बीमा कम्पनीहरुको बैंकहरुलाई प्रश्न– दावी भुक्तानी हामी दिने, ‘तिमीहरु बीमाको प्रचार गर्ने ?

Advertisement

काठमाडौं । बैंकहरुले आफ्ना उत्पादनहरुमा ग्राहकहरुलाई बीमा सुविधा दिँदै आएका छन् । ती बीमा सुविधाको भुक्तानी बीमा कम्पनीहरुले गर्ने हो । तर त्यसको जानकारी बैंकका अधिकांश ग्राहकहरुलाई हुँदेन् । यस परिस्थितिले आफ्नो व्यवसायमा असर पर्ने मात्रै नभएर ग्राहकको सुसुचित हुने अधिकारसमेत कुण्ठित भएको बीमा कम्पनीका सीईओहरुको भनाई छ । 

बैंकहरुले बीमा कम्पनीहरुसँग सम्झौता गरेर आफ्ना उत्पादन (प्रोडक्ट)हरुमा बीमा सुविधाहरु दिने गरेका छन् । त्यसरी दिइएको सुविधामा बीमाको प्रिमियम बैंकले तिर्ने भए पनि पर्ने बीमा दावीको भुक्तानी भने बीमा कम्पनीहरुले गर्छन् । बीमाको दावी भुक्तानी बीमा कम्पनीले गर्ने भएकाले कुन कम्पनीले भुक्तानी गरेको हो ? सो कुराको जानकारी ग्राहकहरुलाई दिनुपर्ने बीमा कम्पनीहरुको तर्क छ । 

Advertisement

बीमा जहाँबाट गराए पनि अन्तिममा त्यसको दाबी भुक्तानी बीमा कम्पनीबाटै हुने भएकाले बैंकले आफैले बीमा गरेको जसरी प्रचार गर्नु उपयुक्त नहुने उनीहरु बताउँछन् । 

यता बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले पनि बैंकले कुनै पनि बीमा बेच्दा सम्बन्धित बीमा कम्पनीको नाम खुलाउनुपर्ने स्पष्ट पारेको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बैंकले आफ्ना प्रोडक्टमार्फत बिक्री गर्ने बीमाको पहिचान नखुलाउने कुरा गम्भीर विषय भएको बताए । 

उनले त्यसबाट जनतामा बीमा र बैंकको काममा नै भ्रम सिर्जना हुँदै आएको बताए । त्यस्तो काम रोक्न आफूहरुले निर्देशन समेत दिइसकेको बताउँदै पौडेलले बैंकिङ क्षेत्रबाट कार्यान्वयन नभएको बताए । यस बिषयमा सोध्न नेपाल राष्ट्र बैंक भने मौन बस्न रुचाएको छ । 

यता प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले थपे, ‘हामीले बारम्बार भनेका पनि छौं । बीमा कम्पनीलाई पनि निर्देशन दिइसकेका छौं । तर यो कुरा पालना भएको छैन् । बीमा कम्पनीहरुले बैंकबाट बीमा बेच्नु, सम्झौता गर्नु राम्रो कुरा हो । तर, बीमा कम्पनीको नाम र सुविधाको बारेमा जानकारी गराउनुपर्छ । बैंकले बीमा कम्पनीको त्यति नाम लिँदा जायज हुन्छ । केही बिग्रिन्न ।’ 

सूर्या लाइफ इन्स्योरेन्सका सीईओ पवन खड्काले बैंकहरुले बीमा बेच्दा नाम नखुलाउने कुराले गलत प्रचार भइरहेको बताउँदै बैंकका कारण अभिकर्ता लाइसेन्स बीमा नै बीमा हुन्छ भन्ने सन्देश पनि जनमानसमा गएको बताए । 

उनले भने, ‘जनतालाई सेवा दिने कुरा भएकाले यसलाई दुईवटा पाटोबाट हेर्नुपर्छ । आर्थिक क्षेत्रको विकासका लागि आर्थिक संस्थाहरु नै मिलेर काम गर्नु एक हिसाबमा राम्रो देखिए पनि अर्को हिसाबमा अहिलेको तरलता अभावमा आफ्नो मुख्य काम जे छ, त्यही गर्दा राम्रो देखिन्छ । बीमा वा बैंकको सिद्धान्त जे छ त्यही अनुसार काम गर्नुपर्छ । नत्र बीमा कम्पनीले धमाधम धितोमा ऋण दिन थाल्यो भने त बैंकलाई पनि ठूलै चुनौती हुन्छ नि ।’ 

खड्काले थपे, ‘अहिलेसम्म बैंकले आफ्नै काम गरेको छ भने बीमा कम्पनीले पनि आफ्नै काम गरेको छ तर यहाँ त गलत प्रचार हुन पुगेको छ । अभिकर्ता लाइसेन्स बीना नै बीमा हुन्छ भन्ने बुझाई अहिले जनमानसमा बैंकले पारेको छ । त्यो गलत छ ।’

बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले दुर्घटनामा दावी भुक्तानी बीमा कम्पनीले दिए पनि नाम भने बैंकको आउने गरेको गुनासो गरे । उनले भने, ‘दुर्घटना परेको बेलामा बीमा कम्पनीहरुले पैसा दिन्छन् । अनि नाम चाहिं ‘फलानो बैंकले दाबी भुक्तानी दियो’ भनेर आउन थालेको छ । बीमा बुझ्नेहरुको लागि त यो त्यति ठूलो कुरा नहोला । तर जसलाई बीमाको बारेमा थाहा छैन्, उहाँहरुले त अहिले बीमा कम्पनीले भन्दा बैंकले राम्रो बीमा गराउँछ भन्न थाल्नु भएको छ । बीमा जहाँबाट भए पनि पैसा दिने बीमा कम्पनीले नै हो भन्ने सन्देश बैंकहरुले पनि दिन कन्जुस्याईं गर्न हुँदैन् ।’ 

बीमा चेतनामा असर पार्ने किसिमले बैंकहरुले आफ्नो योजनाहरु ल्याएको बताउँदै क्षेत्रीले बीमा कम्पनीहरुसँग भएको सम्झौता समेत खुलाउन आवश्यक रहेको बताए । 

एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद (एलपी) दासले पनि बीमा र बैंकले आफ्नो मुख्य काममा केन्द्रित भएर कामको गुणस्तर बढाउन लाग्नुपर्ने बताए । उनले एक अर्काको काम साटेर वा सम्झौता गरेर काम गर्नु पर्ने कुनै पनि अवस्थामा छुकिछिपी बैंकले बीमा गर्नेभन्दा पनि बीमा कम्पनीको नाम खुलाउँदा जनतामा सकारात्मक सन्देश जाने बताए । 

Advertisement

Advertisement