‘व्यालेन्स सिट’ बिग्रिने भन्दै सरकारले दिएको कोरोना बीमाको पैसा कम्पनीहरुले बाँडेनन्

Advertisement

काठमाडौं । लामो समयदेखि सरकारका कारण अन्योलमा परेको कोरोना बीमाको दावी भुक्तानी अहिले आएर निर्जीवन बीमा कम्पनीहरुको कारण अन्योलमा परेको छ । 

सरकारले प्रतिवद्धताअनुसारको केही रकम निकासा गरेर बीमक संघको खातामा आइसकेपछि पनि यसलाई कसरी वितरण गर्ने ? भन्ने कुरा व्यवस्थापन गर्न नसक्दा बीमितहरु थप पीडित हुने अवस्था सिर्जना भएको हो । 

Advertisement

कोरोना बीमाको रकम प्राप्त गर्न लामो समयदेखि पखाईमा रहेको बीमितहरु सरकारले केही रकम निकासा गरेको समाचारबाट केही खुशी भएका थिए । तर बीमा कम्पनीहरुले व्यालेन्स सिट बिग्रिने भन्दै रकम वितरण गर्न आनाकानी गरेपछि उनीहरु थप पीडित हुने अवस्था सिर्जना भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

प्राधिकरण स्रोत भन्छ, ‘सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि प्रतिवद्धताअनुसारको केही रकम बीमक संघको खातामा पठाईसकेको छ । बीमक संघले अब त्यो रकम कुन आधारमा बितरण गर्ने ? भन्ने कुरा अझै निर्णय गर्न सकेको छैन् । रकम वितरण गर्ने कुरामा केही बीमा कम्पनीहरुले नचाहिँदा बखेडा झिक्न थालेका छन् ।’

उनले बीमा कम्पनीहरुले आफ्ना सञ्चालक समितिलाई समेत दोष लगाउँदै कोरोना बीमाको दाबी भुक्तानीमा आलटाल गरेको बताए । कम्पनीहरुको के छ तर्क ? भन्ने प्रश्नमा प्राधिकरणका ती कर्मचारीले भने, ‘बीमा कम्पनीहरुले पनि बाँडफाँड गरेर बाँकी रकम तिर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै दाबी भुक्तानीबाट भाग्न खोजेका छन् । एउटै कम्पनीको भागमा पाँच–सात करोड रुपियाँ पर्ने देखिन्छ । पैसा दिन आफ्नो सञ्चालक समितिको निर्णय लिनु पर्ने कम्पनीहरुको भनाई छ ।’

हाल प्राप्त कोरोना बीमाको रकमलाई ५५ प्रतिशत मानी बाँकी ४५ प्रतिशत बीमा कम्पनीहरुको खाताबाट हाल्ने भनेसँगै कम्पनीहरु झस्किन पुगेको उनले बताए ।  यसरी बाँड्दा कम्पनीहरुको ‘व्यालेन्स सिट’ बिग्रिने कम्पनीहरुको तर्क छ ।

यससँगै बुधबार निर्जीवन बीमा कम्पनीका अधिकांश सीईओहरु समेत सम्पर्कमा आउन चाहेनन् । कम्पनीको नाफामा नै सिधै असर पर्ने र आफ्नो वित्तीय विवरणमा ठूलो रकमको अन्तर आउने भएका बीमा कम्पनीहरुले तत्काल कोरोना बीमाको दाबी भुक्तानी दिने छाँटकाँट नदेखाएको स्रोतको भनाई छ । 

मंसिरमा हुने चुनाव अगाडी नै बीमितको हातमा पैसा पुग्ने भनिए पनि अहिले कम्पनीहरुले कुरा फेरेका छन् । विगत केही महिना अघि कोरोना बीमाको पैसा सरकारको खाताबाट आफूहरुले प्राप्त गर्ने बित्तीकै तुरुन्तै बीमितहरुले पाउन कुनै पनि समस्या नरहेको बीमा कम्पनीहरुले बताउँदै आएका थिए । 

अर्थ मन्त्रालयले केहिदिन अघि १ अर्ब करोड ८१ रुपियाँ बीमा कम्पनीहरुलाई दिएको थियो । तर सरकारबाट पाएको रकम बाढ्न पनि बीमा कम्पनीहरुले आनाकानी गर्न थालेका हुन् । कोरोना संक्रमित बीमितहरुलाई दिनुपर्ने कूल रकम छ अर्ब रुपियाँ हो ।

कुल १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गराएकोमा एक लाख ६५ हजार ५९ जना बीमितबाट १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दावी परेको थियो । दावी भुक्तानी गर्नुपर्नेमध्ये समिति र कम्पनीको भागमा परेको हिस्सा उनीहरुले भुक्तानी गरिसके पनि सरकारले प्रतिवद्धता जनाएअनुसारको रकम भने प्राप्त नहुँदा महिनौंदेखि एक लाख १२ हजार बीमितहरु रकमको प्रतिक्षामा छन् । 
 

Advertisement

Advertisement