक्चुरीमार्फत एउटा सूचकको हिसाव अर्कोमा पार्न मिल्छ ? भन्ने कुरामा उनी धेरै खुल्न चाहेनन् । 

तर अन्य कम्पनीका सीईओहरुले भने एउटा सूचकमा रहेको पैसा अर्को सूचकमा कुनै पनि हालतमा लान नमिल्ने बताउँछन् । यता गुराँस लाइफका सीईओ बिपीन लालले कम्पनकिो हिसाव कितावमा भएको गडबढीबारे सोध्दा ‘आफू कार्यालय बाहिर रहेको र यसबारे अरु कर्मचारीहरुलाई सोध्न आग्रह गरेका थिए । गलत वित्तीय विवरण तत्कालिन बीमा समितिमा पठाउने विषयमा विवाद भएपछि गुराँस लाइफका एकाउन्टेन्ट बीके अग्रवालले राजीनामा दिएर बाहिरिएका थिए । 

युनियन लाइफका सीईओ कर्णले गुराँसको नमिलेको हिसाव कितावको समस्या समाधान भइसकेको दावी गरे । कम्पनीभित्रको कारोबारसम्वन्धी विवादको सुचना लिक गरेको भन्दै गुराँसका सञ्चालकहरुले आफ्नो सीइृओमाथि आशंका गर्दै आएको छ । उनलाई तत्काल हटाउँदा बजारमा गलत म्याजेज बाहिर जाने र मर्जर प्रक्रिया पनि प्रभावित हुने डरले सञ्चालकहरु मौन बसेको अवस्था छ ।  

यस्तो छ कर्णको भनाईः 
मर्जर अन्तिम अवस्थमा पुगिसकेको छ । मर्जरका लागि कुनै अवरोध छैन् । सबै कम्पनीहरु मर्जरका लागि तयार भइसकेका छन् । अबको केही दिनमा हामी मर्जरमा जान्छौं । 

गुराँस लाइफको हिसाब किताब गडबढी भएको कुरामा चाहिं प्राधिकरणको बीमांकीले आफ्नो हिसाब तयार पारिसकेको अवस्था छ । अब त्यो कुराले समस्या पार्दैन । स्वीकृत हुने आधिकारीक ठाउँबाट स्वीकृत भएकाले पनि असर गर्दैन् । 

यसअघि पेशागत अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारीले पनि बीमा कम्पनीहरुको बोनस दर जस्तो महत्वपूर्ण विषयमा बीमांकीको मनपरी चल्ने गरेको खुलासा गरेका थिए । उनले बोनस दरमा बीमा क्षेत्रको नियामक निकाय र बीमांकीबीच सेटिङ हुने र सो कुरा आफूले विगत २०६० सालदेखि देख्दै र बोल्दै आएको प्रतिक्रिया दिएका थिए ।

तत्कालिन समयमा सबै जीवन बीमा कम्पनीले आफ्नो विवरण प्रकाशन गरिसक्दा पनि गुराँस लाइफ भने ढिलो गरेबाट धेरै आशंका जन्मिएको थियो । जीवन बीमा कोष लाइफ फण्डमा गएको पैसा कुनै पनि हालतमा बाहिर निकाल्न नहुने भए पनि गुराँस लाइफले गडबडी गरेको अर्को कोषमा हालेको थियो । 

यो पनि पढ्नुहोस्ः

गुराँस लाइफमा भएको रु. २८ करोड गोलमालले मर्जर प्रक्रियामा बाधा, निगरानी गर्दैछौंः समिति

गुराँस लाइफको वित्तीय विवरणमा २८ करोड गडबडी, हतार गर्दा स्वीकृत हुनपुगेछः समिति

Advertisement

Advertisement